चित्रबहादुर केसीलाई ओलीको सन्देश- राष्ट्रियताको सवालमा एमालेले घुँडा टेक्दैन्

चित्रबहादुर केसीलाई ओलीको सन्देश- राष्ट्रियताको सवालमा एमालेले घुँडा टेक्दैन्

आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन

काठमाडौं, १३ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहित विपरितको संविधान संशोधन प्रस्तावविरुद्ध आफ्नो अडान यथावत रहने बताएका छन् ।
युवा संघ नेपालद्धारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय र अखण्डतालाई धरापमा पार्ने संशोधन प्रस्तावमा एमालेले कुनै हालतमा घुँडा नटेक्ने स्पष्ट पारे । ‘राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको सवालमा एमालेले कुनै हालतमा घुँडा टेक्दैन् । म आश्वस्त पार्न चाहन्छु,’ उनले भने ।
यसअघि संविधान संशोधनविरुद्ध सडकमा उत्रिदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेमाथि ठूलो दबाब आउने र पार्टी फुटाल्ने खतरा पनि रहेको भन्दै कुनैहालतमा घुँडा नटेक्न आग्रह गरेका थिए ।
‘आज देशको राष्ट्रियता, सार्वभौमता र अखण्डतामाथि सौदाबाजी गरेर सत्ताको रसास्वादन गर्नेहरुलाई गाह्रो पर्नेछ । नेपाली जनताले बुझिसकेका छन् । अहिले ल्याएको संविधान संशोधन प्रस्ताव दर्ता गर्नुहुन्न् । दर्ता भए पारित गर्नुहुन्न्,’ केसीले भनेका थिए- ‘नेकपा एमालेले घुँडा टेक्नुहुन्न् । एमालेमाथि ठूलो दबाब आउनेछ । एमालेलाई फुटाल्ने पनि खतरा हुनसक्छ । त्यसकारण एमाले राष्ट्रिय जनमोर्चा लगायतका देशभक्तहरु एकढिक्का भएर यो प्रस्तावलाई फेल गर्नुपर्छ ।’
केसीको यस्तो आग्रहको जवाफमा अध्यक्ष ओलीले एमालेको ध्यान सत्तामा होइन् संक्रमणकाल टुंग्याउनतर्फ भएको भन्दै राष्ट्रियताको सवालमा एमालेले घुँडा नटेक्ने बताए । ‘म युवा साथीहरुलाई भन्न चाहन्छु । पार्टीगत र व्यक्तिगत स्वार्थका लागि राष्ट्रहित विपरित जाने प्रवृति छ । अहिले देशमा त्यस्तै देखिइरहेको छ । राष्ट्रियताको सवालमा तपाईहरु चनाखो हुनुस् ।’
पूर्वप्रधानमन्त्री ओलीले संविधान संशोधनका नाममा देशलाई भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने कुरा गरिएको आरोप लगाए । र यो एमालेलाई कदापी मान्य नहुने चेतावनी दिए ।
सरकारको काम संविधान संशोधन होइन् कार्यान्वयन गर्ने हो
एमाले अध्यक्ष ओलीले संविधान संशोधनभन्दा देशको संक्रमणकालीन अवस्था टुङ्ग्याउनुपर्ने बताए । संविधान गतिशील दस्तावेज भएको हुनाले संशोधन हुनसक्ने भएपनि संशोधनभन्दा पनि देशको संक्रमणकाल टुङ्ग्याउनुपर्नेमा जोड दिए ।
‘सरकारको काम संशोधन गर्ने होइन’– उनले भने, ‘ऐन कानुन बनाएर तीन तहको निर्वाचन गराएर सङ्क्रमणकाल टुङ्ग्याउने काम हो । संशोधन गरेर अन्य काम अल्मल्याउने प्रयास गरिँदैछ ।’ उनले सरकारलाई नै संशोधन किन गर्न लागेको भन्ने कुरा थाहा नभएको पनि उल्लेख गरे ।
जनताको हक अधिकारका सवालमा एमाले संविधान संशोधन गर्न तयार रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संविधान संशोधनका नाममा देशलाई भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने कुरा गरिएको आरोप लगाए ।
उनले संशोधन गरेर नै मुलुकको समस्या नटुङ्गिने बताउँदै क्षणिक समयका लागि मात्र समस्या टुङ्गिने बताए । ‘हामीले पनि गतवर्ष समस्या टुङ्गिन्छ भनेर दुईवटा बुँदामा संशोधन गरेका थियौं’–उनले भने, ‘तर अहिले फेरि बल्झियो । संशोधनले तत्कालको मात्र समस्या समाधान हुने गर्दछ । फेरि पछि समस्या आउँछ ।’
कार्यकर्तालाई रकम बाँड्नका लागि पूरक बजेट
अध्यक्ष ओलीले सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नका लागि पूरक बजेट ल्याउन लागेको आरोप लगाए । विकास निर्माणका काम ठप्प पारेर किन चाँहियो पुरक बजेट ? ओलीले प्रश्न गरे ।

Previous
Next Post »