अन्तिम र निर्णायक’ पहलमा पूर्वराजा ! अचानक चीन पुगे पुर्वराजा !

अन्तिम र निर्णायक’ पहलमा पूर्वराजा ! अचानक चीन पुगे पुर्वराजा !


सत्तारुढ तथा विपक्षी दलका नेताहरूले राजतन्त्र फर्कने सम्भावना नरहेको दाबी गरिरहेका भए पनि स्वयम् पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रमा भने कुनै न कुनै रूपको राजतन्त्र फर्कने विश्वास जीवित रहेको पाइएको छ । चक्रपथतिर जुलुस निस्किएका कारणले मात्र राजाको नारायणहिटीबाट बहिर्गमन भएको मान्न राजतन्त्रका समर्थकहरू मात्र होइन राजनीतिक विश्लेषकहरूसमेत तयार छैनन् । पूर्व श्री ५ ज्ञानेन्द्र पनि गणतन्त्र घोषणामा नेपालीभन्दा बाह्य शक्तिको भूमिका निर्णायक भएको ठान्नुहुन्छ । त्यसैले नारायणहिटी छोडिसकेपछि पनि उहाँबाट भारतमा राजनीतिपे्ररित भ्रमण पटकपटक भइसकेको छ र भारतबाट फर्कंदा उहाँ सधैँ आशावादी बनेर फर्कने गर्नुभएको छ । खासगरी गत वर्षको कात्तिकमा भएको भ्रमण र केही महिनाअघि नयाँदिल्लीको चौबिसघन्टे भ्रमणबाट निकै उत्साही हुनुभएका ‘राजा’ पछिल्लो समयमा भने आफूलाई अलमल्याउने खेल मात्र भइरहेको हो कि भनी सशङ्कित हुन थाल्नुभएको बताइन्छ । उहाँले अब वार कि पार हुनुपर्छ भन्ने मानसिकता बनाउनुभएको छ र यसक्रममा निर्णायक वार्तालापका लागि उहाँ गत साता सिङ्गापुर जानुभएको थियो । सिङ्गापुरमा महत्वपूर्ण राजनीतिक छलफल भएको र भारतसँगको संवाद सकारात्मक भए बेग्लै सन्देशसहित तथा संवाद सकारात्मक नभए एउटा छुट्टै प्रस्ताव लिएर पूर्व श्री ५ ज्ञानेन्द्र चीनको राजधानी बेइजिङ जाने कार्यक्रम पहिले नै तय भएको थियो । उहाँ सिंगापुरबाट सोझै बेइजिङ जानुभएको छ । नेपालमा गणतन्त्र घोषणापछि पूर्व श्री ५ बाट भएको चीनको यो पहिलो भ्रमण हो । चीनबाट उहाँ कहिले स्वदेश फर्कनुहुने हो यकिन हुन सकेको छैन । तर, उहाँ सिङ्गापुरको उच्चस्तरीय संवादपश्चात् बेइजिङ पुग्नुभएकोचाहिँ निश्चित भएको छ ।
प्राप्त जानकारीअनुसार पूर्व श्री ५ लाई चीनबाट भ्रमणको निमन्त्रणा केही महिनाअघि नै आएको हो । जवाफ दिन ढिलाइ भएका कारणले मात्र उहाँको भ्रमण विलम्ब भएको बताइन्छ । भारतसँग कुरा मिलाएर मात्र चीनको भ्रमणमा जानु उपयुक्त हुन्छ भनी प्राप्त सुझावलाई स्वयम् उहाँले गम्भीरतापूर्वक लिनुभएको निकटवर्तीहरूले बताएका छन् । भारतसँग कुरा मिल्छ भन्नेमा विश्वस्त रहनुभएका उहाँ भारतको नभए चीनको समर्थन लिएर भए पनि पुनस्र्थापित हुने मानसिकतामा रहनुभएको बुझिन्छ । ज्ञातव्य छ, चीनले २०६३ को परिवर्तनपश्चात् सङ्कटमा परेका राजालाई आफ्नो मुलुकमा आश्रय दिने इच्छा राखेको भनी समाचार सार्वजनिक भएका थिए । राजनीतिक दृष्टिले पूर्व श्री ५ को यो भ्रमण अत्यन्त महत्वको हुने बताइएको छ । पूर्व श्री ५ ज्ञानेन्द्रको यो पहललाई राजदरबार निकटस्थलहरूले ‘अन्तिम र निर्णायक’ भनेका छन् । यदि राजसंस्था फर्कने स्थिति बनेन भने उहाँले कस्तो निर्णय लिनुहुनेछ भन्नेबारेमा चाहिँ निकटस्थलहरूसमेत अनभिज्ञ छन् ।
राजसंस्था फर्कने आशामा दशकअघिदेखि प्रतीक्षारत ‘राजा’ ज्ञानेन्द्रले सबैतिरबाट कदाचित नकारात्मक जवाफ पाउनुभएमा उहाँ दल खोलेर राजनीतिमा आउनुहोला कि व्यापार–व्यवसायमा लाग्नुहोला र उहाँले बाँकी जीवन स्वदेशमै बिताउनु होला या विदेश पलायन हुनुहोला भन्नेजस्ता जिज्ञाशा नेपालमा छ । अहिले ‘निर्णायक पहल’मा रहनुभएका ‘राजा’बाट निकट भविष्यमै उल्लिखित जिज्ञाशा पनि मेटिने विश्वास यहाँ गरिएको छ । कदाचित राजसंस्था फर्कन असम्भव भएमा राजा राजनीतिक दल खोलेर सक्रिय राजनीतिमा आउनसक्ने अनुमान नेपाली बुद्धिजीवी तथा विश्लेषकहरूले गरेका छन् ।

१ मंसिर २०७३
Previous
Next Post »