अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान शुरु

अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान शुरु

एघार ‘ब्याटलग्राउण्ड’ राज्यले नतिजालाई उलट पुलट पार्ने


कार्तिक २३, २०७३- अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान भर्खरै शुरु भएको छ । बिहान ६ (नेपाली समय अनुसार साँझ करिव ५ बजे) बजेदेखि १२ वटा  राज्यको मतदान शुरु गरिएको हो । केहि घण्टामा बाँकी राज्यहरुमा मतदान प्रारम्भ हुनेछ । डेढ बर्ष भन्दा लामो अमेरिकी राष्ट्रपति निर्वाचन अभियान सोमबारको मध्यरातसँगै समापन भएको छ । दुवै प्रत्यासी डेमोक्रयाटिक पार्टी उम्मेदवार हिलारी रोदम क्लिन्टन र रिपब्लिकन डोनाल्ड जोन ट्रम्प आफनो गृहराज्य न्यूयोर्क फर्किएका छन् । स्थानीय समय अनुसार मंगलबार  मध्यरात सम्म अमेरिकाले ४५ औं राष्ट्रपति पाउने छ ।



३३  राज्यसहित डिस्ट्रिक अफ कोलम्बियामा केहि दिन अघि नै मतदान शुरु भएको र झण्डै ४ करोडले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भएका छन् । निर्वाचनको दिन मंगलबार थप आठ करोडले मतदान गर्ने अपेक्षा गरिएको छ ।  निर्वाचन मुलत एक दर्जन राज्यमा केन्द्रित भएको छ । पार्टी सम्बद्व मतदाताको दर्ता तथ्याङ्क अनुसार तीन दर्जन भन्दा बढी राज्यको संभावित नजिता ‘ओपन सेक्रेरेट’ नै छ । त्यसैले ‘ब्याटल ग्राउण्ड’ भनिने करिब ११ अनिर्णित राज्यको ईलेक्टोरल मत जस्को पक्षमा जानेछ, उसैले निर्वाचन जित्नेछ । राष्ट्रपतीय जितका लागि कुल पाँच सय ३८ ईलेक्ट्रोरल मत मध्ये बहुमत संख्या अर्थात दुई सय ७० मत आवश्यक पर्छ ।

टेलिफोन एवम् अनलाईनमार्फत गरिएका प्रमुख दश वटा राष्ट्रिय सर्वेक्षण मध्ये नौं वटाले क्लिन्टनको अग्रतालाई देखाएका छन् ।  सर्वेक्षण अनुसार रिपब्लिकन प्रत्यासी डोनाल्ड जोन ट्रम्प माथि हिलारीको अग्रता २ देखि आठ प्रतिशतसम्म रहेको छ । एक मात्र ईनभेष्टर्स बिजनेस डेलीको सर्वेक्षणमा मात्र ट्रम्पले अग्रता हासिल गरेका छन् ।

सबैभन्दा धेरै ईलेक्ट्रोरल मत २९ रहेको रणभुमि राज्य फ्लोरिडा, दुवै उम्मेदवारका लागि महत्वपुर्ण रहेको छ । फ्लोरिडाको सर्वेक्षणमा हिलारीले ट्रम्प माथि झिनो अन्तरले अग्रता लिएकी छिन् । यद्यपी केहि दिन अघि शुरु गरिएको शुरुवाती मतदानमा अल्पसंख्यक हिस्पानिक समुदायको मत अत्यधिक खसेकोले क्लिन्टन पक्षधर उत्साहित देखिएका छन । फ्लोरिडामा कुल मतदाताको पचास प्रतिशत मत, मंगलबार अघि नै खसिसकेको छ ।  सन २०१२ मा बाराक ओबामाले यो राज्यमा रिपब्लिकन प्रत्यासी मिट रोमनीलाई निकै प्रतिस्पर्धात्मक रुपमा पराजित गरेका थिए । 

अर्कोतर्फ २० ईलेक्ट्रोरल मत रहेको पेन्सलभेनियामा पनि क्लिन्टन अगाडी देखिएकी छिन् । सोमबार राती क्लिन्टनले राष्ट्रपति ओबामा, प्रथम महिला मिचेल ओबामा, पुर्व राष्ट्रपति बिल क्लिन्टन सँगै फेलाडेल्फियामा अहिलेसम्मकै चुनावी विशाल सभालाई सम्बोधन गरेकी थिईन । स्मरणरहोस, सन १९८८ मा सिनियर बुस पछि राष्ट्रपतिय निर्वाचनमा कुनैपनि रिपब्लिकन प्रत्यासीले पेन्सलभेनियालाई आफनो पक्षमा पार्न सकेका छैनन् ।
अल्पसंख्यक समुदायको सबैभन्दा ठुलो हिस्सा मानिने हिस्पानिक समुदायको उल्लेखीय उपस्थिती रहेको नेभाडा, विस्कन्सिन सँगै नर्थ क्लारोलिना र न्यूहयाम्सायर मा क्लिन्टनको अग्रता रहेको विभिन्न सर्वेक्षणले देखाएको छ।

सन २००८ मा जितेर, २०१२ मा ओबामाले हारेको नर्थ क्लारोलिनामा दुवै उम्मेदवारको कडा टक्कर रहने अनुमान गरिएको छ । भर्जिनिया एवम कोलोराडोमा, क्लिन्टन निकै सशक्त देखिएकी छिन् भने एरिजोना, आईवा, ओहायोमा ट्रम्पले जित्ने प्रवल संभावनालाई सर्वेक्षणहरुले संकेत गरेकाछन् ।  इतिहासले के देखाउछ भने ओहायो बिना कुनै पनि रिपब्लिकन उम्मेदवारले हवाईट हाउस जित्न सक्दैन् । यसअर्थमा, ओहायो जित्ने संभावना रहेका ट्रम्पले राष्ट्रपति जित्ने संभावना रहेको एक थरि बिश्लेषकहरुको तर्क छ ।

सन १९८८ देखि निरन्तर उदार राज्यको रुपमा परिचित मिचिगनलाई आफनो पक्षमा पार्ने प्रयास ट्रम्पले गरेपनि, क्लिन्टनको संभावना बलियो रहेको छ ।  यसैबीच लस एन्जलस टाईम्सको सोमबार राती जारी गरेको सर्वेक्षणले क्लिन्टन तीन सय ५२ ईलेक्ट्रोरल मतको भारी अन्तरले विजयी हुने दाबी गरेको छ । सो सर्वेक्षणमा ट्रम्प एक सय ८६ मा अडकिने उल्लेख छ । 


प्रकाशित: कार्तिक २३, २०७३


Previous
Next Post »