प्रचण्ड र टोपबहादुरबीच बैठकमै चर्काचर्की, गल्ती नसच्याए पार्टी नै छाड्ने धम्की

प्रचण्ड र टोपबहादुरबीच बैठकमै चर्काचर्की, गल्ती नसच्याए पार्टी नै छाड्ने धम्की


१४ मंसिर  । नेकपा माओवादी–केन्द्रको पोलिटब्युरो बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता टोपबहादुर रायमाझीबीच चर्काचर्की भएको छ । प्रदेश नम्बर ५ लाई पहाडबाट अलग गर्ने गरी सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी गरेसँगै रुष्ट बन्दै आएका रायमाझीले मंगलबारको बैठकमा प्रचण्डलाई त्यसो गरे पार्टी नै छोड्न सक्नेसम्मको चेतावनी दिएको बैठकमा सहभागी एक नेताले पहिलो न्युज डटकमलाई जानकारी दिए ।

बैठकमा संविधान संशोधनको विषयमा नेता रायमाझीले फरक मत राखेका थिए । त्यसपछि प्रचण्डले रायमाझीलाई बाबुराम भट्टराईले समेत संशोधन प्रक्रिया अघि बढाउन आफूलाई भेटेरै सुझाव दिएको भन्दै सम्झाउने प्रयास गरेका थिए । प्रचण्डले त्यसो भनेपछि रायमाझी झन् रिसाउँदै भनेका थिए, ‘विगतमा बाबुरामले गल्ती गरेपछि मैले उनलाई छाडेँ,’ । उनले बैठकमा बोल्दै थपे, ‘बिहान संघीय समाजवादी फोरमसँग संयुक्त विज्ञप्ति निकालेर संविधान संशोधनमा सहयोग गर्न नसक्ने भनेका भट्टराईले साँझमा कसरी अध्यक्षज्यूसँग आएर संविधान संशोधनमा समर्थन छ भन्नुभयो ?’

रायमाझीले बैठकमा राखेको फरक मतबारे एक नेताले भने, ‘पार्टीले फेरि त्यस्तो गल्ती गर्नुहुन्न ।’ रायमाझीले सरकार जबरजस्ती अघि बढ्न खोजे साथ दिन नसक्नेसम्मको चेतावनी दिएका थिए । उनले आफूलाई कतिपयले एमालेको एजेन्डा समात्यो भनेर आरोप लगाएको भन्दै आफूले एमालेको होइन एमालेले आफ्नो एजेन्डा समातेको दाबी गरेका थिए ।

उनले फरक मतमा प्रदेश नम्बर ५ का जनता शान्तसँग बसेको भन्दै त्यो प्रदेश नचलाउन पनि सुझाव दिएका थिए । त्यसले जातीय द्वन्द्व ल्याउने भन्दै प्रदेश पाँच टुक्राउने विषयलाई स्वीकार नगर्ने चेतावनी दिएका थिए ।

उनले आफू संविधान संशोधनको विरोधी, संघीयताका विरोधी नभएको भन्दै  मिलेर बसेका प्रदेश नम्बर ५ का जनतालाई नचलाउन आग्रह गरेका थिए । ‘प्रदेशका विषयमा विवादित झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई नै टुंग्याऊ,’ उनले भनेको भन्दै स्रोतले बतायो ।
Previous
Next Post »