घुँडा दुख्छ ? यसरी गर्नुहोस आयुर्वेदिक उपचार

घुँडा दुख्छ ? यसरी गर्नुहोस आयुर्वेदिक उपचार


डा. रमेश मिश्र, आजभोलि घुँडा दुख्नु धेरै व्यक्तिहरूको साझा समस्या भइसकेको छ । घुँडाले हाम्रो दैनिक क्रियाकलाप जस्तै हिंड्डुल, दौड आदिका लागि शरीरको सम्पूर्ण भारलाई उठाएको हुन्छ । जब यसमा कुनै समस्या भई दुख्न थाल्छ अनि हामी घुँडा दुखेको अनुभव गर्दछौं ।



घुँडा दुख्नुलाई आयुर्वेदमा वात रोग भनिन्छ । वात रोग पनि ८४ प्रकारका हुन्छन् । वात रोगका कारणले गर्दा नै घुँडा दुख्छ किनकि वात रोगमा मुख्यतस् जोर्नीहरू नै प्रभावित हुन्छन । यसका मुख्य कारणहरूमध्ये वातावरणअनुसार रहनसहन र खानपान नहुनु, वंशाणुगत, उमेर, मोटोपन आदि हुन् । घुँडा दुख्दा वात रोगअनुसार विभिन्न लक्षणहरू देखा पर्दछ, घुँडा सुन्निनु, रातो हुनु, हिंड्दा कटकट गर्नु, तन्काउन गाह्रो हुनु आदि । कहिलेकाहीँ दुखाइ यति बढ्छ कि जसले गर्दा रोगीलाई हिंड्डुल गर्न समेत गाह्रो हुन्छ ।
यस्ता लक्षणहरू देखा परेमा कहिल्यै पनि आफूखुशी औषधिसेवन नगरी चिकित्सकलाई तुरुन्त देखाइ हाल्नुपर्दछ । यस रोगको उपचार विभिन्न चिकित्सा पद्धतिहरूद्वारा गरिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा पनि यसको राम्रो उपचार विधि छ । आयुर्वेदका चिकित्सक, कविराज, वैद्यको सल्लाहअनुसार औषधिसेवन गरे यो रोग सधैंका लागि निको हुन्छ । आयुर्वेदमा घुँडा दुख्नुको उपचारमा सबभन्दा पहिले रोग पत्ता लगाइ शोधन चिकित्सा गरिन्छ, जसलाई पञ्चकर्म भनिन्छ । यसमा रोगीलाई पहिले दिपन पाचनको औषधि दिई पछि रोगअनुसार स्नेहन, स्वेदन गरिन्छ । यदि घुँडा बढी सुन्निएको छ भने त्यसलाई स्नेहन नगरी बालुवा स्वेदन गरिन्छ अर्थात् बालुवलाई तताइ कपडामा पोको पारेर सुन्निएको ठाउँमा सेक्ने क्रिया गरिन्छ ।
यदि सुन्निएको छैन भने स्नेहन र स्वेदन गरी त्यसपछि रोगअनुसार वस्ति प्रयोग गरिन्छ अर्थात् गुदामार्गबाट औषधियुक्त तेल वा औषधि द्रव्य तयार पारेर पठाइन्छ ।
पञ्चकर्मको प्रक्रियापछि रोगीलाई निम्नानुसारका औषधिहरू उचित मात्रानुसार सेवन गराइन्छ । औषधिहरूमा महायोगराज गुग्गुल, त्रयोदभांकद एरन्ड तैल, महारास्नादी काठा, दशमूल चूर्ण, वृहतवात चिन्तामणि रस छन् । यसका साथै पञ्च परहेज र व्यायाम योगा गर्नुपर्दछ ।
Previous
Next Post »