मुखमा र जिब्रोमा खटिरा किन आउँछ ? यो पढ्नुहोस्…

मुखमा र जिब्रोमा खटिरा किन आउँछ ? यो पढ्नुहोस्…




काठमाडौं । मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई चिन्ताले निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ । यस्तो घाउ स–सानो एक वा धेरै मात्रामा आउन सक्छ । त्यस्तै योे समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने,ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने हुन् सक्छ ।

किन आउँछ मुखमा घाउ–खटिरा ?

खासगरी शरीरमा पोषणको कमी (भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि) ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू (कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच आदि), पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ । त्यस्तै, विषाक्त खाना, सुर्ती, पानमसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।

कसरी समाधान गर्ने ?

— मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।

— पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने

— हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने

— बढी चिल्लो नखाने

— हल्का उम्रेको गेडागुडी बिहान / बिहान खाने

— पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने

— बदाम भिजाएर खाने

— मह घाउमा लपक्क लगाउने

— निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने

— जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।

— बारम्बार समस्या भइरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ । तर मुखमा आएको घाउ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यवहार, लक्षणका आधारमा विशेषज्ञसँग जाँच गराएर थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा घाउको मासु वा पीप लगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ । खासगरी यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले भएका घाउहरू जटिल हुन सक्छन् र औषधोपचार पनि आवश्यक हुन सक्छ । यसरी नै कारण अनुरूपको उपचारका लागि चिकित्सकको सल्लाह लिनुपर्छ । 

-फोटो एजेन्सी

.

नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"


Previous
Next Post »