नागरिक अस्पताल दिनभर तनावग्रस्त

नागरिक अस्पताल दिनभर तनावग्रस्त

भाद्र २९, २०७३- पेट दुखेर सामान्य अवस्थामा उपचार गराउन आएकी महिलाको मृत्यु भएपछि बुधबार दिनभर गठ्ठाघर स्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल तनावग्रस्त भएको छ । अस्पताल र चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल खारेजी तथा डाक्टरलाई ज्यान मुद्धा लगाउनु पर्ने माग गरी अस्पताल घेराउ गरेको छ । 

मङ्गलबार दिउँसो पेट दुखेर उपचार गराउन आएकी कमलामाई नगरपालिका–६, सिन्धुली घरभई लोकन्थली बस्ने २१ वर्षीया मिना विश्वकर्माको राती मृत्यु भएपछि मृतकको आफन्तले अस्पताल घेराऊ गरेका हुन् । ‘अस्पताल र डाक्टरको लापरवाहीले श्रीमतीको ज्यान गयो,’ मृतकका पति केशव बराईलीले भने, ‘अस्पतालमा डाक्टर नभएपछि बाहिर लान्छु भन्दा पनि लान नदिएर डोजभन्दा बढी औषधि दिएर डाक्टरले कुरायो ।’ साँझ डाक्टर आउने समयसम्म बिरामीलाई राख्दा बिरामीको अवस्था नाजुक भइसकेको उनी बताउँछन् ।

बिरामीको मृत्यु भएलगत्तै औषधी लगायतको चार्ज २० हजार तिरेर शव लैजान अस्पतालले दबाब दिएको मृतककी आमा ज्यू बिना बराइलीले बताइन् । बिरामी माथि खेलाँची गर्ने डा निर्जला बजिको र जमूना किरण पौडेललाई कारवाही तथा अस्पताल खारेज गर्नुपर्ने उनीहरुको माग छ । 

भक्तपुर अस्पतालमा दरबन्दी रहेको प्रसुती रोग विशेषज्ञ डा जमुना किरण पौडेल साँझ साढे पाँच बजे अस्पताल पुगेर भिडियो एक्स–रे गराई आईसियू उपचार गराएको अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पतालमा भर्ना भएका बिरामीको सक्दो उपचार गरेको र उपचारमा खटिएका डाक्टरको कमजोरी समेत नरहेको दाबी अस्पतालका सुपरिटेण्डन डा राकेश बर्माले बताए । 

यता अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा. निर्जला बजिकोले भने प्रक्रिया अनुसार अनुरुप नै उपचार भएको बताइन् । एक महिनाको गर्भवती बिरामीको गर्भ पाठेघरभन्दा बाहिर गएकाले रक्तश्राव भएकाले ज्यान गएको उनले बताइन् । 

बुधबार दिनभर मृतकको शव समेत नउठाई अस्पतालको बिरोधमा बसेका आफन्त र अस्पताल व्यवस्थापन बीचको वार्ताले मृतकको परिवारलाई २ लाख क्षतिपूर्ति दिने निर्णय भएपछि शव उठाएको जनाएको छ । 




Previous
Next Post »