काठमाडौंमा इस्लामिक आक्रमण

काठमाडौंमा इस्लामिक आक्रमण


अहिले हाम्रो राजधानी रहेको काठमाडौं इतिहासमा कतिपटक आबाद भएर कतिपटक उजाडियो त्यसको कुनै लेखाजोखा छैन । काठमाडौंलाई बर्बाद हुने गरी आक्रमण गर्नेमा अधिकांश अहिलेको नेपाली सरहदभित्रकै शासक भए पनि एकपटक भने बंगालका सुल्तान समसुद्दिन इलियास शाहले काठमाडौं उपत्यकालाई तहसनहस हुनेगरी आक्रमण गरेका छन् ।

वि.सं. १३८५ मा सिंजाका शासक आदित्य मल्लले काठमाडौंमा आक्रमण गर्दा काठमाडौंका तत्कालीन राजा जयरुद्र मल्लको निधन भएको थियो । जयरुद्र मल्लको निधनपछि काठमाडौंको सत्ता हत्याउन उनकी छोरी नायक देवी तथा भाइ जयराज्य देवबीच चलेको सत्तासंघर्षका कारण काठमाडौं त्यसै पनि निकै कमजोर भैसकेको थियो । बुझ्नुपर्ने कुरा के हो भने जयराज्य देव जयरुद्र मल्लका काका जयानन्द देवका छोरा थिए भने जयरुद्र मल्ल जयानन्द देवका भाइ जयतुङ मल्लका छोरा थिए ।

प्रारम्भिक मल्ल राजाहरूको सत्ताकलहले कमजोर भएको काठमाडौंमा वि.सं. १४०६ मा बंगालका सुल्तान समसुद्दिन इलियास शाहले आक्रमण गरे । समसुद्दिन वि.सं. १३८१ मा सिम्रौनगढमा आक्रमण गर्ने दिल्लीका सुल्तान गयासुद्दिन तुगलकका सेनापतिका छोरा थिए । गयासुद्दिन तुगलकले बंगाल विजय गरेपछि बंगालको गभर्नरका रूपमा समुद्दिन इलियास शाहका पितालाई नियुक्त गरेका थिए । तिनै समसुद्दिन इलियास शाहले बंगालमा स्वतन्त्र राज्य कायम गरेका थिए ।

समसुद्दिन इलियासले भारतको पटना, जनकपुर, सिन्धुली, बनेपा हुँदै त्यतिबेला काठमाडौंको सत्ताकेन्द्र रहेको भक्तपुरमा आक्रमण गरेका थिए । भक्तपुर आक्रमणकै क्रममा पशुपतिनाथको वैभवका बारेमा जानकारी पाएका समसुद्दिन इलियासले पशुपतिनाथमा आक्रमण गरी लगातार ७ दिनसम्म लुटपाट मच्चाए । उक्त आक्रमणपछि पशुपतिनाथको मन्दिर ध्वस्त हुनुका साथै त्यहाँ रहेका अधिकांश मूर्ति नष्ट भए । त्यही आक्रमणपछि ध्वस्त भएका काठमाडौंका बस्ती, दरबार एवं धार्मिक स्थलहरूको पुनर्निर्माण राजा जयस्थिति मल्लको शासनकालसम्मै जारी थियो । 




Previous
Next Post »