बर्माको टाङडाले भिसीको रगत खायो, गोरखालीले के पायो ?
लाहुर र लाहुरेको बारेमा कम लेखिन्छन् । कम बोलिन्छन् । कसैले बोल्ने र लेख्ने आँट गर्दा कुनै समुदायलाई अप्ठ्यारो लाग्न सक्छ । तर, विना कुनै अप्ठ्यारो बोलीरहेको छु, र लेखीरहेको पनि । यही कारण यो पंतिकारलाई जातीवादीको आरोपहरु पनि कम छैनन् । जो जातीवादी छन् उनीहरु नै जातिवादको आरोप लगाउँछन् । उनीहरुकै दिमागमा जातीयताको भिमकाय पहाड उभिरहेको हुन्छ । त्यो पहाड उनीहरु भत्काउन चाहादँैन । तर हामीले वोल्नु र लेख्नु पर्ने हुन्छ, आदिवासी लाहुरे, केहि क्षेत्री, केहि शिल्पी र ठकुरी लाहुरेहरुका बारेमा ।
बेलायती सेनामा क्षेत्री, ठकुरी र शिल्पी जातीहरु थोरै संख्यामा भर्ती भएको पाइन्छ । उनीहरुको न्यूनतम् संख्या भर्ती भएकोले थोरै चीज मात्र गुमाएका छन् । तर, पैसाले किनेर किन्न नसकिने भाषा, धर्म, संस्कार संस्कृति आदिवासी लाहुरेले गुमाएका छन् । धेरैको संख्यामा उनीहरुले वीरगती पाएका छन् । भाषा, धर्म, संस्कार संकृति गुमाउनुको पिडा हो पहिचान विहिन हुनु ।
यहि चपेटामा परेका छन, उनीहरु यतिवेला । याङ्गजाकोट कास्कीका ९५ वर्षीय सेवा निवृत्त लेफ्टिनेन्ट भगतसिंह गुरुङ्गले खस नेपाली भाषा भर्ती लागेर मात्र सिकेका थिए । उनीसँगै भर्ती भएका नम्बरीहरुले पनि उनीसँगै खस भाषा सिके । आदिवासी लाहुरेहरुलाई भर्ती पठाउदा जब्बरजस्ती हिन्दु धर्मालम्बी बनाइन्थ्यो । स्वच्छाले धर्म परिवर्तन गर्न पाइन्छ तर जब्बरजस्ती गराउनु सामान्य विषय होइन । यहि मारमा हल्लिरहे सन २००६ सम्म । अझै पनि पल्टन घरमा पुरेत र पण्डितबाट आदिवासी लाहुरेहरुको जन्मकुण्डली हेरिन्छ ।
२०० बर्षको इतिहास आदिवासी लाहुरेले वेलायती सेनामा बनाई सकेका छन् । जी २०० को नाममा वेलायत र नेपालको कुटनीतिक नियोगले बिभिन्न कार्यक्रम आयोजना गरी यतिबेला २०० बर्षको सतबार्षिकी मनाईरहेको छ । यहीबेला गोरखालीहरुले न्याय र समानता आन्दोलनबाट खोजिरहेका छन् वेलायत र नेपाल सरकारसंग । सार्बभौम सम्पन्न राष्ट्र नेपाल, हामी तिम्रो नागरिक हाँै कि होइनौँ ? बोल ! हौँ भने मुख खोल ! सन्धि–सम्झौता अनुसार लाहुरेहरुलाई समान व्यवहार गर मात्र भनी देउ । लाहुरेहरु यही भनिरहेका छन् नेपाल सरकार तिमीलाइ ! धेरै सुखका दिनहरु भन्दा धेरै दु:खका दिनहरुले लाहुरेहरुका इतिहास पोतिएको छ । त्यसको अध्ययन गर, नेपाल सरकार !
नेपाल र ईष्ट–इण्डियाबीच भएको लडाईँमा बलभद्र कुँवरको केही सीप नचलेपछि उनी स्वंम पञ्जावकेशरी सिंहको सेनामा भर्ती हुन पुगेका इतिहास हाम्रा सामू छ । त्यति मात्र होइन सन् १८१६ मा नेपाल र भारतबीच भएको सन्धि–सम्झौता र नोभेम्बर ९ सन १९४७ मा भएको त्रिपक्षीय सन्धिलाई पनि विर्सन हुन्न । इण्डिया स्वतन्त्र भएपछि इण्डियन सेनामा भएका केही बटालीयनलाई बेलायती सेनामा गाभेका थिए । नेपालीहरु अहिले पनि त्यहि कारणले बेलायती सेनामा काम गरिरहेको त्यसकै निरन्तरता हो ।
पहिला–पहिला पिता–पुर्खाहरुलाई भर्ती गराउन गाउँहरुमा राणाहरुले हुकुमी उर्दी जारी गर्थे । त्यसपछि मुखियाहरुले गाउँ–गाउँमा कटुवाल घोकाएर जब्बरजस्ती गल्लावालको साथमा लाहोर पठाउँथे । यसरी लाहुरे हुन गएका धेरै आदिवासीका छोराहरु कहिल्यै घर फर्केनन् ।
सन् (१९१४–१८) नेपालमा जम्मा जनसंख्या ५६ लाख मात्रै थियो । त्यस बेला २ लाख भन्दा बढी नेपाली युवाहरु ब्रिटिसको मातहतमा इण्डियन सेनामा भर्ती भई पहिलो विश्वयुद्ध लडेका थिए । दोस्रो विश्वयुद्धको समय (१९३९–४५) मा नेपालको जम्मा जनसंख्या ६० लाखको हाराहारीमा थियो । त्यो बेला २ लाख ५० हजार भन्दा बढी युवाशक्तिले दोस्रो विश्वयुद्ध लडेका थिए ।
भिसी लछिमन गुरुङको युद्ध कहानी
Gurkha VCs Lachhiman Gurung at The High Court in London UK. The British Army Gurkhas today won a historic High Court ruling for the right to settle in the country they fought for. In his landmark judgment Mr Justice Blake said Gurkhas had the right to be valued and respected by the British government. Gurkhas' solicitor Martin Howe hailed the "historic victory for the gallant Gurkha veterans of Nepal".
यसरी दोस्रो विश्व युद्धको समय (१९४०) मा लछिमन गुरुङ्ग भर्ती लागेका थिए । उनी खुँदो लिन जाँदा–जादैँ बाटोमा गल्लाले पक्रेर भर्ती गराउन लागेका थिए । गल्लाले पक्रेपछि भर्ती जान्न भनी प्रतिवाद गर्ने समय थिएन । आज भन्दा ७५ बर्ष अगाडि बाध्याताको जातोमा पिसिएर भर्ती लागेका थिए भिसि लछिमन गुरुङ्ग ।
उनको जन्म सन् १९१९ मा चितवान जिल्ला अवस्थित दाहानी गाउँमा भएको थियो । तर उनको सैनिक अभिलेखमा सन् १९१७ भन्ने लेखिएको छ । ‘लाहुरेका कथा’ नामक पुस्तकमा उनले भने अनुसार, ‘आमा सानैमा बितकोले कुन सालमा र कुन महिनामा जन्मिएको मलाई थाहा छैन, भाउजुले भने अनुसार वैशाखमा जन्मिएको भन्ने थाहा छ ।’
सन् १९१७ को जन्म हो भने उनी २४ बर्षको उमेरमा भर्ती भएको बुझ्न सकिन्छ । सेना बन्नका लागि तय गरिएको मापदण्ड विपरित उनलाई भर्ती गराएको बुझिन्छ । उनलाई भर्ती गराउँदा उनको उचाई र वजन पुगेको थिएन । पछि वढ्न सक्ने अनुमान गरेर उनलाई भर्ती लागाएका थिए । जीवनभर उचाई र वजन पुग्न सकेन उनको । सेना बन्नका लागि चाहिने आवश्यक मापदण्डलाई उल्लङ्गघन गरी लडाईको लागि मात्र भर्ती गराइएको थियो उनलाई । लाहुरेलाई भर्ती गराउने उमेरको समय सीमा उनले पार गरिसकेको देखिन्छ । उनलाई सेनाको मापदण्ड, उचाई, वजन र उमेर विपरित भर्ती गराइएको थियो ।
उनी लडाईमा बर्माको युद्ध मोर्चामा खटिए । १२ मे १९४५ को दिन उनी बर्माको टाङडामा परिचालीत भए । साथीहरुसँग ‘ट्रेन्च’ खनी बसेका थिए । मध्यरातमा उनीहरुमाथि जापनिज्् सेनाले हमला गरे । लछिमन गुरुङ्ग भएको ‘ट्रेन्च’मा एउटा ग्रिनेड खस्यो । उनले हातले टिपेर दुश्मनतिर नै फ्याँकिदिए । अर्को ग्रिनड पनि उनकै अगाडी खस्यो । त्यसलाई पनि टिपेर जताबाट आएको उतै तिर मिल्काईदिए उनले ।
तेस्रो पटक पनि दुश्मनले हानेको ग्रिनेड उनकै अगाडि खस्यो । उनले हत्तपत्त दाहिने हातले समातेका मात्र थिए उनकै हातमा पट्कियो । उनको दाहिने हात ग्रीनेडले उडाईदियो । शरीरभरी ग्रिनेडको चोईटाले लागेर उनी सख्त घाईते भए । घाईते अवस्थामा पनि देब्रे हातले गोलीहरु ‘लोड’ गर्दै दुश्मनलाई ‘फायर’ गर्दै प्रतिवाद गरिरहे । उनको ‘ट्रेन्च’मा भएका दुई जना साथीहरु पनि गम्भिर घाईते भईसकेका थिए । उनले लगातार ४ घण्टा दुशमनको प्रतिबाद गरे । चार गोर्खा राइफल्स र आठ गोर्खा राइफल्सको ठूलो छति हुनपुग्यो त्यतिवेला ।
८६ जना जापानीज् सेनाहरुको लाशहरु जमिन छरिएका थिए । ती मध्ये ३१ जनाको लाश भिसि लछिमन गुरुङ्गको‘ट्रेन्च’को मुखमा पल्टिएका थिए । ‘उनको अदम्य आँट, युद्ध कौशल, वफदारी र बहादुरीले त्यो महत्वपुर्ण ठाउँलाई आफ्नो कब्जामा पार्न सफल भए’ भनी लण्डन राजपत्रमा लेखिएको छ । तर ‘लाहुरेका कथा’ भन्ने प्रकाशित कृतिमा उनले अलिक भिन्नै तरिकाले बोलेको पाउन सकन्छि । ‘घाईते भएको तीन दिनमा ४ जनाले स्टेचरबाट बोकी ओपिमा लगे । त्यसपछि चिठी बोक्ने सानो जहाजले ४–५ दिन कता लगेर राख्यो उनले थाहा पाएनन् । पानी मात्र पिएर बाँचेको तितो सम्झाना उनीसँग ताजै थियो’ भनी उल्लेख गएिको छ । उनलाई उपचारको लागि कमिला भन्ने ठाउँमा लगे । उनको हातको तीन पटक अप्रेशन गरे । २२ दिन कमिलामा बसेर कलकत्ता गए ।
गाडीबाट इण्डियाको मुर्जदावाद पु¥याइयो । तीन महिना आफ्नो शरीरसँग संघर्ष गर्दै बिताए । बिस्तारै हिड्ने भएपछि उनलाई पुनामा लगियो । उनको त्यहाँ चिकित्सकले नक्कली हात बनाइदिए । त्यसबेला दशैँ नजीकिदै थियो । उनलाई रेजिमेन्टबाट लैजानको लागि एकजना सुबेदार र लेसनायक आए र उनीहरुसंगै रेजिमेन्ट तिर दशैं मनाउन गए ।
उनलाई भिसि तक्मा थाप्न लण्डन जानुपर्छ भनेका थिए । लण्डन कहिल्यै नगएको ठाउँ र भाषाको समस्याले आफु लण्डन जान मानेको बताएका छन् । उनले ह्वीलचियरमा बसेर नयाँदिल्लीस्थित लालकिल्लमा भायसराय तथा फिल्डमार्सल लर्ड वेभलको हातबाट १९ डिसेम्बर १९४५ को दिन भिसि पदक ग्रहण गरेका थिए । उक्त परेडमा भिसि तक्मा थापेको हेर्न उनको घरबाट बाबा, आमा र दाजु आएका थिए ।
याे पनि पढ्नुहाेस्
गोर्खा रेजमेन्टका विमल पाकिस्तानी क्षेत्रबाट फायरिङ हुँदा ‘शहीद’
‘यो युद्धभुमीको कथा गोर्खालीहरुको भावी पुस्ताको लागि सुन्दर उपहार र इतिहास हो’
यसरी ठगिए पूर्व लाहुरे, परिवार घर न घाटको अवस्थामा
उनले पाएका पदकहरु इण्डियन सेनाको अन्ठाउनौ गार्खा राईफल्सको तालिम केन्द्र सिलाङ्गको क्वाटर गार्डमा रहेको बुझिन्छ । उनको भिसि पदक फेरी किन फर्काए ? उनलाई १९४६ मा मेडिकल वोर्डको निर्णय अनुसार पेन्सन पठाइयो । अवकाशपछि उनी आफ्नै पुख्र्यौली थातथलोमा फर्की ६२ बर्ष अपाङ्ग बुढेशकाल जीवन बिताए । उनी २००८ मा धेरै अन्याय सहेर वेलायत आएका थिए ।
वीर योद्धा भिसि लछिमन गुरुङ्गले बेलायतको लागि दाहिने हात उपहार दिए तर बेलायत जानका लागि उनले धेरै सास्ती भोग्नु प¥यो । तरपनि उनलाई बेलायत आउन नदिनको लागि धेरै भेदभावपुर्ण षडयन्त्रहरु रचिए । आश्चार्य कुरो त बेलायतमा उनको मृत्यु हुदाँ कुनै पनि वेलायती सञ्चार माध्ययमहरुले समाचार प्रशारणसम्म गरेरनन ।
यो पंतिकारले कुनै पनि सञ्चार माध्ययमका स्क्रिनमा भिसिको स्वर्गारोहण भएको समाचार देख्न सेकन । वीर योद्धा भिसि लछिमन गुरुङ्गको १२ डिसेम्बरको दिन ९३ बर्षको उमेरमा वेलायतमा निधन भएको थियो । उनलाई हामी के दिन सक्छौ र ? केही थोपा आँसु २ शब्द श्रद्धाञ्जली । एउटा जीवित इतिहास अब कापीका पानाहरुमा र अबोल तस्बिरहरुमा मात्र सिमित हुन पुगेको छ । तर उनको वीरता, योग्दान, अदम्य आँट र उनको गरिमामय इतिहास युगौँ–युगसम्म बाँचिरहने छ । उनीप्रति हार्दिक श्रद्धाञ्जलीसहित एक ‘स्यालुट’ गर्दछौ ।
यतिवेला जी २०० को नाम उनीहरुका वीरताको मात्र आवाज उठाई रहेका छन । उनको योग्गदान र उनले भोगेको भेदभावको बिषयमा कसले आवाज उठाउँने करि–लन्च खाइरहँदा ? जी २०० नामको केक काटिरहँदा ? भिसि लछिमन जस्ताको बेलायतमा गुमनाम अन्त्य भएको थियो । अन्य गोर्खालीहरुको कस्तो मृत्यु होला ? करिलन्च, च्यारेटी डिनरमा चुस्किसँगैै मिष्ठान भोजन गरिहेकाले बुझ्न सक्नुपर्छ । भिसिको स्थानमा हामी कहिल्य पुग्छौ ? हाम्रो मृत्यु कस्तो होला । हामी के भिसि लछिमनको पीडामा, उनले पाएको अन्यायमा मलाम लगाउदैँ छौँ ? या कोट्याउदैँ छौँ ? जो करि–लन्च र च्यारेटी डिनर खाइरहेका छन, उनीहरुले भुलिसकेका छन, भिसिहरुका योगदानहरु । युद्धबाट घर नफर्किएका आफु जस्तै गोर्खाहरु ।
जसले हामीलाई प्रयोग गर्दै अलपत्र छाडेका छन, तिनीहरु बेलायती राष्ट्र मात्र नभई गोर्खालीमाथि अत्याचार गर्ने गोर्खालीहरु र लाहुरे नामलाई सिमान्तकृत गर्ने नेपाल सरकार पनि छन् । यहि मेसोमा लाहुरे इतिहास मुर्छा परिहेको छ ।
अन्तमा हामी केका लागि लड्यौ
हामी कसका लागि लड्यौ
र
हामीलाई कसले लड्न पठायो युद्धमा ?
सन्दर्भ सामाग्री
१. लाहुरेका कथा –२००२
२. वीरका पनि वीर भि.सि. विजेता गोर्खालीहरु –२००७
३. भि.सि. स्मारिका २०५० साल
४ नयाँ सन्देश साप्ताहिक वर्ष २ अंक २६
ConversionConversion EmoticonEmoticon