नेपाली सहित ३० लाख आप्रवासी कि निर्वासित हुनुपर्यो कि जेल चलान’

ट्रम्प भन्छन्, ‘३० लाख आप्रवासी कि निर्वासित हुनुपर्यो कि जेल चलान’

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार सुरुवातमा ३० लाख अवैध आप्रवासीलाई निर्वासित गरिने वा उनीहरुलाई जेल हालिनेछ ।

अमेरिकी च्यानल ‘सिबीएस’ सँगको एक साक्षात्कारमा ट्रम्पले आपराधिक रेकर्ड भएका प्रवासीहरुका विरुद्ध कारवाही गरिने बताए । केही आपराधिक समूहका सदस्य र लागु औषध व्यापारीका विरुद्ध कारवाही गरिने उनले जानकारी दिए ।

ट्रम्पले चुनावको क्रममा मेक्सीको र अमेरिकाको सीमामा पर्खाल बनाउने बाचा गरेका थिए । यस विषयमा बोल्दै उनले आफू यो बाचामा अडिग भएको बताए । यद्यपी, पर्खालको सट्टा बार पनि लगाउन सकिने उनले बताए ।

साक्षात्करको क्रममा उनले भने, ‘जो अपराधी हुन् र जसको आपराधिक रेकर्ड छ वा कुनै आपराधिक समूहका सदस्य छन् अथवा कोही लागु औषधको व्यापारी छन्, उनीहरुलाई हामीले खोजी गर्नेछौं । मलाई लाग्छ यस्ता व्यक्तिको संख्या २० लाख छ अथवा ३० लाख पनि हुनसक्छ । हामी उनीहरुलाई देशभन्दा बाहिर निकाल्छौं वा उनीहरुलाई जेलमा हाल्छौं ।’

अमेरिकामा गत मंगलबार भएको राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेद्वार ट्रम्पले डेमोक्रेटिक पार्टीकी हिलारी क्लिंटनमाथि जीत हाँसिल गरेका थिए ।

ट्रम्पले आउँदो २० जनवरीमा कार्यभार सम्हाल्नेछन् । अमेरिकी कांग्रेसको दुबै सदनमा पनि रिपब्लिकन पार्टीको बहुमत छ ।

अमेरिकामा करिब १ करोड ४० लाख प्रवासी यस्ता छन् जो बिना दस्ताबेज बसिरहेका छन् । यीमध्ये मेक्सीकोबाट आएका व्यक्तिहरुको संख्या उच्च छ ।
Previous
Next Post »