बारा पुगेर ओलीले मधेसवादी दललाई सोधे- मधेसको पुरानो बासिन्दा नेपाल कि महतो?

बारा पुगेर ओलीले मधेसवादी दललाई सोधे- मधेसको पुरानो बासिन्दा नेपाल कि महतो?


'पहाड-मधेस छुट्याएर देशद्वन्द्व तर्फ लान खोज्यो'

मंसिर ११, २०७३- एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश र जनतालाई अन्योलमा राखेर केटाकेटी जस्तो रडाको मचाएको आरोप लगाएका छन् । निजगढमा शनिबार आयोजित नगर कमिटी प्रथम अधिवेशन उद्घाटन गर्दै उनले यस्तो कार्यले देशमा अस्थिरता बढेको बताए ।

‘संविधान र बजेट कार्यान्वयनको मुख्य काम छाडेर संविधान संशोधनको नाममा झुट तथा भ्रमको नगरा पिट्दै हिँडेको छ, यो अहिले आवश्यकता छैन्,’ उनले भने, ‘संविधान कार्यान्वयन गर्दै जाँदा संशोधन आवश्यक्ता अनुसार गर्ने विषय हो । अहिलेको संशोधन तयारी संविधान विपरित छ ।’

संशोधनको नाममा फाइफुटे गफ नगर्न सरकारलाई उनले सुझाए । ‘कस्ता हुन् नेता र सरकार ? जो देशलाई अस्थिरतामा लान भयानक षड्यन्त्रमा फसिरहेको छ,’ उनले भने । सरकार चटके खेल देखाएर जनतामा भ्रम फैलाएको उनले आरोप लगाए । सबै कुराले सम्पन्नता भएको देशलाई विकास गर्ने एमालेको सरकारलाई अरुसितको बाचामा ढालेको उनको भनाइ थियो ।

एक अर्को प्रसङ्गमा उनले भने, ‘राजेन्द्र महतो भन्दा माधव नेपाल मधेसको पुरानो बासिन्दा हुन् । माधव नेपाल के अब सोलु जाने ?’

उनले मधेसवादी दलहरुप्रति लक्षित गर्दै भने, ‘मधेसवादी पार्टीले पूर्व–पश्चिम राजमार्ग विस्तारदेखि रेल चलाउने, हुलाकी मार्ग बनाउने, फास्टट्रयाक तथा निजगढ अन्तर्राष्ट्रिय विमान स्थल बनाउने जस्ता विकासको कुरा किन गर्दैनन् ? मधेसमा विकास गर्न नचाहने आफैं अनि दोष मधेसमा धेरै योजना ल्याउने एमालेलाई ? आफुलाई मधेस केन्द्रित मात्रै भन्ने ? ’

सरकारले पहाड मधेस छुट्याएर देशद्वन्द्व तर्फ लान खोजेको उनले आरोप लगाए । उक्त अवसरमा साउदी अरबमा रहेका नेपाली कामदारको समस्याबारेमा नेपाली साझा मञ्चले ओलीलाई ज्ञापन पत्र बुझाएको छ । मञ्चका अन्तर्राष्ट्रिय अभियन्ता रामकृष्ण घिमिरेले ज्ञापन पत्र बुझाएका हुन् ।



Previous
Next Post »