नाकाबन्दी भए पनि देश बाँच्न सक्छन्

नाकाबन्दी भए पनि देश बाँच्न सक्छन्


अर्गानिकपोनिको डी अल्मार अर्थात् क्युबाको हभाना नजिकैको कृषि परियोजना । यहाँ कामदारले थुप्रै ग्रामीण फार्म चलाएका छन् । यसैको आडमा बजार र रेस्टुरेन्ट सञ्चालनमा छन् । पौरखी हातले बनाएका सामग्री र मानव श्रमले ऊर्जाबाट चल्ने मेसिनलाई विस्थापित गरेका छन् । कीराको उत्पादन गर्दै माटोलाई स्वच्छ र मलिलो बनाइएको छ । पानीको संरक्षण र माटोको संरक्षणमा लागेको समुदाय स्वस्थ खाना उत्पादन गर्न सक्रिय छ । cuba
राजधानी हभानासँगैका अन्य क्षेत्र जहाँ अल्मारमा जस्तो खेतीका लागि पर्याप्त जमिन छैन । त्यहाँ स्थानीयले गार्डेन बेड बनाएर खेती गर्दै आएका छन् । धेरैले आफ्नो घरको छतमाथि पर्याप्त तरकारी उत्पादन गर्छन् ।
क्युबामा अमेरिकी नाकाबन्दी लामो समयदेखि छ । अमेरिकाको छिमेकी टापु क्युबा टर्कस् आइल्यान्ड, बाघामास, मेक्सिको, साइमन्ड आइल्यान्ड, जमैका र हाइटीको बीचमा पर्छ । सन् १४९२ देखि १८९८ सम्म क्युबा स्पेनको उपनिवेश थियो । त्यसपछि स्पेन र अमेरिकाबीच चलेको युद्धका कारण क्युबा मारमा पर्यो । सन् १९०२ मा गणतन्त्र क्युबाले अमेरिकाबाट समेत स्वतन्त्रता पायो । सन् १९५२ बाट क्युबामा राष्ट्रपति फुल्जेन्सियो बाटिस्टाको निरकुंश शासन सुरु भयो । त्यसपछिको आन्दोलनमा छिमेकी अमेरिकाले ठूलो सहयोग गरेको थियो । तर, क्युबेली आन्दोलनमा सघाउ पुर्याउने अमेरिका त्यतिबेला झस्कियो, जतिबेला फिडेल क्यास्ट्रो नेतृत्वमा भएको आन्दोलनले क्युबालाई कम्युनिस्ट राष्ट्रका रूपमा स्थापित गर्यो । फिडेल क्यास्ट्रो सत्तामा आए पनि उनलाई स्विकार्न त्यतिबेला अमेरिका तयार भएन । अमेरिका भ्रमणमा गएका क्युबेली राष्ट्रपति क्यास्ट्रोलाई तत्कालीन अमेरिकी राष्ट्रपतिले भेट समेत दिएनन् । त्यसयता, छिमेकी अमेरिकालाई धम्का दिनेगरी क्युबाले कम्युनिस्ट शक्ति सोभियत संघसँग सम्बन्ध बढायो । शीतयुद्धका दौरानमा अमेरिकाको सट्टा सोभियत संघसँग सम्बन्ध स्थापित गरेका कारण क्युबालाई अमेरिकी नाकाबन्दीको मार परेन । क्युबा र सोभियत संघबीच निकै नजिकको सम्बन्ध थियो र क्युबा पूर्णरूपमा सोभियत संघमाथि निर्भर रह्यो । यसबीच दुई देशबीच सैन्य सहयोग समेत आदान–प्रदान भएको थियो । सोभियत संघको सहयोगमा विकासको तीव्र गतितर्फ अघि बढेको क्युबाले तीन दशकपछि सन् १९९१ मा सोभियत संघ विघटन हुँदा त्यसको सबैभन्दा ठूलो मार खेप्नुपर्यो । क्युबाले आफ्नो देशमा प्रयोग हुने ५० प्रतिशत इन्धन सोभियत संघबाट लिँदै आएको थियो, त्यस्तै खाद्यान्नसहित क्युबाको ८५ प्रतिशत अर्थतन्त्र सोभियत संघमा निर्भर थियो ।
सोभियत संघको पतनपछि क्युबेलीहरूले खान नपाउने स्थिति आयो । क्युबाका एक स्थानीय भन्छन्, ‘जब संकटको स्थिति आयो । त्यतिबेला मानिसहरूले कृषि सुरु गरे । हामीसँग अरू विकल्प पनि त थिएन ।’
इन्धनको कमीका कारण क्युबामा सवारी–साधनको संख्यामा कमी आउन थाल्यो, उद्योग तथा कलकारखाना बन्द हुन थाले । त्यतिबेला अस्ट्रेलियनहरूको एउटा समूह सन् १९९३ मा क्युबा आएको थियो । उक्त समूहले यस क्यारेबियन क्षेत्रमा सामुदायिक अवधारणा विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन्, अल्मारका स्थानीय । क्युबा त्यतिबेला इन्धनको निर्भरता घटाएर कसरी बाँच्न सकिन्छ भन्ने खोजीमा थियो ।
सामुदायिक समाधानका कार्यकारी निर्देशक पाक पाक मुर्फी भन्छन्, ‘समय निकै खराब थियो । तर, क्युबाको संस्कृति र क्युबाका जनताको एकताले हामीलाई खराब समयसँग लड्ने साहस जुरायो ।’
हामीले पेट्रोलियम पदार्थको संकटका बाबजुद आफ्नो कृषि क्षेत्रलाई मात्रै माथि उठाएनौँ । सानो तहमा वैकल्पिक ऊर्जाको विकास गरेर त्यसरी उत्पादित ऊर्जालाई संरक्षण गर्ने पद्धति समेत सिक्यौँ ।
सोभियत संघको विघटनपछिको युगलाई क्युबामा स्पेसल पिरियडका रुपमा चिनिन्छ । सोभियत संघ विघटन हुनअघि क्युबाले ८० प्रतिशत सामग्री ढुवानी गर्ने गरेको थियो । त्यसपछि बजार बिग्रँदा क्युबाको कुल गार्हस्थ उत्पादनमा एकतिहाईभन्दा बढीले कमी आयो । त्यतिबेलाको अवस्था सम्झँदै क्युबाका अर्थशास्त्री जर्ज मारियो भन्छन्, ‘जब उडिरहेको विमानको इन्जिन बिग्रन्छ । त्यतिबेला के हुन्छ ? आफैँ अनुमान लगाउनुहोस् ।’
अन्तर्राष्ट्रिय विकास तथा सहायता एजेन्सी अक्सफामले त्यतिबेलाको क्युबाको अवस्था चित्रण गर्दै तयार पारेको रिपोर्टमा उल्लेख छ, ‘सहरहरूमा बसहरू गुड्न बन्द भए । जेनेरेटरहरूले विद्युत् उत्पादन बन्द गरे । उद्योग र कलकारखाना शान्त देखिन्थे । धेरैका लागि दैनिक खानाको जोहो गर्नु नै ठूलो उपलब्धि हुन्थ्यो ।
एकातर्फ अमेरिकी नाकाबन्दी र अर्कोतर्फ ध्वस्त भएको विदेशी बजार, क्युबाले पर्याप्त खाद्यान्न समेत ल्याउन सकेन । ठूलो संख्यामा कृषिमा प्रयोग हुने मेसिनरी सामानका कारण कृषिबाट हुने उत्पादनमा एक्कासि कमी आयो । त्यसपछि नै हो, क्युबाका जनता अरूमा भर पर्न छाडेर आफैँ कृषिमा सक्रिय भएको, सानदार गाडी चढ्नेहरूले सडकमा हिँड्न सिकेको र क्युबामा राष्ट्रिय एकता र आपसी सहयोगको वातावरण तयार भएको । क्युबामा रहेको फाउन्डेसन फर नेचर एन्ड ह्युमानिटीका रोबर्ट सान्चेज भन्छन्, ‘ठूला समस्याको साना समाधान पनि हुन्छन् । संकट र परिवर्तनले हामीले आत्मसात गर्नुपर्ने तिनै आधारभूत कुराहरूको स्मरण गराउँछन् ।’

नयाँ कृषिक्रान्ति

क्युबेलीहरूले मेसिनरी सामानको प्रयोग छाडेर आफ्नै श्रमको बलबुतामा खेती सुरु गरे । आज राजधानी हाभानामा प्रयोग हुने तरकारीको ५० प्रतिशत हिस्सा सहरभित्रै उत्पादन हुन्छ । अन्य सहरमा आवश्यक तरकारीको ८० प्रतिशत सहरभित्रै उत्पादन हुन्छ । क्युबा फेरि आधुनिकतातर्फ बढ्दै छ । तर, कृषि पेसालाई धेरैले सधैँका लागि अंगालेका छन् । आफ्नै श्रमले अहिले क्युबेलीहरूले सहर सफा र हराभरा राख्ने गरेका छन् ।

इन्धनको समाधान

विदेशबाट आयात गरिएको पेट्रोलमा विद्युत् निर्भर रहने भएका कारण सोभियत संघको पतनपछि क्युबामा जहाँतहीँ अन्धकार थियो । धेरै वर्षसम्म घोषित लोडसेडिङ जारी रह्यो । फ्रिज चलाउन नपाउँदा खाना सडेर जाने गरेको थियो । पंखा चलाउन नपाउँदा गर्मीले देश आक्रान्त थियो । आर्थिक रूपमा टाट पल्टिएका बेला ऊर्जा शक्तिमा लगानी गर्ने हैसियत समेत क्युबासँग थिए । त्यति नै बेला साना वैकल्पिक योजना सुरु भए र इन्धनको फजुल खर्चमा कमी ल्याइयो । इकोसोल सोलार र क्युबा सोलार अहिले क्युबामा चलेका दुई वैकल्पिक ऊर्जा उत्पादन गर्ने संस्था हुन् । यी संस्थाले वैकल्पिक ऊर्जाको बजार विस्तार गर्ने, सिस्टम जडान गर्ने, अनुसन्धान गर्ने तथा पुस्तकहरू प्रकाशित गर्ने गर्छन् । सोलार फोटो भोल्टिकको १.२ मेघावाट दुवै साना सिस्टम (दुई सय वाट क्षमता) तथा ठूला सिस्टम (१५ देखि ५० किलोवाट क्षमता) इस्कोल सोलारले जडान गरेको छ । अमेरिकामा यति नै मेघावाट विद्युत्ले एक हजार घरलाई मात्रै धान्न सक्छ, तर क्युबामा यति विद्युत्ले त्योभन्दा धेरै घटनामा पुग्छ । मानिसहरू सानो घरमा बस्छन् र ऊर्जाको प्रयोगमा सकेसम्म कमी ल्याउँछन् । इस्कोल सोलारले ६० प्रतिशत सेवा सामाजिक परियोजना विद्यालय, अस्पताल तथा ग्रामीण क्युबामा रहेका सामुदायिक केन्द्रमा पुर्याउँदै आएको छ । दक्षिण–पश्चिम हभानाको ग्रामीण क्षेत्रमा अहिले प्रत्येक घरमा साना सोलार प्यानल जडान गरिएको छ । एउटा सानो बत्ती र रेडियो सुन्ने शक्ति त्यसले दिन्छ । ठूला सिस्टमले स्कुल, अस्पताल र सामुदायिक कोठामा विद्युत् प्रवाह गर्छन् । त्यस्ता केन्द्रमा राउन्ड टेबल नामक कार्यक्रम हेर्न स्थानीयहरू प्रत्येक साँझ भेला हुने गरेका छन् । पहिला जानकारी दिएर खोलिने टेलिभिजन रुमले सबैलाई एकै ठाउँमा उभ्याउन समेत भूमिका खेल्ने गरेको छ । क्युबा सोलारका निर्देशक ब्रुनो बेरिस भन्छन्, ‘सूर्यले संसारमा लाखौँ वर्षदेखि जीवन छर्दै आएको छ । जब हामीले आफ्नो ढंंगबाट प्रकाशको प्रयोग गर्न थाल्यौँ, त्यसपछि हामीलाई सौर्यऊर्जा कम लाग्न थालेको हो । त्यसैले समस्या हाम्रो समाजमा हो । ऊर्जा नामक शब्दमा होइन ।

यातायात मिलेर चढ्ने सिस्टम

इन्धनको कमीपछि क्युबाले सामना गरेको अर्को ठूलो समस्या यातायात सञ्चालन थियो । आदिवासी क्युबेलीबाट यसको समाधान निस्कियो । क्युबामा एउटा भनाइ निकै लोकप्रिय छ, ‘आवश्यकता नै आविष्कारको आमा हो । थोरै पैसा र इन्धनका बाबजुद अहिले क्युबाको हभानामा व्यस्त समयमा पनि थुप्रै मानिस सहज आवागमन गर्छन् । सानो वा ठूलो दुवै यातायातका साधनमा धेरैभन्दा धेरै मानिस बस्ने गर्छन् । मानिसले यातायातका लागि रिक्सा, साइकल तथा जनावरको पर्याप्त प्रयोग गर्ने गरेका छन् । ट्रयाक्टरले कुदाउने एउटा विशेष सवारी, जसलाई हभानामा क्यामेल भनिन्छ, त्यसमा मात्रै तीन सय जना अट्छन् । दुईजना अट्ने रिक्सा तथा साइकल पनि हभानाका लोकप्रिय सवारी हुन् । त्यसबाहेक घोडाले कुदाउने बग्गी र पुराना ट्रकहरू ग्रामीण क्षेत्रमा गुड्ने गर्छन् ।

शिक्षा र स्वास्थ्य

शिक्षा र स्वास्थ्य क्युबामा सरकारको प्राथमिकतामा पर्छ । दुबै निःशुल्क उपलब्ध छन् । प्रत्येक घरमा नियमित चेकजाँचका लागि डाक्टर उपलब्ध हुन्छन् । गरिब देश भए पनि क्युबाको सारक्षता ९७ प्रतिशत छ । अमेरिकाको तुलनामा क्युबेलीहरूको औसत आयु बढी छ । त्यस्तै बाल मृत्युदर क्युबामा कम छ । संकटका बाबजुद क्युबाले निःशुल्क स्वास्थ्यलाई कायम राख्दै थयो । क्युबेली क्रान्तिअघि यस देशमा दुई हजार व्यक्तिका लागि एक डाक्टर उपलब्ध थिए । अहिले एक सय ६७ व्यक्तिका लागि एक डाक्टर उपलब्ध छन् । क्युबाका डाक्टरले आफ्नो देशमा मात्रै नभएर गरिब देशमा समेत सेवा निःशुल्क सेवा उपलब्ध गराउँदै आएका छन् । प्रत्येक वर्ष २० हजार क्युबेली डाक्टर यसरी गरिब देशमा सेवा गर्न जान्छन् । सन् १९९५ मा मासुको संकट हुन थालेपछि क्युबेलीहरूले कम फ्याट भएको स्वस्थ तरकारी खान थाले । अहिले साइकलमा सवारी र स्वस्थ फलफूल तथा तरकारीको प्रयोग क्युबेलीको विशेषता मानिन्छ । फाउन्डेसन फर नेचर एन्ड ह्युमानिटीका रोर्बट सान्चेज भन्छन्, ‘पहिलो भात र सुँगुरको मासु यहाँको आधारभूत खाद्यान्न थियो । अहिले स्वस्थ तरकारी सबैको रोजाइमा पर्छ ।
डाक्टर र नर्सहरू समुदायभित्रै बस्छन् र उनीहरू सधैँ स्थानीयवासीको समस्यासँग परिचित रहन्छन् । समुदायमा तीनतले भवन लोकप्रिय छ । पहिलो तलामा कार्यालय, दोस्रोमा डाक्टर र तेस्रोमा नर्सका लागि आवास । क्युबामा ६० प्रतिशत चिकित्सक महिला छन् । रोगको उपचार गर्नेभन्दा रोग नै लाग्न नदिने नीति क्युबा सरकारले लिएको छ ।
शिक्षा क्युबाको सबैभन्दा ठूलो सामाजिक क्रियाकलाप मानिन्छ । क्रान्तिअघि क्युबामा तीन हजार जनताका लागि एक शिक्षक उपलब्ध थिए । अहिले ४२ जनताका लागि एक शिक्षक उपलब्ध छन् । १६ विद्यार्थी बराबर एक शिक्षकको औसत आँकडा छ । ल्याटिन अमेरिकाको कुल जनसंख्याको दुई प्रतिशत मात्रै क्युबाको जनसंख्या छ । तर क्युबामा ल्याटिन अमेरिकाका ११ प्रतिशत वैज्ञानिक छन् । ग्रामीण क्षेत्रलाई बलियो बनाउने गरी स्पेसल पिरियडमा क्युबाले आफ्ना सबै प्रान्तमा शिक्षालाई मजबुत बनाएको थियो । संकटको समयअघि क्युबामा जम्मा उच्च शिक्षाका लागि तीन विश्वविद्यालय थिए भने अहिले ५० कलेज तथा विश्वविद्यालय छन् । सातवटा त राजधानी हभानामा मात्रै छन् ।

समुदायको शक्ति

क्युबेली जनता सधैँ आशावादी रहन्छन् र उनीहरू बारम्बार आफ्नै भाषामा भन्ने गर्छन्– सीसी पिउडी अर्थात् हामी गर्न सक्छौँ । उनीहरूमा समस्यासँग जुध्न सक्ने जबर्जस्त बानी छ । सन् १९६० देखि नै अमेरिकी नाकाबन्दी सहर पनि क्युबेलीहरू कहिल्यै कमजोर देखिएका छैनन् । कम्युनिटी सोलुसनका कर्मचारीहरू क्युबेलीबाट अन्य विकासशील तथा कम विकसित देशहरूले धेरै सिक्न सक्ने बताउँछन् । अहिले विकसित देशहरूमा समेत ऊर्जासंकट देखिएको छ । यस्तो अवस्थामा ऊर्जाको खपतमा कमी ल्याउनु नै समस्याको समाधान रहेको क्युबेलीको बुझाइ छ ।
नयाँ ढंगले अघि बढ्दै गरेको क्युबेली सरकारले अहिले आफ्नो नारालाई समेत परिवर्तन गरेको छ । कुनै बेला क्युबामा नारा थियो, समाजवाद वा मृत्यु । अहिले नारा बनेको छ, राम्रो विश्व सम्भव छ । अहिले निजी व्यापारी तथा कृषकहरूलाई सार्वजनिक जग्गा पर्ने गर्ने तथा आफ्नो उत्पादन बेच्ने अधिकार क्युबा सरकारले दिएको छ । निर्णय गर्ने क्षमता तल्लो तहलाई छ । सामुदायिक समाधानको पक्षबाट हेर्दा आफ्नो आदर्श र केन्द्रीकृत अर्थतन्त्रका बाबजुद क्युबाले आत्मनिर्भर हुनका लागि जे गर्न सक्थ्यो, त्यो गरेको छ । इन्धनको संकटका बाबजुद क्युबेलीहरूले एक भएर आफ्ना विचार र आदर्श थाँती राख्दै जुन विकास गरेका छन्, के यस्तै परिस्थितिमा अमेरिकाजस्ता शक्ति राष्ट्रले यस्तो धैर्यता देखाउन सक्छन् । के क्युबेलीझैँ समुदायका लागि अमेरिकीहरू एक ढिक्का हुन सक्छन् र उनीहरूले त्याग र आपसी सहयोगका साथ अघि बढ्ने हिम्मत राख्छन् । क्युबा सोलाका बेरिस भन्छन्, यो जलवायु परिवर्तन हो । तेल र इन्धन अभावको मूल्य हो । हामीले के याद गर्नुपर्छ भने विश्व परिवर्तनशील छ र हामीले विश्वलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ ।
Previous
Next Post »