केसीको ज्यानभन्दा ठूलो होइन मेरो पद’

केसीको ज्यानभन्दा ठूलो होइन मेरो पद’


अघिल्ला नौवटै अनशनका क्रममा डा. गोविन्द केसीका पक्षमा उभिएका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन डा. केशवप्रसाद सिंह दसौं अनशनसँग प्रत्यक्ष रुपमा जोडिन पुगेका छन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
वरिष्ठता आधारमा डिन नियुक्तिलगायत चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले अनशनको घोषणा गर्नासाथ भेट्न जाने र सहयोगको वचन दिने मात्र होइन, प्रत्येक अनशनमा हरेक दिनजसो अनशनस्थलमै साथ दिने सिंह यसपटक फर्किएर गएका छैनन् ।
अनशन बसेका केसीको बारम्बार रिपोर्ट हेर्दै स्वास्थ्य अवस्था मूल्यांकन गर्ने उनै हुन्थे । यतिसम्म कि पाँचौं अनशनमा वरिष्ठता मिचेर डिन बनाइएका डा. शशी शर्माको पक्षले दलबलसहित अनशन बस्नै अवरोध गर्दा सिंह नेतृत्वको टोलीले डा. केसीको रक्षा गर्दै अनशन बसाएको थियो ।
यसपटक भने दृश्य भिन्न छ, परिस्थिति फरक बनेको छ । डा. केसीका यी परम मित्र डा. सिंहलाई अगाडि राखेर चिकित्सा शिक्षा क्षेत्रमा सुरु भएको सुधार बिथोल्ने खेल भइरहेको छ । चार वर्षदेखि वरिष्ठता आधारमा चार डिन बनिसकेको अवस्थामा त्रिविले यो पद्धति बिथोल्ने गरी सिंहलाई अगाडि सारेको छ । डा. केसीको बुझाइ पनि नजिकका साथीसँग आफूलाई लडाएर विश्वविद्यालय प्रशासन र मेडिकल माफियाले चलखेल गरिरहेको भन्ने छ ।
‘यस्तो अवस्था आएको छ, डा. केसीको जीवन, अभियान र निष्ठाको लडाइँको इज्जत जोगाउने÷नजोगाउने भन्ने विषय उनका परम मित्रकै हातमा पुगेको छ,’ दुवै चिकित्सकको सम्बन्धका जानकार डा. वाइपी सिंह भन्छन् ।
यसपटक डा. केपी सिंह डिनको रुपमा जिम्मेवारीमा छन् । डा. केसी डिनको रुपमा सिंहलाई स्विकार्नुको विकल्प– ‘सिंहको राजीनामा वा बर्खास्तगी’ मात्र हुन्छ । त्रिवि पदाधिकारीले डा. केसी र सिंहबीचको सम्बन्धमा खेल्न खोजेको भन्ने बुझ्न कठिन छैन ।
आइतबार त्रिवि उपकुलपति तीर्थ खनियाँले समेत दुवैबीचको सम्बन्धन राम्रो हुनुले सिंहको नियुक्तिले आइओएममा समस्या समाधानमा सघाउने विश्वास व्यक्त गरेका थिए ।
के आफ्ना परम मित्र डा. केसीको जीवनरक्षाका लागि उनी यसका लागि तयार छन् त ? नागरिक प्रश्नमा सिंहले भने,  ‘मेरो पद उसको ज्यानभन्दा ठूलो होइन ।’
‘तर म पनि वरिष्ठता मिचेर आएको पनि त होइन नि,’ सिंहले डा. केसीको अनशन टुंग्याएर जीवनरक्षा गर्नु आफ्नो जिम्मेवारी भएको सुनाए ।
डा. सिंहको पछिल्लो तर्क हेर्दा उनी सहजै पद छाड्ने सोचमा नरहेको देखाउँछ । डिन पदमा त्यस्तो के छ जसको अवसर आउँदा सिंहले डा. केसीको साथ छाडे ?
सेवाप्रवेशका आधारमा आफू वरिष्ठ भएको दाबी सिंहले गर्दै आए पनि उच्च तहको नियुक्तिमा यसलाई मानिन्न । संस्थामा प्राध्यापक भएको आधारमा सिंह वरिष्ठता सूचीमा नवौ नम्बरमा छन् । अर्को विषय सिंहको अवधि फागुन १० मा सकिँदै छ । यसबीच आइओएममा चार सहायक डिन र क्याक्पस प्रमुखको पदसमेत रिक्त छ ।
Previous
Next Post »