नेपाल वायु सेवा निगमल हजार घण्टाभन्दा कम उडेको जहाज किन्ने

नेपाल वायु सेवा निगमल हजार घण्टाभन्दा कम उडेको जहाज किन्ने

निगमलाई वाइडबडी दिलाउन ११ को प्रस्ताव
प्रस्ताव उपर छानबिन गर्न समिति गठन


कार्तिक २५, २०७३- काठमाडौंबाट लामो दूरीको उडानका लागि नेपाल वायु सेवा निगमले खरिद गर्न लागेको दुइटा वाइड–बडी (ठूलो अकारको) एयरबस विमान दिलाउन ११ वटा प्रस्ताव परेका छन् । सरकार स्वामित्वको निगमको सञ्चालक समितिले गत असोज ८ गते दुइटा वाइड बडी विमान किन्न ग्लोबल टेन्डर आहवान गर्ने निर्णय गर्दै त्यसको दुई दिनपछि (असोज १०) गते सूचना निकालेको थियो । उक्त सूचनामा जहाज उत्पादन गर्ने कम्पनी, एयरलाइन्स, एयरक्राफ्ट लिजिङ कम्पनी र बैंकलाई ४५ दिनभित्रको समय दिई कात्तिक २४ गतेसम्म प्रस्ताव बुझाउन भनिएको थियो । 



निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बुधबार रातिसम्म दुइटा वाइड बडी विमान खरिदका लागि १० वटा प्रस्ताव दर्ता भएको बताए । यीबाहेक एउटा कम्पनीले विमान नभई इन्जिन मात्रै दिलाइदिने प्रस्ताव दर्ता गरेको छ । यी सबै गरेर प्रस्ताव दर्ता गर्नेको संख्या ११ पुगेको छ । महाप्रबन्धक कंसाकारले दर्ता भएका सबै कम्पनी विदेशी रहेको बताए । ‘अमेरिकीसम्मका कम्पनीहरूले बोलपत्र बुझाएका छन्,’ कंसाकारले कान्तिपुरलाई भने ।

यसरी प्रस्ताव बुझाउनेले उडरिहेका जहाज खोजेर ल्याइदिनेछन् । यी कुनै पनि जहाज उत्पादक होइनन् । यिनीहरू जहाज उपलब्ध गराउने एजेन्ट हुन् । प्रस्ताव हाल्नेमा बुल्गेरियाको के एल एरो पार्टस, बेलायती कम्पनी केजीटे इन्भेस्टमेन्ट/वान वल्र्ड कोल्ज आउटस, अमेरिकी बहुराष्ट्रिय कम्पनी रोन मोट्टो, अमेरिकी कम्पनी एयरक्राफ्रट इन्भेस्टमेन्ट ग्रुप, बेलायती ट्ेरडिङ कम्पनी क्राउन कमर्सियल सर्भिसेस लिमिटेड, ब्राजिलियन कम्पनी सिनर्जी एरोस्पेस, फ्रान्सेली कम्पनी ली ग्रुप डेल्टा, अमेरिकी कम्पनी एएआर कर्प, रोल्स रोय र सूर्य एयर सपोर्ट छन् । रोल्स रोयसले भने इन्जिन मात्रै बिक्री गर्ने प्रस्ताव हालेको छ । 

निगमका सहायक प्रवक्ता शैलेश कंसाकारका अनुसार केही प्रस्ताव सोझै अन्तर्राष्ट्रिय कुरियरबाट आएका हुन् भने केही नेपाली तथा विदेशी एजेन्टको सहयोगमा दर्ता भएका हुन् ।

यसपटकको यो प्रतिस्प्रर्धामा अमेरिकी विमान निर्माता बोइङ छैन । निगमले ग्लोबल टेन्डरमै एयरबसको ३३०–२०० सिरिजको विमान भनेर किटानै गरेपछि बोइङ स्वत: यो प्रतिस्पर्धाबाट बाहिरिएको हो । हाल एयरबसका दुइटा एयरबस ए–३२० सिरिजका विमान उडाउँदै आइरहेको निगमले यसपटक खरिद गर्न लागेको विमान नयाँ (ब्रान्ड–न्यु) भने होइनन् । 

निगमले कम्तीमा एक हजार घण्टाभन्दा कम उडान भरेको २ सय ५० देखि २ सय ८० सम्म सिट भएको विमान हुनुपर्ने सर्त राखेको छ । कंसाकारले एयरबसकै विमान तोकिएका कारण विश्वभरका धेरै कम्पनीलाई प्रतिस्पर्धामा सहभागी गराउन १ हजार घण्टासम्म उडान भरेको विमान सर्तमा राखिएको बताए ।

निगमका अनुसार एयरबसकै जहाज किन्नुपर्ने भएकाले हजार घण्टाभन्दा कम उडेका जहाज भनेर तोकिएको हो । नयाँभन्दा बोइङले पनि प्रस्ताव हाल्ने भएकाले पुरानो जहाज किन्न खोजिएको निगम स्रोतको भनाइ छ । ‘हामी एयरबस मात्रै उडाउन खोजिरहेका छौं,’ निगम सोतले भन्यो, ‘सार्वजनिक खरिद ऐनअनुसार कम्तीमा ३ वटा प्रस्ताव आउनुपर्ने र सबै एयरबस नै हुनुपर्ने भएकाले हजार घण्टा उडेको भन्ने प्रावधान राख्न खोजिएको हो ।’ 

बुधबार दर्ता भएका प्रस्तावको मूल्यांकन गर्न निगमका प्राविधिकतर्फका नायव महाप्रबन्धक आरबी शाहको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिले सबै प्रस्तावको मूल्यांकन गर्दै महाप्रबन्धक कंसाकारलाई तीन साता हाराहारीभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । कंसाकारले उक्त प्रतिवेदन निगम सञ्चालक समितिमा पेस गर्नेछन् । 

समितिले पारित गर्ने कम्पनीसँग निगमले विमान खरिद सम्झौता गर्नेछ । यो प्रक्रियाका लागि कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ । निगमले २०७३ चैत महिनाभित्र दुइटै विमान खरिद गरिसक्ने भाका राखेको छ ।

निगमले दुईवटा विमान खरिदका लागि रकम नभएको दाबी गरिरहेको छ । निगमलाई ठूलो आकारको विमान खरिदका लागि कर्मचारी सञ्चय कोषले २५ अर्ब लगानी गर्ने सैद्धान्तिक सम्झौता गरिसकेको छ । यो ऋण सम्झौताका लागि अर्थ मन्त्रालयले जमानत बस्ने सहमति पनि दिइसकेको छ । निगमका एक अधिकारीका अनुसार एउटा विमानकै क्याटलग मूल्य २० अर्बभन्दा बढी पर्ने भएकाले दुइटा विमान खरिदका लागि निजी बैंकहरूबाट पनि ऋण लिने तयारी छ ।


प्रकाशित: कार्तिक २५, २०७३


Previous
Next Post »