धर्म निरपेक्ष चाहनेहरु आँट छ भने जनमत संग्रह गरेर देखाऊ : पशुपति शम्शेर जबरा

धर्म निरपेक्ष चाहनेहरु आँट छ भने जनमत संग्रह गरेर देखाऊ : पशुपति शम्शेर जबरा 

 राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आज एकता भएको छ ।
सोमबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एकता घोषणासभालाई सम्बोधन गर्दै पार्टी राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणाले २०५१ सालको एकीकरणलाई कायम राख्न नसकिएको प्रति पश्चाताप व्यक्त गरेका छन् ।

कार्यकर्ताको प्रेरणासँगै देशमा विकराल राजनीतिक र आर्थिक संकटको स्थितीले गर्दा जनभावनलाई समेट्न दुई पार्टीबीचको एकता सम्भव भएको अध्यक्ष राणाको दाबी थियो ।

राजनीतिमा २ र २ जोडेर ८ पनि हुन सक्छ भन्ने प्रमाणित गर्न गतिशिल रुपमा पार्टी अगाडि बढ्नुपर्ने भन्दै एकता भयो भन्दैमा आनन्दले ननिदाउन नेता तथा कार्यकर्तालाई अध्यक्ष राणाले आह्वान गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डा भित्र राष्ट्रवादी, उदारवादी, हिन्दुवादी र प्रजातन्त्रवादी सोच भएकाहरुलाई मात्र अटाउन सकिने जिकिर गर्दै उनले यो पार्टी चीन र भारतसँगको आर्थिक वृद्धिको समानतामा नेपाल पनि जान सक्छ भन्ने सोच राखेर अघि बढ्ने बताए ।

सभालाई सम्बोधन गर्दै उनले भने – ’हिन्दु राष्ट्रलाई संविधानमा किटेर लेख्न राष्ट्रिय प्रजातन्त्र पार्टीले बाध्य बनाउँछ । धर्म निरपेक्ष चाहनेहरु सक्छौ भने आँट छ भने जनमत संग्रह गरेर देखाऊ ।’

हिन्दु केवल एक धर्म मात्र नभएको भन्दै सबै धर्मलाई समेट्ने एउटा जीवन शैली पनि भएको उनले बताए । हिन्दु राष्ट्र चाहनेहरुको नेतृत्व आफ्नो पार्टीले गर्ने उनले दाबी गरे । 

Previous
Next Post »