मध्यरातमा सीमांकन हेरफेरसहित संविधान संशोधन प्रस्ताव संसदमा दर्ता, यस्तो छ प्रस्ताव

मध्यरातमा सीमांकन हेरफेरसहित संविधान संशोधन प्रस्ताव संसदमा दर्ता, यस्तो छ प्रस्ताव



१४ मंसिर, काठमाडौं ।

मंगलबार साँझ सरकारले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गर्ने निर्णय गरेको थियाे ।

आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले नागरिकता, प्रादेशिक सीमांकन, समानुपातिक प्रतिनिधित्वलगायत बुँदामा संशोधन गर्न प्रस्ताव दर्ता गरेकाे हाे ।

सरकारले मधेसी मोर्चाका माग सम्बोधन गर्नका लागि पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउँदै तराई केन्द्रित मात्र प्रदेश बनाउने गरी चारवटा विषयमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ ।

प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरुलाई प्रदेश नम्बर ४ मा गाभ्दै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) देखि रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया समेटिएको प्रदेश बनाउने प्रस्ताव छ ।

प्रदेश–५ मा रहेका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा र प्यूठान जिल्ला अब प्रदेश–४ मा रहनेछन् । प्रदेश–४ मा अब नवलपरासी र रुकुमको पूर्वी भागसहित अन्य १५ वटा जिल्ला पर्नेछन् ।

संशोधन प्रस्ताव पारित हुने हो भने पूर्वमा सप्तरीदेखि पर्सासम्म र पश्चिमा नवलपरासीको पश्चिम भागदेखि बर्दियासम्म गरी तराईका जिल्ला मात्र केन्द्रित भएका २ प्रदेश हुनेछन् ।

प्रदेश–५ टुक्राउने विषयलाई प्रमुख विपक्षी एमाले लगायत दलहरुले तिव्र विरोध गरिरहेका छन् । तर तराई केन्द्रित दुईवटा प्रदेश हुँदा मधेसी दलहरुको आलोचनात्मक समर्थन हुने विश्वासमा सत्तारुढ दल काग्रेस र माओवादी यस्तो प्रस्ताव अघि बढाउन सहमत भएका हुन् । प्रदेश नम्बर ५ विभाजन गर्ने विषयमा कांग्रेस र माओवादी भित्रै पनि असन्तुष्टी छ ।

मधेसी मोर्चाका नेताहरुले संशोधन प्रस्ताव अघि बढेपछि त्यसलाई सकारात्मक रुपमा लिंदै विधेयकमाथि थप संशोधन हालेर आलोचनात्मक समर्थनसहित चुनावसम्म जान सकिन आवश्वासन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएका छन् ।

त्यही आवश्वासनका आधारमा सरकारले प्रमुख प्रतिपक्षी एमालेको विरोध हुँदा हँुदै पनि संशोधन अघि बढाएको हो । यो प्रस्ताव पारित गर्न एमाले बाहेकका करिब सबै ठूला दल मिल्नुपर्छ ।

मधेसी दलका नेताहरुको आश्वासनपछि मन्त्रिपरिषदको मंगलबार साँझ बसेको बैठकले संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै सरकारले संसद सचिवालयमा संविधान संशोधनको दोस्रो विधेयक दर्ता गराएको हो ।

त्यस्तै नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र भाषा सम्बन्धि बिषयमा पनि संशोधन गर्न लागिएको छ । भाषा आयोगको सिफारिसमा राष्ट्रिय भाषा तय गर्ने र त्यसलाई संविधानको अनुसूचीमा राख्ने प्रस्तावमा उल्लेख छ ।

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट महिला, दलित र अपाङ अल्पसंख्यक सहित तीन/तीन जना र बाँकी ३५ सिटमा भने प्रदेशको जनसंख्याको आधारमा निर्वाचित हुने प्रस्ताव छ । यसरी निर्वाचित हुनेमा प्रत्येक प्रदेशबाट दुई/दुई जना महिला हुने प्रावधान प्रस्तावित छ । यसले गर्दा राष्ट्रिय सभामा कम्तिमा २१ जना महिला अनिवार्य निर्वाचित हुनेछन् ।

नागारिकताको सम्बन्धमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले अंगिकृत नागरिकता प्रदान गरिने छ । नागरिकता प्राप्त गर्न त्यस्ता महिलाले सम्बन्धित मुलुकको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्नेछ ।

संविधान जारी गर्दादेखि नै मधेसी दलहरुले आफूले भने अनुसार नभएको भन्दै आन्दोलन गरिरहेका छन् । उनीहरुकै मागलाई समर्थन गर्दै भारतले नाकाबन्दी समेत लगायो ।

उनीहरुकै माग सम्बोधन गर्न भन्दै यसअघि पनि संविधानको पहिलो संशोधन भइसकेको छ । तर त्यसमा पनि मधेसी दलहरुले चित्त नबुझाएपछि प्रदेशको सिमा नै फेरबदल गर्नेगरी पुन: अर्को प्रस्ताव आएको हो ।


Previous
Next Post »