प्रमुख दलको बैठकमा कुरा मिलेन, प्रचण्डले राखेको प्रस्ताव एमालेद्धारा अस्वीकार

प्रमुख दलको बैठकमा कुरा मिलेन, प्रचण्डले राखेको प्रस्ताव एमालेद्धारा अस्वीकार


काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको प्रमुख दलको बैठक निष्कर्षविहिन बनेको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले अब निर्वाचनमा जाऔं भन्ने प्रस्ताव राखेका थिए । तर, एमालेका नेताहरुले अहिलेको अस्थिर अवस्थामा चुनावमा जान नसकिने जवाफ दिएर हिडेपछि बैठक निष्कर्षविहिन बन्यो ।
‘संविधान संशोधन प्रस्ताव संसदमा पेस गरेर देशमा जबरजस्त अस्थिरता निम्त्याएका प्रधानमन्त्रीबाट निर्वाचनको प्रस्ताव आयो,’ बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भने- ‘जवाफमा हामीले चुनाव हाम्रो एजेण्डा नै हो । जान तयार छौं भन्यौं । तर, अहिलेको अस्थिर अवस्थामा कसरी गर्ने, स्थानीय पहिला गर्ने कि संसदीय भन्ने विषयमा उहाँहरुले स्पष्ट नपारेपछि सरकारको चुनाव गराउने नियत नरहेको पायौं ।’
नेता रावलले संविधान संशोधन प्रस्तावमार्फत देशमा द्वन्द्व चर्काएर निर्वाचनको कुरा ल्याउनु शंकास्पद रहेको समेत बताए । ‘हामी चुनावको बाधक होइनौं । तर, जसरी अहिले जनभावना विपरित संविधान संशोधन प्रस्तावलाई संसदमा दर्ता गराएर निर्वाचनको कुरो आयो यो शंकास्पद छ,’ उनले भने ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापाले पनि निर्वाचनमा मिलेर जानुपर्ने प्रस्ताव राखेका थिए ।

Previous
Next Post »