स्थानीय तहबारे अन्तिम समयमापनि सहमति जुटेन

स्थानीय तहबारे अन्तिम समयमापनि सहमति जुटेन


सिन्धुली,२३कात्तिक – राजनीतिक दलहरुविच सहमति जुट्न नसक्दा सिन्धुलीमा स्थानीय तह पूनःसंरचनाको टुंगो लाग्न सकेन । राज्य पूनःसंरचना आयोगले न्यूनतम र अधिकत्म संख्या राखि गाउँ पालिका र नगरपालिका सिफारिस गर्न सोमवारसम्म अन्तिम समय दिएको थियो ।



अयोगले दिएको समय सिमा भित्र जिल्लामा दुई पटक प्राविधिक समितिको बैठक वस्नु भन्दा बाहेक अरु काम हुन नसकेको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकिय अधिकृत मदनवहादुर थिङले बताए । 

सिन्धुलीका दलहरुविच सहमति जुटन नसकेकाले आयोगले दिएको समय सिमा भित्र प्रतिवेदन बुझाउन नसकिएको उनको भनाई छ । दलहरु सवै आ—आफ्नै अडानमा रहेकाले समस्या उत्पन्न भएको हो ।

यस भन्दा पहिला सिन्धुलीलाई २ नगरपालिका र ७ गाउँपालिका बनाउने दलिय सहमति बनेको थियो । यता आयोगले अधिक्तम ८ वटा स्थानीय निकाय सिफारिस गर्न भनेको थियो । पछिल्लो समयमा आएर दलहरु एक आपसमा नमिल्दा अव सिन्धुलीमा २ नगरपालीका सहित ६ गाउँपालिका हुने निश्चित भएको छ ।

दलिय सहमति नजुटेपनि सिन्धुलीमा स्थानीय विकास अधिकारीले जिम्मेवारी नलिदा आयोगले दिएको समयसिमा सकिएको नेपालि काँग्रेस सिन्धुलीका सभापति उज्वल बरालले बताए । स्थानीय विकास अधिकारीको अध्यक्षतामा समिति भएपनि अहिले सम्म बैठक नबोलाईकन समय सिमा सकिएको उनको भनाइ छ । यदि दलिय छलफल भएको भए नेपाली काँग्रेस सिन्धुलीमा २ नगरपालीका र ९ गाउँ पालिका बनाउनु पर्छ भन्ने पक्षमा रहेको बरालले भने ।

इलाकालाई आधार मान्दा १३ वटा इलाका रहेको र २ इलाका हटाउदा ११ वटा स्थानीय तह बनाइने उनले बताए । सिन्धुलीको भुगोललाई मध्यनजर गर्दै जनतालाई सहज हुनेगरी सिन्धुलीलाई ११ वटा स्थानीय तह बनाईनु पर्ने बरालको भनाई छ ।

आफुहरु आयोगले दिएको सिमा भित्र नै रहेर स्थानीय तह पूनःसंरचनाको सिफारिस गर्न तयार रहेको भएपनि अन्य दलहरुविच सहमति वन्न नसकेको नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदिप कटुवालले वताए । जिल्लामा धेरै गाउँ पालिका र नगरपालिका वनाउदाँ राज्यले खर्च धान्न नसक्ने भन्दै उनले जति सक्दो थोरैको संख्यामा स्थानीय तह बनाउने पक्षमा आफुहरु रहेको कटुवालले भने ।

यता यस भन्दा अगाडी नै दलहरु, नागरिक समाज, लगायत सवैका विचमा सहमति गरी सिन्धुलीमा ९ वटा स्थानीय तह बनाउन प्रस्ताव गरि सकेकाले नेकपा माओवादी केन्द्र त्यही अडानमा रहेको केन्द्रका जिल्ला संयोजक राजन दाहालले बताए । जिल्लाको भुगोलको कारणले गर्दा त्यो भन्दा थोरैको संख्यामा स्थानीय तह बनाउन कठिन हुने उनको तर्क रहेको छ ।

आयोगले भने सिन्धुलीमा न्यूनतम ५ देखि अधितम ८ वटा सम्म स्थानीय तह बनाउन सकिने भन्दै सोही अनुसारको प्रस्ताव पेस गर्न भनेको थियो । 

Previous
Next Post »