राष्ट्रियताको रक्षा तथा हिन्दुराष्ट्रको पुर्नस्थापनाको लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच एकीकरणको घोषणा गरिएको छ ।

राष्ट्रियताको रक्षा तथा हिन्दुराष्ट्रको पुर्नस्थापनाको लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच एकीकरणको घोषणा गरिएको छ । 

सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित एक भव्य कार्यक्रमकाबीच राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले पार्टी एकताको औपचारिक घोषणा गरे। एकतापछि पार्टीको नाम राप्रपा राखिएको छ भने यसअघि राप्रपा नेपालले प्रयोगमा ल्याएको झण्डालाई पार्टीको आधिकारिक झण्डा बनाइएको छ ।
पार्टी एकता घोषणासभामा बोल्दै नेताहरुले एकतापछि राप्रपा वैकल्पिक राजनीतिक शक्ति बनेको र आगामी निर्वाचनबाट पार्टीलाई पहिलो शक्ति बनाउने गरी अघि बढ्ने उद्घोष गरे ।
यस्तै उनीहरुले सबै राष्ट्रवादी, उदारवादी, हिन्दुवादी शक्ति र व्यक्तिलाई पार्टीमा आवद्ध हुन अपिल गर्दै अहिलेको आवश्यकता स्थीर र समृद्ध नेपाल निर्माण भएकाले पार्टी त्यसतर्फ उच्च महत्वका साथ अघि बढ्ने उद्घोष गरे ।
घोषणासभाबाट राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणालाई घोषित गरियो भने पार्टी अध्यक्षमा कमल थापालाई गरियो ।

सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले राप्रपामा मुलुकले भरोसा गरेका व्यक्तिहरु रहेको बताउँदै भने, ‘राप्रपामा मुलुकले भरोसा गर्न सक्ने व्यक्तित्वहरु हुनुहुन्छ, तर राजनीतिक आरोह–अवरोहका कारण ओझेलमा पर्नु भएका उहाँहरु अब फेरि सक्रिय हुने बेला आएको छ ।’
उनले देशमा विभिन्न राजनीतिक व्यवस्था भएपनि विखण्डनको विउ कतैबाट नआएको तर पछिल्लो समय वैदेशिक चलखेलमा विखण्डनको गन्ध देखिन थालेको भन्दै आक्रोश पोखे। ‘जुनसुकै राजनीतिक व्यवस्था भएपनि देश टुक्र्याउने, विखण्डनको गन्ध आउने काम कहिँ कतैबाट भएको थिएन’, थापाले भने, ‘अहिले भयंकर अवस्थाको सुर्जना भएको छ, यसले गम्भीर खतरा निम्त्याउन सक्छ ।’

देशमा आत्मसमर्पणवादी मानसिकता हाबी भएको भन्दै त्यो एकखालको राष्ट्रघात नै हो भन्दै थापाले त्यसविरुद्ध संघर्ष गर्न पनि राष्ट्रवादी शक्ति एक भएको बताए ।

देशको भद्रगोल अवस्थाका कारण दैनिक २ हजार बढी नेपाली विदेशिन बाध्य हुने गरेको यथार्थ औंल्याउँदै थापाले यो अवस्थालाई रोक्ने खालको नीति राप्रपाले अवलम्बन गर्ने बताए ।
उनले गणतन्त्र स्थापनापछि तत्कालिन राप्रपा नेपाललाई अपमान गरिएको प्रति संकेत गर्दै भने, हामीलाई धेरैले हेपेका छन्, अब गरेर देखाउनु छ, इख नभएको मान्छे र विष नभएको सर्पको काम छैन ।’
उनले अब जनताको भावना अनुसार राप्रपाले काम गर्ने भन्दै कसैले पनि शिर निहुर्याउनु पर्ने अवस्था नरहने बताए । उनले भने, ‘अब कसैले शिर निहुर्याउनु पर्ने छैन ।’

कार्यक्रममा राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले कुनै पनि हालतमा देशलाई हिन्दुराष्ट्र बनाइनु पर्ने भन्दै त्यसका लागि पार्टी धर्म युद्ध गर्न पनि तयार रहने बताए । उनले भने, ‘संविधानमा हिन्दुराष्ट्रको व्यवस्था किटेर लेखिनुपर्छ । आँट छ भने जनमत संग्रह गर हैन भने हिन्दुवादीहरु धर्मयुद्धमा उत्रिन तयार छन् ।’

उनले देशको विग्रदो राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई बचाउन दुई राप्रपा एकजुट भएको उल्लेख गर्दै यसबाहेक देशभरका कार्यकर्ता र जनताको चाहना पनि भएको उल्लेख गरे ।
उनले दुई र दुई जोड्दा सँधै ४ नहुने भन्दै राजनीतिमा २ र २ ८ समेत हुने भन्दै अब राप्रपा नेपाल आक्रामक ढंगले राष्ट्रियताको पक्षमा लाग्दैपपहिलो शक्ति बन्ने दिशातिर उन्मुख भएको दाबी गरे ।

अर्का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पूर्वपञ्चहरुको पार्टीमा छिर्की हान्ने प्रवित्ति रहेको पटक पटक दोहोर्याउँदै यस्तो प्रबृत्तिको अन्त्य भएका पार्टी बलियो हुन सक्ने बताए ।
यस्तै अर्का वरिष्ठ नेता विश्वबन्धु थापाले पटक पटक राप्रपा फुटेको स्मरण गर्दै आफूले चाहेको एकता भएको र अब बाचुन्जेल आफूले यस्तो गल्ती आफूले देख्न नपर्ने विश्वास व्यक्त गरे ।
अर्का नेता डा प्रकाशचन्द्र लोहनीले पार्टीलाई प्रजातान्त्रिक ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै राप्रपा निर्माणका क्रममा भोगेका सास्तीबारे समेत स्मरण गरे ।
सो अवसरमा नेताहरु राजीव पराजुली, दीपक बोहरा, धवल शमशेर राणा, कुन्ती शाही, मिरा राणा, राजेन्द्र लिंदेनलगायतले राष्ट्रियता कमजोर भएको बेला एकता हुनुले प्रजातन्त्रलाई सुदृढ बनाउन मद्यत पुग्ने विस्वास व्यक्त गरे ।

दल दर्ता प्रक्रिया अघि बढ्यो
दुई पार्टी एकीकरण भएर गठन भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगमा नयाँ दल दर्ता प्रक्रिया अघि बढाएको छ ।

सोमबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको घोषणा भएलगत्तै दुवै दलले निर्वाचन आयोगमा नयाँ दल दर्ता प्रक्रियाका लागि निवेदन दिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता किरण गिरीले एकता घोषणासँगै ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ दर्ताको प्रक्रियाका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिए ।

निर्वाचन आयोग ऐन २०६३ को धारा २२ को उपधारा १ बमोजिम दल दर्ताका लागि एकीकृत पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र पार्टी अध्यक्ष कमल थापाले संयुक्त रुपमा निवेदन दिएका हुन् ।
Previous
Next Post »