एमाले उपाध्यक्ष रावलको चियापान पत्रकारले बहिष्कार गरे

एमाले उपाध्यक्ष रावलको चियापान पत्रकारले बहिष्कार गरे



धनगढीः नेकपा एमाले उपाध्यक्ष भीम रावल प्रमुख अथिति रहेको नेकपा एमाले कैलालीको चियापान समारोह धनगढीका क्रियाशिल पत्रकारहरुले बहिस्कार गरेका छन्।
यसअघि उपाध्यक्ष भीम रावलकै उपस्थितिमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीले पत्रकारहरुमाथि पार्टी कार्यालयमै आक्रमणको शैलीमा दुब्र्यवहार गरेकाले धनगढीका पत्रकारहरुले आइतबार आयोजना गरिएको चियापान समारोह बहिस्कार गरेका हुन्।
नेकपा एमालेले आइतबार पार्टीका उपाध्यक्ष भीम रावललाई प्रमुख अथिति बनाउँदै पार्टी कार्यालयमै चियापान समारोहको आयोजना गरेको हो। असोज २ गते एमाले प्रदेश नम्बर ७ को बैठकका निर्णयहरु सार्वजनिक गर्ने भन्दै प्रदेश नम्बर ७ का इञ्चार्ज समेत रहेका उपाध्यक्ष रावलकै प्रमुख आतिथ्यतामा गरिएको पत्रकार सम्मेलन सकिएपछि जिल्ला अध्यक्ष दीर्घ सोडारीले अन्नपूर्ण पोष्टका कैलाली सम्बाददाता शिबराज भट्ट र नागरिक दैनिकका पत्रकार दिलबहादुर छत्याललाई पार्टी कार्यालयमै आक्रमणको शैलीमा धम्काएका थिए।
एमाले अध्यक्ष सोडारीले आफ्नो घर नजिकको नाली निर्माणका लागि नक्कली उपभोक्ता समिति बनाएको समाचार अन्नपुर्ण पोष्टसहितका सञ्चारमाध्यममा प्रकाशन प्रसारण भएपछि प्रतिशोधमा पत्रकारहरुमाथि दुब्र्यहार गरिएको थियो। समाचार आएपछि धनगढी उपमहानगरपालिकाले सोडारीले मनोमानीरुपमा गठन गरेको उपभोक्ता समिति विघटन गरेको थियो।
पत्रकारहरुमाथि पार्टी कार्यालयमै दुब्र्यवहार हुँदा पनि कुनै चासो नलिएका कारण उपाध्यक्ष भीम रावल सहभागि चियापान समारोह बहिस्कार गरिएको नागरिक दैनिकका पत्रकार दिलबहादुर छत्यालले बताए। एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारीले पत्रकारमाथि दुब्र्यवहार गरेको र जिम्मेवार केन्द्रीय उपाध्यक्ष रावल, पोलिटब्युरो सदस्य कर्ण थापा र केन्द्रीय सदस्य झपट रावलसहितका नेताहरुले पनि कुनै चासो नदिएकाले चियापान समारोहमा नगएको कान्तिपुरका पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष डिआर पन्तले बताए।
पत्रकारहरुमाथि दुब्र्यवहार हुँदा पार्टीका केन्द्रीय नेताहरुलेसमेत कुनै चासो नलिएको भन्दै कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, दिनेश एफएम, एसडीएस टेलीभिजन, बी टिभी, पश्चिम टुडे दैनिक र एफएम, सुदूर सन्देश दैनिक र एफएम, न्युज २४, कान्तिपुर टिभी र विविसिमा कार्यरत पत्रकारहरु चियापानमा सहमागि भएनन्।

Previous
Next Post »