ओलीले मुखर्जीलाई भनेः संविधान कार्यान्वयनमा विदेशी चासो अनावश्यक

ओलीले मुखर्जीलाई भनेः संविधान कार्यान्वयनमा विदेशी चासो अनावश्यक


काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा संविधान कार्यान्वयनको विषयमा भारतले चासो राखेकोप्रति भारतीय राष्ट्रपतिसँग आपत्ति जनाएका छन् ।

बुधबार भारतीय राजदूतावासले लैनचौरमा गरेको समारोहमा निम्तो पाएर पनि उपस्थित नभएका ओलीले बिहीबार नेपालको तीनदिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँगको शिष्टाचार भेटमा यस्तो बताएका हुन् ।

ओलीले संविधान कार्यान्वयनको निम्ति प्रक्रिया अघि बढिरहेको बताउदै भारतप्रति घुमाउरो शैलीमा यो कसैको दबाबमा नभएर स्वतस्फूर्त रुपमा अगाडि बढ्ने प्रक्रिया भएको बताएका हुन् ।

मुखर्जी र ओलीबीच बिहीबार साँझ होटल ह्यातमा शिष्टाचार भेट भएको हो । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका पूर्वप्रधानमन्त्री ओलीले मुखर्जीलाई भ्रमण सफलताको शुभकामना समेत दिए ।

मुखर्जीले समेत भारतले नेपालमा राजनीतिक स्थिरता रहेको देख्न चाहेको बताएका छन् । मुखर्जीले संविधान कार्यान्वयनका विषयमा प्रक्रिया अघि बढेकोप्रति खुशी व्यक्त गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए ।

भारतप्रति ओली रुष्ट भएको थहा पाएका मुखर्जी ओलीसँगको भेटमा प्रशन्न मुहारमा उपस्थित थिए । मुखर्जीले ओलीको भारतप्रतिको आक्रोश नियन्त्रण गर्न केही बढी नै उत्साहीत भएर कुराकानी गरे ।

ओली नेतृत्वको सरकार गिराउनमा भारतले खेल खेलेको आरोप लगाउदै प्रधानमन्त्री पदबाट बाहिरिएपछि ओली भारतसँग रुष्ट बन्दै आएका छन् । ओलीले प्रधानमन्त्रीपदबाट बाहिरिएपछि भारतीय दूतावासमा भएका सबै कार्यक्रम बहिष्कार गर्दै आएका छन् ।

सोही अनुसार बुधबार आयोजित समारोहलाई समेत ओलीले बहिष्कार गरेका थिए । भारतीय राष्ट्रपति उपस्थित हुने कार्यक्रमको बुधबार बहिष्कार गरे पनि ओली राष्ट्रपति र प्रधानमन्त्रीले भारतीय राष्ट्रपतिका लागि गरेका रात्रीभोजमा भने सहभागी हुँदै आएका छन् ।
Previous
Next Post »