स्वातको बुद्ध मूर्ति जीर्णोद्धार

स्वातको बुद्ध मूर्ति जीर्णोद्धार


मंसिर ४, २०७३- सन् २००७ मा तालिवानको निसानामा परेको अफगानिस्तानको स्वात प्रान्तस्थित विशाल बुद्ध प्रतिमाले पुन: जीवन पाएको छ । इटाली दूतावासको सहयोगमा उक्त प्रतिमाको जीर्णोद्धार गरिएको हो । अब यसलाई स्वात संग्रहालयमा राखिनेछ । विशाल ढुंगामा बनाइएको यो मूर्ति सन् १९२६ मा सर ओरेल स्टिनमार्फत् पत्ता लागेको थियो ।

उक्त पद्मपाणी बुद्ध प्रतिमाको जीर्णोद्धारलाई तीन चरणमा पूरा गरिएको थियो । पहिले क्षतिग्रस्त भागलाई संरक्षण गरिएको थियो । पुराना तस्बिर र दस्तावेजको सहयोगले थ्रिडी डेटा तयार गरिएको थियो । त्यसैको मद्दतले बचेका ढुंगाबाट टाउको र काँधको भाग तयार गरिएको थियो । इटलीको पुरातत्त्व मिसनले युनिभर्सिटी अफ पडुवासँग मिलेर यस क्षेत्रको पुरातात्त्विक महत्त्वका क्षेत्रको सर्वेक्षण गरेको थियो । यसमा अफगानिस्तानको खैबर पख्तुनख्वाको पुरातत्त्व र म्युजियम विभाग पनि सामेल भएको थियो ।

सर्वेक्षणमा पहाडको शिखरमा एक विशाल बौद्ध मठको अवशेष पाइएको थियो । बुद्धको प्रतिमासम्म पुग्ने एक पुरातात्त्विक महत्त्वको सिँढी पनि पाइयो । यो पहाडमा एक स्तुप पनि पाइएको थियो । बोधिसत्व पद्मपाणीको मूर्ति, ध्यानका लागि गुफा, गुफाको ढोका, भित्तामा कोरिएका चित्र र पुरातात्त्विक महत्त्वका तीन बौद्ध शिला लेख र नजिकै एक विशाल स्तुप पाइएको थियो । इतिहासका अनुसार तिब्बती यात्री ज्ञान पाले सन् १२६० र १२८३ को बीच स्वातको भ्रमण गरेका थिए ।



Previous
Next Post »