नेपाली ज्योतिष अब विश्वव्यापी

नेपाली ज्योतिष अब विश्वव्यापी



धेरै ज्योतिषको जीवन राम्रो ज्ञानका बाबजुद पनि एउटै कोठामा अरूको चिना हेर्दै बित्ने गरेको छ, तर युवा ज्योतिष हरिहर अधिकारी यस्ता भाग्यमानी ज्योतिष हुन् जसले आफ्नो करियर दिन दुगुना रात चौगुनाको गतिमा अघि बढाइरहेका छन् । विज्ञान विषय पढ्दा–पढ्दै सात वर्षअघि ज्योतिष क्षेत्रमा प्रवेश गरेका हरिहरले नेसनल टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले हिमालय टेलिभिजन, रेडियो अडियो, क्लासिक एफएम, कान्तिपुर एफएम, भक्ति दर्शन टेलिभिजन हुँदै कान्तिपुर टेलिभिजनमा पुगेर ज्योतिषशास्त्रलाई आमजनतामाझ पुर्‍याए । 




उनको विज्ञानसम्मत अनुसन्धानका कारण दर्शकहरू पनि बढ्दै गए । ज्योतिषलाई नयाँ शैलीमा प्रस्तुत गरेकै कारण अधिकारीले लाखौं प्रशंसक कमाए । अधिकारी गएको वर्ष श्रीलंकामा बेस्ट एस्ट्रोलोजर अफ नेपाल तथा गएको जनवरीमा दुबईमा सम्पन्न ज्योतिष भेलामा बेस्ट एस्ट्रोलर अफ एसियाको पुरस्कारले सम्मानित भएका थिए । गएको वर्ष मात्र भारतमा उनले म्यान अफ दि इयर इन एस्ट्रोलोजीलगायत थुप्रै सम्मान पाएका थिए । 


फेसबुकमा उनका हजारौं फलोअर छन् । यही लोकप्रियता र ज्योतिषको विज्ञानसम्मत विश्लेषणका कारण अधिकारीलाई भारतको प्रसिद्ध टेलिभिजन केयर वर्डले ज्योतिषसम्बन्धी कार्यक्रमका लागि अनुबन्धन गरेको छ । विश्वका १ सय १२ देशका करिब एक अर्ब दर्शक भएको अनुमान गरिएको उक्त टेलिभिजनमा हरिहरको प्रवेशसँगै नेपाली ज्योतिषशास्त्रले नयाँ फड्को मारेको विश्वास गरिन्छ ।

तपाईंको उमेर भारतको चर्चित टेलिभिजनले पत्याउने किसिमको छैन, कसरी केयर वर्ड टेलिभिजनले पत्यायो ?
व्यवसायिक संस्थाहरूले उमेर होइन, ज्ञान, अनुसन्धान तथा अनुभव हेर्छन् । मैले गरेका कामलाई नजिकबाट नियालिरहनुभएका मेरा शुभचिन्तकहरूले भारतका केही टेलिभिजन संस्थालाई जानकारी गराइदिनुभएको रहेछ । अन्तर्राष्ट्रिय मञ्चहरूमा मैले पाएको सम्मान, रेडियो तथा टेलिभिजनहरूमा प्रस्तुत गरेको कार्यक्रम एवं अनुसन्धानले ती संस्थाका व्यवस्थाकपहरूको मन छोएछ । तीमध्ये केयर वर्डका उपाध्यक्ष अनुराग तेल्याङले नेपाल आएर मेरो विषयमा जानकारी संकलन गर्नुभएछ । मसँग भएको अनुभवलाई विश्वव्यापी गर्न सकिन्छ र त्यसले केयरवर्ड टेलिभिजनको गुडविललाई अझै बढाउन सक्छ भन्ने लागेर नै मलाई अनुबन्ध गरिएको हो । 



कतिपय नेपालीले तपाईंले हिन्दी भाषामा कार्यक्रम चलाएको मन पराएका छैनन्, 
के भन्नुहुन्छ ?
भारतका टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्दा नेपालीमा बोल्ने कुरा त आउँदैन । मैले त्यहाँका दर्शकहरूले बुझ्ने हिन्दी तथा अंग्रेजी भाषा नै प्रयोग गर्नुपर्छ । मेरो मुख्य लक्ष्य ज्योतिषशास्त्रलाई विश्वव्यापीकरण गर्ने हो । सबैभन्दा रमाइलो कुरा, धेरै नेपाली विभिन्न विषय पढ्न भारत जानुहुन्छ । म पढ्न होइन, ज्योतिष विद्या पढाउन भारत गएको हुँ । भारतमा ज्योतिष विद्याका नाममा करोडौं मानिस ठगिइरहेका छन् । त्यहाँ करिब ५० लाख ज्योतिष भएको अनुमान गरिन्छ । 



केयर वर्डको अध्ययनले ती ज्योतिषका कारण ज्योतिष विज्ञानकै विषयमा भ्रम परेको देखाएको छ । त्यसलाई चिर्न उनीहरूले विज्ञान पढेको र विभिन्न किसिमको वैज्ञानिक अध्ययन गरेको ज्योतिष खोजी गरिरहेका रहेछन् । ती गुण ममा पाएपछि मलाई अनुबन्ध गरिएको हो । हिजो मैले नेपाली टेलिभिजनमा काम गर्दा लाखौं मानिससँग जोडिएको थिएँ । अहिले म करोडौंमा ज्योतिषशास्त्रको यथार्थ बुझाउन लागिपरेको छु । मलाई लाग्छ, मैले कुन भाषा बोलेँ भन्दा पनि कहाँ बसेर के दिइरहेको छु र त्यसले नेपालीहरूको इज्जत कति बढिरहेको छ, त्यो महत्वपूर्ण हुन्छ ।



तपाईंको अबको लक्ष्य के हो ?
यो नेपाली ज्योतिषको विश्वव्यापी पहिचानको पहिलो पाइला हो । अब यसलाई विभिन्न पाटोबाट अघि बढाएर नेपालीहरूको ज्ञान विश्वमाझ पुर्‍याउने जमर्को गरिरहेको छु । चाँडै अंग्रेजी र नेपाली भाषामा विश्वस्तरको ज्योतिष विद्याको वैज्ञानिक तथ्यसहितको पुस्तक प्रकाशनमा ल्याउँछु । यसले हाम्रो प्राचीन गौरब पुन: मौलाउनेछ । यसको अर्थ म नेपाली जनताबाट टाढा हुन्न । म नेपालमा पनि आफ्नो सेवा सुचारु नै राख्नेछु । 



Previous
Next Post »