सत्ताधिकारको खोजी

सत्ताधिकारको खोजी

विभिन्न पहिचान र उपपहिचानमा बाँडिएकालाई साझा स्वार्थको आलोकमा राजनीतिले बाँधेको हुन्छ ।


कार्तिक १८, २०७३- कुनै पनि समाजमाथि शासन गर्नका लागि उक्त समाजभित्रको आन्तरिक भिन्नता जान्न जरुरी हुन्छ । सम्बन्धित समाजको संघटक तत्त्वलाई जान्नु, तिनको एकता र त्यसभित्रका भिन्नताको पहिचान गर्नु, भिन्नतालाई वर्गीकृत गर्नु र त्यसअनुरूप नीति निर्धारण गर्नु शासकीय महत्त्वाकांक्षाको अभिन्न अंग मानिन्छ । एकात्मक तथा बर्चस्वशाली जमातको शासन पद्धति भोग्दै आएको समाजमा यस्ता कुरालाई शासन नियन्त्रणको प्राथमिक पक्ष मानिन्छ । मधेसको सन्दर्भमा काठमाडौंले जहिले पनि यसको आन्तरिक विविधतातर्फ बढी सरोकार र उत्सुकता देखाउँछ, जतिखेर मधेसले एउटा साझा पहिचान तहगत राज्यसँगको सम्बन्ध निर्धारण गर्न उन्मुख हुन्छ । मधेसी एउटा बृहत्तर पहिचान हो, जो राज्यसँगको सम्बन्ध खोजी गर्दा विकसित हुँदै आएको हो । निश्चित रूपमा मधेसी समाजभित्र पनि भाषा, धर्म, पृष्ठभूमि, क्षेत्रगत बसोबास, वर्णाश्रम व्यवस्था अनुसारको श्रेणीकरण जस्ता यथार्थ छन् । तर पनि पछिल्ला संघर्षमार्फत उसले आफूलाई एउटा बृहत्तर पहिचानको छातामुनि उभ्याउन सफल भएको छ ।



जाति मन्थन
मधेसी समाज अन्तरनिहित बहुलताका कारण विखण्डित भएर पनि नष्ट हुनबाट जोगिँदै आएको छ । सँगै यो पनि यथार्थ हो कि यसकै कारण सम्पूर्ण सामाजिक प्रक्रियामा अनेकन दुर्बलता पनि देखिने गरेको छ । यो विरोधाभासको अवस्था मधेसको सामथ्र्य पनि हो र रिक्तता पनि । आफ्नो दीर्घकालीन निरन्तरतामा मिथकले एउटा स्वतन्त्र अस्तित्व ग्रहण गरिहाल्छ । लामो परम्पराबाट मिथकले एउटा सामाजिक सच्चाइको स्वरूप लिन्छ । मूलत: यो अस्तित्व कुनै पनि समुदायको सामुहिक कल्पनाभन्दा बढी केही हुँदैन । वर्ण व्यवस्था र जाति व्यवस्थासँग जोडिएर जुन मिथकहरू आएका छन्, जो मधेसी समाजको सबैभन्दा गहिरो विभेद र विभाजनको कारक पनि हो । कस्तोसम्म हुँदोरहेछ भने मूलसँगको सामिप्यप्रतिको अन्धविश्वासले गर्दा एउटै जाति विशेषमा पनि फरक–फरक खोल्साको खोजीको उपक्रम तथा भिन्नताको अनुभूति गरिन्छ ।

जाति अहिलेका लागि मधेसको सामाजिक वास्तविकता हो । जातिगत पहिचान वर्गीय पहिचानभन्दा पनि गहिरो छ । वर्गीय स्थिति परिवर्तनशील हुन्छ । वर्गीय अवस्था आरोहणमुखी पनि हुनसक्छ । भन्न खोजेको के हो भने आर्थिक अवस्था कमजोर रहेका वर्ग उद्यम र अवसरको कारणले तहगत परिवर्तन ल्याउन सक्छ । तर जातिको महाव्याधि यति गहिरो छ कि यसले जहिले पनि पछ्याइरहेको हुन्छ । त्यसैले मधेसमा ताजा सुरुवातका लागि केन्द्रसँगको सम्बन्धबारे नयाँ व्याकरण त लेखिनैपर्छ । समानान्तरमा स्वयं आफ्नै आन्तरिक संरचनामा समतामुखी वास्तुको खोजी गरिनुपर्छ । यो विमर्शको अहिले नै आवश्यकता छ ।

कतिपयले भन्छन्– पहिला काठमाडौंसँग पछ्र्योट गरिहालौं, त्यसपछि आन्तरिक व्यवस्थापन गर्दै गरौंला । कोही भन्छन्–उत्तराधिकारमा प्राप्त सामाजिक जडतालाई जरोच्छेदन गर्न सामाजिक आन्दोलन नै हुनुपर्छ, यो राजनीतिक सरोकारको विषय होइन । अर्को पनि दृष्टि छ, यसबारे राजनीतिक पहलकदमी नै हुनुपर्छ, जसले सामाजिक अन्यायको हिसाब—किताब राजनीतिक रूपमै मिलान गर्छ र सामाजिक न्यायको प्रत्याभूति दिन्छ । यसरी समस्यालाई व्यवस्थान गर्ने भिन्न–भिन्न दृष्टिकोण पाइन्छ । मलाई लाग्छ, समस्यालाई कुनै एउटा साँघुरो हिस्सामा मात्र नियालेर वा कुनै खास जाति विशेषको मात्र सरोकार हो भनी ठम्याएर यसको कुनै न्यायोचित निकास दिन सकिँदैन । यसलाई पुरै समाजको समस्या मानेर सामाजिक न्यायको हिसाबले निरुपण गर्नुपर्छ ।

राजनीतिमा जाति
मधेसी समाज र राजनीतिमा जातिलाई लिएर पछिल्ला महिनाहरूमा केही नयाँ बहस सुरु भएको छ । मधेसी आन्दोलनको क्रममा विभिन्न जातीय संगठनहरूले आफ्नो व्यानरमा सहभागिता देखायो । आन्दोलनको आयतनलाई व्यापक बनाउन तथा विभिन्न पक्षको सहभागिता जुटाउन आन्दोलनका रणनीतिकारहरूले पनि जातीय संगठनहरूको जुर्मुराहटलाई हौस्याए । त्यसको तात्कालिक दुइटा असर देखियो । पहिलो, छोटो प्रयत्नले आन्दोलनमा समाजका विभिन्न हिस्साको बहुकोणीय समर्थन र सहभागिता गाँसिन पुग्यो । दोस्रो, काठमाडौंलाई जवाफ फर्काउन सजिलो भयो, मधेसी समाज आफ्ना आन्तरिक विविधताका बाबजुद राज्यसँगको सम्बन्धको सवालमा एकैथलोमा छ ।

सडक आन्दोलनोपरान्त जातीय संगठनहरू राजनीतिक पुँजीका रूपमा अनुवाद गर्नुपर्ने लेखाजोखा हुनथाल्यो । कैयौं पक्षले विद्यमान राजनीतिक संगठनहरूभित्र विभिन्न जातिको बर्चस्व रहेको व्याख्या गर्दै समानान्तरमा थप जाति आधारित दल निर्माणको प्रासंगिकता हेर्न थाल्यो । भावी प्रदेशको संरचनामा विभिन्न जातिभित्र आफ्नो भोटबैंक बनाउने मनसुवा परिलक्षित हुनथाल्यो । विगतका चुनावमा पनि मधेसमा जातिगत एकजुटताका आधारमा कतिपय निर्वाचन क्षेत्रमा चुनाव जित्न सम्भव भएको पृष्ठभूमिमा प्रादेशिक राजनीतिलाई नयाँ मताकर्षणको प्रारूपमा हेर्ने रणनीति बन्न थाले ।

संक्रमणको तनाव
धरातलीय यथार्थ के हो भने जाति लोकतन्त्र र आधुनिकता, संघर्ष र पहिचानभन्दा पनि गह्रुंगो देखिन थाल्यो । उत्तर भारतमा खास जाति समूह वा जातिहरूको गठबन्धनले राजनीतिक लाभ लिँदै आएको उदाहरण जो छ । राजनीतिक अभिष्टका लागि खास जाति समूहहरूभित्र पनि नवसमूहको निर्माण गरी त्यसलाई आकर्षक नाम दिने उपक्रम हुँदै आएको छ । राजनीतिको त्यो प्रवृत्ति मधेसतिर पनि सार्ने र त्यस्ता मनसुवालाई गोडमेल गर्ने क्रम सुरु भएको छ । कस्तोसम्म पनि भइरहेको छ भने जातिभित्र पनि उपजाति अस्मिताको खोजी तथा त्यसका आधारमा आफ्नो नेतृत्वलाई पुष्टि गर्ने खेल खेलिन्छ । पहाडी समुदायका विभिन्न जातिभित्र अनेकौं गोत्र र थरहरूको आधारमा संगठित हुने र त्यसको बहुप्रयोजनीय लाभ लिने गरेको सिको गर्दै यतातिर पनि त्यो प्रवृत्ति संक्रमित भएको छ ।

मधेसमा आफ्नो जनसंख्याको तुलनामा राजनीतिमा उच्च जातिहरू अहिले पनि अवसर बढी लिइरहेका छन् । सँगै पछिल्लो चुनावले दर्शाएको तथ्य के हो भने श्रेणीगत उच्च कहलिनेहरू चुनावी राजनीतिमा विस्थापित हुँदैछन् । त्यसको ठाउँ नयाँ श्रेणी समूहले लिने गरेको छ । कतिपय क्षेत्रमा दलित अस्मिता र पिछडा वर्ग अस्मिताबीच पनि संघर्षका विन्दुहरू परिलक्षित भइराखेका छन् । कथित उपल्ला जाति गाउँबाट सहरतिर लागेका छन् वा स्थानीय सत्तातन्त्रमा तिनको प्रभाव विस्तारै खस्किँदैछ । कुनै जाति विशेषको आक्रामकता वा अतिक्रमणताको प्रतिरोधमा अन्य जाति समूहहरू संगठित पनि हुँदै गइरहेका छन् । यसले कतिपय ठाउँमा सामाजिक टकरावका चिन्ह देख्न थालिएका छन् । कतै श्रेष्ठतालाई सुरक्षित पार्ने र आफ्ना पूर्वाग्रहलाई कायम राख्न गोलबन्द हुने क्रम सुरु भएको छ । यस्तो समस्या मधेसभित्रको विभिन्न पहिचान समूहभित्र देखिएको छ ।

एकीकृत पार्ने तत्त्व
लोकतान्त्रिक राजनीतिले नै आधुनिक समाजलाई एकीकृत पारेर राख्न सक्छ । आन्तरिक तनावलाई व्यवस्थापन गर्दै भविष्यप्रतिको प्रत्याभूति दिलाउन सक्छ । विगतका अन्याय होस् वा असुरक्षाबोधको मनोविज्ञान त्यसलाई तिरोहित पार्ने जवाफदेही राजनीतिले नै हो । लोकतान्त्रिक राजनीतिले दलीय संगठनभित्र पनि समावेशी स्वरूपलाई स्थायी चरित्रको रूपमा विकसित गर्छ । वैकल्पिक नेतृत्वको विकास क्रमलाई प्रोत्साहित गर्छ । निर्णय प्रक्रियालाई समन्वयकारी बनाउँछ । दलगत संरचना विभिन्न स्वरूपमा भए पनि तहगत श्रेणीको निर्णायकत्वलाई स्वीकार गरिएको हुन्छ । विभिन्न पहिचान र उपपहिचानमा बाँडिएकालाई साझा स्वार्थको आलोकमा राजनीतिले बाँधेको हुन्छ । विभिन्न अभिलासा र आकांक्षालाई प्रकट हुने अवसर दिन्छ र त्यसभित्र आवेगभन्दा पनि तार्किकताको खोजीलाई प्रश्रय दिन्छ । यसै प्रक्रियाले समाज आन्तरिक तनाव, टकराव र विखराव हुनबाट जोगिन्छ र सामुदायिक ऐक्यबद्धताको प्रतिनिधित्व भइराख्छ । अहिले मधेसी राजनीतिमा यस्तै प्रयत्नको आवश्यकता छ । राज्यसँग प्राप्त नहुँदै उपलब्धिको भाँडो खोसाखोस गर्न थाल्यो भने समुदायभित्रका चतुर खेलाडीहरूले त्यसलाई काठमाडौंमै रित्तो पार्नेछन् । विगतमा पनि थोरबहुत त्यस्तै भएको उदाहरण नभएको होइन ।

विभिन्न कारणले कथित निम्न श्रेणीसम्म जागरुकता आउँदै गएको छ । उच्च श्रेणी इत्तर पनि मध्य वर्गको विकास भएको छ । तिनले जनसंख्या त हुँदै हो, आर्थिक र शैक्षिक तागतले पनि धक्का दिने हैसियत बनाउँदै गएको छ । यो बदलिएको सामाजिक इन्जिनियरिङले उपल्लो भनाउनेलाई बर्चस्ववादी नबन भनी जनाउ दिएको छ । सत्तामा पुग्न नयाँ समूहहरूलाई बाटो खुलेको छ । त्यो देखेर निम्न श्रेणीका भनिएकाहरूमा बल्ल सपना देख्ने क्रम सुरु भएको छ । उसो त अहिले पनि एउटा दलितलाई प्रत्यक्ष निर्वाचनमा चुनाव जित्न कम सामाजिक चुनौती छैन । भन्न खोजिएको के हो भने राजनीति ‘सिफ्ट’ हुने क्रममा छ । यसका सुखद सम्भावना पनि छन् र जोगिनुपर्ने चुनौती पनि छन् ।

 सत्ताधिकारको श्रेष्ठता
मधेसी समाजमा जति विषमता छ, जति आन्तरिक उत्पीडन छ, त्यसलाई हटाउन कैयौं प्रत्यक्ष र अप्रत्यक्ष काम भएका छन् । तर समाज विज्ञानी वा इतिहासकारहरूले त्यसको सही पहिचान र मूल्यांकन गर्न सकेनन् । राणा विरोधी आन्दोलनलाई कांग्रेस केन्द्रित आन्दोलनमा परिभाषित गरियो भने किसान आन्दोलनलाई फगत वाम आन्दोलन ठहर्‍याइयो । राणा विरोधी आन्दोलनलाई नै प्रारम्भविन्दु मान्ने हो भने त्यहाँदेखि तेस्रो मधेस आन्दोलनसम्म सामाजिक आन्दोलनहरू राजनीतिक आवरणमा भइरहेको पाइन्छ वा यो भनौं राजनीतिक आन्दोलनले सामाजिक बदलावलाई पनि गति दिएको छ । नयाँ हाँक र हौसला दिएको छ । बीच—बीचमा क्षेत्रगत सामाजिक हस्तक्षेप पनि मुखर भएर आएका छन् । अर्थात मधेसी समाजको आन्तरिक जातीय जडता पुरानो विन्दुमा छैन, अहिले ।

जातीय असुरक्षा वा जातीय आरोहणको मनोविज्ञानले एउटा यस्तो नेतृत्वको खोजी गर्छ, जसले केवल सत्ताधिकारको प्रतीक बनेर आफूलाई उभ्याओस्, त्यतिखेर शीर्षस्थानमा पुगेका पात्रबाट नैतिकता, विचारधारा वा विकासको कुनै ताल्लुकात राखिँदैन । सम्बन्धित जातीय समूह यसैमा मख्ख हुन्छन्, हाम्रोबाट समेत नेतृत्वमा कोही पुगेको छ । यो अवस्थाले मूलत: त्यो जाति विशेषको पनि बृहत्तर रूपमा भलो गर्दैन । यस्ता कुराबारे छठ पर्वको मौकाले आन्तरिक विमर्श जुराएको छ । छठ पर्व एउटा प्रगतिशील पर्व हो, जहाँ कुनै पुरोहित हुँदैनन्, लैंगिक समानतालाई अग्ल्याउँछ, कथित तल्लो श्रेणीको सहयोगविना अनुष्ठान सम्भव हुँदैन र जलाशयको तटमा कुनै पनि श्रेणी हुँदैन । सामाजिक न्यायसँग जोडिएको छठले कुनै जाति विशेषमा असुरक्षा वा आक्रामकता हुनबाट जोगाउँदै मध्यमार्गी लोकतान्त्रिक धारको सूर्य (जसको किरण सबैका लागि बिना छेकबारका हुन्छन्) को अभिनन्दन गर्नु नै समयको माग हो ।


प्रकाशित: कार्तिक १८, २०७३


Previous
Next Post »