अमेरिकी राष्ट्रपति निर्वाचनका केही रोचक तथ्य

अमेरिकी राष्ट्रपति निर्वाचनका केही रोचक तथ्य

प्रचार अभियान तीव्र
-

कार्तिक २०, २०७३- अमेरिकामा सर्वेक्षणहरूले राष्ट्रपतीय निर्वाचनको दौड अपेक्षा गरेभन्दा बढी प्रतिस्पर्धी देखाएपछि डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीले आफ्ना प्रचार अभियान थप तीव्र पारेका छन् । अमेरिकामा आगामी मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदै छ । 

दुवै उम्मेदवारहरू हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले कुन पक्षमा भनेर प्रस्ट भईनसकेका राज्यलाई लक्षित गर्दै लगातार चुनावी अभियान सञ्चालन गरिरहेका छन् । ट्रम्पका पूर्वप्रतिद्वन्द्वी टेड क्रुजले आइओबामा आफ्ना समर्थकहरूलाई रिपब्लिकन उम्मेदवारको पक्षमा मतदानका लागि आह्वान गरेका छन् । 



नर्थ क्यारोलाइनामा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले ट्रम्प राष्ट्रपतिमा चुनिए राष्ट्रिय सुरक्षाका लागि खतरा हुने चेतावनी दिएकी छन् । उनले ट्रम्प एकदमै सतही रहेको उल्लेख गर्दै उनका विचारहरू अविश्वसनीय रूृपमा खतरनाक रहेको बताइन् । 

डोनाल्ड ट्रम्पले पनि फ्लोरिडामा सम्बोधन गर्दै आफ्नो जित अवश्यंभावी भएको बताए । आफू र आफ्नो पार्टी जिततर्फ बढिरहेको उल्लेख गर्दै उनले आफ्नो जितपछि अमेरिकामा ठूलो परिवर्तन आउने दाबी गरेका छन् । दुवै उम्मेदवारको रेटिङमा कम अन्तर हुन थालेपछि राष्ट्रपति बाराक ओबामा पनि हिलारीको समर्थनमा उत्रन थालेका छन् । उनले फ्लोरिडामा डेमोक्रेटिक उम्मेदवारको पक्षमा मत खसाल्न आग्रह गरे । मियामीको सभामा उनले ट्रम्पको आलोचना गरे । 

अभियानमा ट्रम्प पत्नी पनि
निर्वाचन प्रचार अभियानमा विरलै मात्र देखिने डोनाल्ड ट्रम्प पत्नी मेलानियाले आफ्ना पतिले ‘निष्पक्ष अमेरिका’ बनाउने बताएकी छन् । फिलाडेल्फियाको ग्रामीण क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू प्रथम महिला भएमा ‘साइबर बदमासी’ विरुद्ध अभियान नै चलाउने बताइन् । उनले अमेरिकी महिला तथा बालबालिकाका पक्षमा वकालती सेवामा लाग्ने पनि बताइन् । उनले ‘पुराना संस्कार परिवर्तन गरी बालबालिका तथा किशोरकिशोरीमैत्री बनाउनु अपरिहार्य रहेको’ बताइन् । 

ओबामा सरकारप्रति व्यंग्य गर्दै उनले ‘एउटी १२ वर्षे निर्दोष किशोरी विद्यालय परिसरमै ख्यालठट्टा, धम्की वा दुव्र्यवहारको पात्र हुनुपर्ने क्रियाकलाप बारम्बार दोहोरिइरहेको’ उल्लेख गरिन् । ट्रम्प महिलाप्रति अनुदार रहेको धारणा पेन्सिलभेनियासहितका मुख्य मुख्य राज्यहरूमा विकसित भइरहेको समयमा मेलानियाको सम्बोधन आफ्नो पतिको चरित्रबारे 
स्पष्टीकरण दिने खालको रहेको टिप्पणी गरिएको छ । 

राजनीतिक बहसमा रोक 
न्युयोर्कको लङ आइल्यान्डस्थित साउथ ह्याम्पटन अस्पतालले आफ्नो कार्डियो रिह्याब युनिटको सभाकक्षमा निर्वाचनसम्बन्धी राजनीतिक बहस गर्न रोक लगाएको छ । अस्पतालमा उपचार गरिरहेका बिरामीको स्वास्थ्य स्थितिलाई ध्यानमा राखी उक्त निर्णय गरिएको अस्पतालकी प्रबन्धक जेसिका स्वाटोचाले जानकारी दिइन् । 

केही रोचक तथ्य 

    अमेरिकाको इन्डियानामा मतदान गर्न निश्चित समय तोकिएको छ । मतदाताले प्राइमरी निर्वाचनमा ३ मिनेट र आमनिर्वाचन तथा नगर निर्वाचनमा २ मिनेटभित्र चुनाव गरिसक्नुपर्छ । तर यो कानुन लागू भने भएको छैन । 
    अल्बामाको स्टेट कोडले मत दिन चार मिनेट छुट्याएको छ । कर्मचारीले मतदातालाई सहयोग आवश्यक छ कि छैन भनेर सोध्न सक्छन् । सहयोग चाहिए मतदाताले थप ५ मिनेट समय पाउँछन् । नचाहिए एक मिनेटमात्र पाउँछन् । लाइनमा कोही पनि नभए जति पनि समय पाउँछन् । 
    केन्टुकीको कानुनले ‘मूर्ख’ र विक्षिप्त व्यक्तिलाई मतदान गर्नबाट रोक लगाएको छ । 
    ७ वटा राज्यहरूले निर्वाचनको दिनभन्दा पहिल्यै दिएको मतलाई परिवर्तन गर्ने अधिकार मतदातालाई दिएका छन् । ४० प्रतिशतभन्दा बढी मतदाताले यस वर्षको सुरुमै मत दिएका थिए । 
    नेक्सजेन क्लाइमेट नामको राजनीतिक समूहले युवा मतदातालाई आकर्षित गर्न ५ वटा राज्यका मतदान केन्द्रमा कुकुर परिचालन गर्ने योजना बनाएको छ ।
    अमेरिकी कानुनले अन्तरिक्ष यात्रीलाई पनि मत दिने अधिकार दिएको छ । 


Previous
Next Post »