सहरमा कमाउन पठाउँछन् अभिभावक’

सहरमा कमाउन पठाउँछन् अभिभावक’

वसन्तपुर क्षेत्रमा विभिन्न सामग्री बेच्दै एक बालक ।
भाद्र २९, २०७३- हातमा बाँसको लामो भाटा लिएर उनी काठमाडौंका विभिन्न स्थानमा घुमिरहन्छन् । उक्त बाँसको भाटामा हावा भरिएको विभिन्न किसिमका खेलौना र खानेकुरा टाँगिएका हुन्छन् । खासगरी उनी असनचोक, इन्द्रचोक, खिचापोखरी क्षेत्रमा सामान कसैले किनिदियोस् भन्ने उद्देश्यले भौंतारिरहन्छन् । भर्खरै राजधानी छिरेका उनी टुटफुट नेपाली र बज्जिकामा सबैलाई सामान किनिदिन आग्रह गर्छन् ।

रौतहट मननपुरका १२ वर्षीय चन्द्रकिशोर पासवान (नाम परिवर्तित) पाँच महिना अघि मात्र राजधानी ‘ल्याइएका’ हुन् । बिहानै खाना खाएपछि उनी साहुले दिएको सामान बेच्न निस्किन्छन् र राति ८ बजेसम्म केही नखाइ निरन्तर साहुले अह्राएको काम गरिरहन्छन् । नगरपालिकाको कर्मचारीले वसन्तपुर दरबार क्षेत्रबाट लखेटे पनि उनीहरूका आँखा छलेर सामान बेच्न पुगिहाल्छन् ।

राजधानीमा ‘सेल्सकिड्स’ अर्थात् सरसामान बेच्ने बालकको रूपमा सक्रिय उनी एक्ला होइनन्, उनका साथीहरु पनि छन् । चिडियाखाना अगाडि खानेकुरा र खेलौना बेच्न बसेका सर्लाहीका १३ वर्षीय रामभरोस तत्मा(नाम परिवर्तित) यस्ता अर्का ‘सेल्सकिड’ हुन् । उनी पनि टुटेफुटेको नेपालीमा चिडियाखाना घुम्न आएका जोडि र बालबालिकाका अगाडि गएर सामान किनिदिन अनुरोध गरिरहेका थिए । बालबालिकाका खेल्ने सामग्री र खानेकुरा बेच्दै आएका उनीहरूका मूख्य खरिदकर्ता पनि बालबालिका नै हुन् । त्यही सामान उपयोग गर्ने उमेरमा उनीहरू उक्त सामान बेच्दै हिँड्छन् ।

उनीहरूजस्ता थुप्रै बालबालिका राजधानीका सडक, पर्यटकिय स्थल, होटेल आदिमा श्रम गरिरहेका देखिन्छन् । यस्ता कार्यमा विशेषगरि बालक संलग्न भेटिन्छन् । घामपानी नभनी दिनभरी भोकै सामान बेच्ने गरेका उनीहरू परिवारलाई आर्थिक मदत गर्न पैसा कमाउन श्रम गरेको बताउँछन् । 

पासवानका अनुसार आफ्नै गाउँका विश्वनाथ यादव नामक व्यक्तिले उनलाई यहाँ ल्याएका हुन् । काम लगाइदिने भनेर उनको परिवारलाई फकाएपछि पाँच कक्षा पढै गरेका चन्द्रकिशोर विश्वनाथसँगै काठमाडौं आए । उनले यो कार्य गरेबापत मासिक ४ हजार पाइरहेका छन् । तत्मा भने दुई वर्षदेखि यहाँ यो काम गरिरहेका छन्, जसबापत उनले ७ हजार पाउने गरेको सुनाउँछन् । गाउँकै दाइ पर्नेको संगतमा काठमाडौं आएका उनको पिताको मृत्यु भएपछि ‘परिवार धान्न’ उनी काठमाडौं आए । ‘आमा अर्काको खेतमा काम गर्छिन् । उनले बुढी भएँ पाल्न सक्दिन भनिन् अनि काठमाडौं आएँ,’ उनले सुनाए । 

परिवारको गरिबी र अशिक्षाको कारणले कमै उमेरमा ‘परिवार चलाउने’ जिम्मेवारीबाट दबिएका बालबालिकामा पासवान र तत्मा पर्छन् । शिक्षा र चेतनाको अभावले आफ्ना  बालबालिकालाई शहरमा काम गर्न र कमाउन पठाउने अधिकांश अभिभावक नै दोषी देखिने गरेको बालअधिकारका क्षेत्रमा संलग्न अधिकारकर्मीहरूको अनुभव छ । जोखिमपूर्ण कार्यका साथै श्रममा संलग्न बालबालिकालाई उद्धार गर्ने संस्था सम्बद्ध सर्लाहीकी बाल अधिकारकर्मी अम्बिका पौडेल अहिलेसम्मको अनुभवमा अधिकांश अभिभावकले नै कमाउन भनि बालबालिकालाई पठाउने गरेको बताउँछिन् । ‘११/१२ वर्ष पुग्नेबित्तिकै पढाउन छोडेर बालकहरूलाई श्रममा लगाउने र पैसा कमाउन घरबाट टाढा पठाउने गर्छन्,’ उनले भनिन्, ‘विशेषगरि दलित समुदायमा यस्तो प्रवृति देखिन्छ ।’ बालबालिकाको क्षेत्रमा न्यून लगानी भएकोले पनि यो क्षेत्रमा खासै प्रगती गर्न नसकिएको एक बालअधिकारकर्मीले बताए । ‘महिला तथा बालबालिका मन्त्रालय भए पनि खासमा त्यो महिला मन्त्रालय जस्तै छ । बालबालिकाको क्षेत्रमा आवश्यक रकम खर्च गर्न कञ्जुस्याईँ गरिएको देखिन्छ,’ उनले भने ।




Previous
Next Post »