नाम सम्मेलनमा भाग लिन उपराष्ट्रपति भेनेजुयला प्रस्थान गर्दै

नाम सम्मेलनमा भाग लिन उपराष्ट्रपति भेनेजुयला प्रस्थान गर्दै

भाद्र २९, २०७३- असंलग्न मुलुकको १७ औं शिखर सम्मेलनमा भाग लिन उपराष्ट्रपति नन्दबहादुर पुन मंगलबार भेनेजुएला प्रस्थान गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त सम्मेलनमा भाग लिने बताइएको भए पनि भारत भ्रमण परेका कारण उपराष्ट्रपति पुनलाई त्यहाँ पठाउने निर्णय सरकारले गरेको हो । 

अधिकांश सदस्य मुलुकहरुले भनेजुयलामा हुने नाम सम्मेलनमा सहभागि भएर राष्ट्रसंघिय महासभामा जानेगरि नै तालिका तय गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असंलग्न देशको सम्मेलनमा नजाने भएपछि त्यही समयमा प्रधानमन्त्री दाहाललाई दिल्ली भ्रमणको निमन्त्रणा दिएका थिए । अन्यथा दाहाल नाममा सहभागी हुँदै राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बताए । नेपाल असंलग्न मुलुकको संगठनको संस्थापक मुलुक हो । 

असंलग्न आन्दोलनको सम्मेलनमा कार्यकारीस्तरको सहभागिता रहने गरेकोमा अहिले आलंकारीक रुपमा उपराष्ट्रपति सहभागि हुन लागेका हुन् । शितयुद्धकालमा विश्व दुई ध्रुवमा बाँडिएपछि तटस्थत रहने मुलुकहरुले असंलग्न मुलुकको सम्मेलन शुरु गरेका थिए । अहिलेको विश्व परिवेशमा पनि यो तटस्थता चाहिएको अवस्थामा नेपालको कार्यकारीस्तरबाट सहभागिता नहुने भएको हो । 

असंलग्नताको महत्व पछिल्लो समयमा बढेकाले यो सम्मेलनमा परराष्ट्र मन्त्रीस्तरमा भए पनि सहभागिता आवश्यक रहेको विज्ञहरु बताउछन् । उपराष्ट्रपति सहभागि हुने भएपनि मन्त्री स्तरीय बैठकमा परराष्ट्रमन्त्रीको सहभागिता आवश्यक पर्ने थियो । मन्त्रिस्तरीय बैठकका लागि संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले नेतृत्व गर्ने भएका छन् । मन्त्रिस्तरीय बैठक बिहीबार र शुक्रबार हुँदैछ । शिखर सम्मेलन भेनेजुएलाको मार्ग्रता टाँपुमा आयोजना गरेको छ । यो सम्मेलन गत वर्ष नै हुने भनिए पनि अन्तरिक राजनीतिको कारण पछि सर्दै आएको हो । 

तीन दिन अघि नै परराष्ट्र मन्त्रालयमा संयुक्त राष्ट्रसंघ तथा अन्तराष्ट्रिसंगठन महाशाखा प्रमुख भरतराज पौड्याल र सोही शाखाका उपसचिव सुधीर भट्टराई त्यसतर्फ गएर प्रारम्भिक बैठकहरुमा सहभागिता जनाएका छन् । संयुक्त राष्ट्र स्थित नेपाली नियोगका मिनिस्टर काउन्सिलर घनश्याम लम्साल, नायब शिष्टाचार महापाल तेजबहादुर क्षेत्री, उपराष्ट्रपतिका स्वकीय सचिव तुलसी डाँगी, उपराष्ट्रपतिका सुरक्षाकर्मी उपराष्ट्रपतिको टोलीमा सहभागी छन् । 




Previous
Next Post »