आर्थिक अभावकै कारण उपचार नपाएर अब कसैले मर्नुपर्दैन: मन्त्री थापा


'विशिष्ठका नाममा राज्यले उपचारका लागि दिँदै आएको अनुदान रोक्नुपर्छ'


भाद्र २५, २०७३- स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापाले आर्थिक अभावकै कारण उपचार नपाएर अब कसैले पनि मर्नु नपर्ने बताएका छन् । 

शनिबार नेपाल स्वास्थ्यकर्मी संघ भक्तपुरले आयोजना गरेको वीपी कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजित ‘विपिको समाजवाद र नेपालको स्वास्थ्य सेवा विषयक’ विचार गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले उक्त धारणा व्यक्त गरेका हुन् । 

शिक्षण अस्पतालमा उपचारत मृगौलापीडितले आर्थिक अभावकै कारण झ्यालबाट हाम्फालेर आत्माहत्या गरेको सन्दर्भ जोड्दै मन्त्री थापाले भने, ‘आर्थिक संकट कै कारण कोही पनि नेपालीले उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, म त्यसका लागि लड्छु ।’

ठूला र विशिष्ठका नाममा राज्यले उपचारका लागि दिँदै आएको अनुदान रोक्नुपर्ने बताउँदै मन्त्री थापाले भने, ‘अन्यथा आमनागरिकलाई पनि अनुदानको व्यवस्था गर्नुपर्छ ।’ नेपाल मै गुणस्तरीय अस्पताल र राम्रा डाक्टर भएको चर्चा गर्दै मन्त्री थापाले नेपाल कै अस्पतालले उच्चस्तरीय सेवा दिन सक्षम भएको बताए । 

कार्यक्रममा मन्त्री थापाले आगामी तीन महिना भित्रै स्वास्थ्य बिमालाई कानुनी रुपमा पारित गर्ने पनि दाबा गरे । उनले खटाएका ठाउँमा नजाने चिकित्सक तथा कर्मचारीलाई कारवाही गर्ने पनि बताए । 

नेपालमा मातृ तथा बाल मृत्यु दर घटाउनमा स्वास्थ्य स्वयंसेविकाहरुको ठूलो भूमिका रहेको बताउँदै मन्त्री थापाले भने, ‘स्वास्थ्य स्वंमसेविकाको सेवा सुविधा बढाउन प्रतिबद्ध छु ।’


प्रकाशित: भाद्र २५, २०७३




Previous
Next Post »