पार्टीको कारबाहीपछि मुमारामले छाडे बाबुरामको नयाँ शक्ति

पार्टीको कारबाहीपछि मुमारामले छाडे बाबुरामको नयाँ शक्ति





आश्विन २१, २०७३- नयाँ शक्ति पार्टीका राजनीतिक संवाद समिति संयोजक मुमाराम खनालले दल परित्याग गरेको घोषणा गरेका छन् । शुक्रबार वक्तव्य निकाल्दै खनालले पार्टी नेतृत्वको निर्णय शैली र संगठन सञ्चालनमा अपारदर्शिता देखिएको, व्यक्ति केन्द्रित शैली अपनाइएको आरोप लगाउँदै पार्टीमा काम नगर्ने घोषणा गरेका हुन् । उनी विद्यार्थी इन्चार्ज पनि थिए ।

पाँचबुँदे प्रेस वक्तव्य निकाल्दै खनालले पार्टीमा विधि र प्रक्रिया अवलम्बन नगरी संयोजक र संगठन विभागको एक जना व्यक्तिको निर्णयमा केन्द्रीय परिषद् संख्या थप्दै ७ सय पुर्‍याइएको, माओवादीबाटै आएको समूहलाई प्राथमिकता दिइएको आरोप लगाएका छन् । 

‘कुनै अस्तित्व मात्र धान्ने दल निर्माण गर्ने र त्यसमा आफूलाई समावेश गर्ने मेरो कुनै अभिप्राय थिएन र छैन,’ उनले भने, ‘नयाँ शक्तिको राजनीतिक संगठन, चरित्र र संस्कृतिले विकल्प होइन, पूर्वमाओवादीकै निरन्तरताबाहेक अरू केही बोकेन । जसले गर्दा सीमित मात्रामा प्रवेश गरेका गैरमाओवादी सदस्य पनि नयाँ शक्तिमा टिक्न सक्ने कुनै वातावरण रहेन ।’ उनले कान्तिपुरसँग कुरा गर्दै आफू सक्रिय राजनीतिमा नै लाग्ने बताए । ‘म त्यत्तिकै बस्ने योजनामा छैन, सक्रिय राजनीति गर्छु,’ खनालले भने । 

कारबाही गरिएको हो : नयाँ शक्ति
यसैबीच नयाँ शक्तिले शुक्रबार साँझ विज्ञप्ति निकालेर खनाललाई कारबाही गरिए पनि पार्टीबाट निष्कासित नगरिएको जनाएको छ । 

पार्टी केन्द्रीय कार्यालय संयोजक वामदेव क्षत्रीद्वारा जारी वक्तव्यअनुसार खनाल राजनीतिक संवाद समिति संयोजकबाट हटाइए पनि केन्द्रीय परिषद्मा कायमै रहनेछन् । खनालले पार्टीको विधि प्रक्रियाविरुद्ध जथाभावी गतिविधि गरेको र अभिव्यक्ति दिने गरेको कारण देखाउँदै कारबाही गरिएको नयाँ शक्तिको विज्ञप्तिमा उल्लेख छ ।

 खनाललाई अनुशासन आयोगले एक साताअघि नै स्पष्टीकरण मागेकामा खनालले बिरामी भएकाले सन्चो भएपछि स्पष्टीकरण दिने बताए पनि प्राप्त नभएकाले कारबाही गरिएको प्रवक्ता खिमलाल देवकोटाले बताए । 

‘उहाँ (खनाल) बाट पार्टीको अनुशासनविपरीत केही गम्भीर गल्ती हुन गए, त्यसैले कारबाही गरेका हौं,’ देवकोटाले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यविरुद्ध पार्टीले भद्रकालीमा कार्यक्रम गर्दा उहाँले विरोध गर्नुभयो । पार्टीमा विभिन्न व्यक्ति आउन लाग्दा अहिले आउनुपर्दैन भनेको समेत पाइएपछि कारबाही गर्ने निर्णयमा पुगेका हौं ।’




Previous
Next Post »