कसले बनाउने मल्लकालीन संरचना ?

कसले बनाउने मल्लकालीन संरचना ?





कार्तिक ३, २०७३- पुरातत्त्व विभागले भूकम्पले क्षति भएका नाम चलेका मठमन्दिर र दरबारहरू पुनर्निर्माणका लागि ठेक्का दिइसकेको छ । कतिपयको काम पनि सुरु भइसकेको छ । 

पुनर्निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले १७ वटा डिजाइन तयार पारिसकेको छ । तर, भूकम्पले क्षति पुर्‍याएका उपत्यका काँठ क्षेत्रका छायामा परेका मल्लकालीन दरबारहरूको पुनर्निर्माणका लागि पुरातत्त्व विभागले चासो दियो न भवन निर्माण विभागले नै डिजाइन तयार गर्‍यो । अहिले लुभु, लेले र चापागाउँका ऐतिहासिक महत्त्वका दरबारहरू ओझेलमा छन् ।



लुभु भगवती लाछीस्थित मल्लकालीन दरबार गंगा महारानीको हो । बाहिरबाट झट्ट हेर्दा केही नभएको जस्तो देखिन्छ तर भित्रभित्रै चर्किएको छ । छानाबाट पानी चुहिन्छ । 

मन्दिरका ढोका र झयालहरू पहिले नै जीर्ण बनिसकेका हुन् । यसले दरबार तत्काल पुनर्निर्माण नगरे भत्किएर मानवीय क्षति हुने खतरा रहेको नेवा: संस्कृति संरक्षण समिति अध्यक्ष रामबहादुर श्रेष्ठ बताउँछन् । 

‘मन्दिर भत्किए बहुमूल्य हनुमानको मूर्ति, मल्लकालीन खडगहरू र भगवतीको मूर्ति हराउने जोखिम छ,’ उनले भने, ‘मन्दिरमा दसंैमा जमरा राख्ने खाल्डोमाथि २ वटा सिंगो ढुंगाको कलात्मक सिंहिनी र बघिनी पनि छन् ।’

उनका अनुसार पहिला महालक्ष्मी, महाभैरववरिपरि थुप्रै शिलालेख थिए । ‘संरक्षण अभावमा हराएर गएका छन्,’ उनले भने, ‘पुरातत्त्व विभागले दरबारको सर्वेक्षण मात्र गर्‍यो ।’ 

महालक्ष्मी, महाभैरव गुठीका मूल थकाली ९१ वर्षीय इन्द्रबहादुर नमाईका अनुसार १९९० को भूकम्पले दरबार भत्किँदा त्यतिबेला पुरानै अवस्थामा पुनर्निर्माण गर्न सरकारी पक्षले चासो दिएनन् । ‘स्थानीयवासीले जेनतेन मन्दिर आकारको घर निर्माण गरियो,’ उनले भने, ‘हामी सानै छँदासम्म दरबारको चारैतिर पोखरी पनि थियो । हाल हराइसकेको छ ।’

उनले अहिले पनि लुभुवासीले दरबारमा दसैंको टीकाका दिन खड्ग जात्रा मनाउने गरेको बताए । ‘यस्तैस्थिति रहिरहे दरबारसँगै सांस्कृतिक पर्व पनि लोप हुने खतरा छ,’ उनले भने । अहिले दरबार परिसरमा साबिक गाविस भवन, प्राथमिक स्वास्थ्य केन्द्र, कृषि उपशाखा र हुलाकको भवन छ । दरबारवरिपरिका पर्खाल भत्किइसकेका छन् । महादेव र भगवती मन्दिर, ढुंगेधारा, चिहिवाल र भीमसेनको मूर्ति टाँसिएको इनार र नारायणाको मूर्ति भने अझै दरबारवरिपरि बाँकी छन् ।

१९९० को भूकम्पअघि नै ध्वस्त बनेको लेलेको सगरकोट कोताथुम्का डाँडास्थित लिच्छविकालीन दरबार भने हालसम्म पनि पुनर्निर्माण हुन सकेको छैन । ऐतिहासिक दरबारको उत्खनन हुनुपर्ने भन्दै ४ वर्षअघि पुरातत्त्व विभागको दरबार हेरचाह कार्यालय ललितपुरले अध्ययन प्रतिवेदन बुझाएको थियो ।

 प्रतिवेदनमा डाँडामा भेटिएको इँटाको ढिस्कोले उक्त क्षेत्रमा दरबार रहेको भन्ने स्थानीयको भनाइ पुष्टि गर्ने आधार भेटिएको थियो । विभागले थप उत्खनन गर्ने बताएको भए पनि हालसम्म उत्खनन नभएको लेले संस्कृति जागरण समितिका अध्यक्ष राजकुमार श्रेष्ठले भन्छन्, ‘दरबार क्षेत्रमा पुराना इँटाहरू हराउँदै गएका छन् ।’

उनले उक्त क्षेत्रको डिलमा खनेर स्थानीयवासीले बहुमूल्य छालाका पैसाहरू लगेको बताए । ‘उक्त क्षेत्रमा इनार र गुफा पनि छ,’ उनले भने । अहिले दरबार क्षेत्र घाँसले ढाकेको छ । एउटा सानो मन्दिर छ । दरबार महत गाउँका बासिन्दाको कुलदेवताको पूजा गर्ने स्थलका रूपमा परिचित छ । जनश्रुतिअनुसार लेले उपत्यकाका मुख्य चार डाँडामध्ये एउटामा दरबार अर्कोमा हतियार भण्डार र बाँकी दुईमा सुरक्षाका जवानहरूको ब्यारेक थियो । 

त्यस्तै चापागाउँ र काठमाडौंको साँखुस्थित कोत घरको अवस्था पनि उस्तै छ । भूकम्पले ध्वस्त बनेको टोखा क्वाखल टोलस्थित लिच्छविकालीन तलेजु दरबार भने पुनर्निर्माणको काम अगाडि बढेको छ । दरबार पुनर्निर्माणका लागि पुरातत्त्व विभागले एक करोड २७ लाखमा ठेक्का दिइसकेको टोखा जगत प्रचारप्रसार समिति अध्यक्ष देवराज डंगोलले बताए ।

 गुठी संस्थानको दर्ता लगतमा टोखामा ३ तले ६ कवलको तलेजु दरबार उल्लेख छ । पुरातत्त्व विभाग दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय ललितपुरका इन्जिनियर ध्रुव अधिकारीले लुभुको दरबार पुनर्निर्माण कार्यक्रममा परेको बताए । ‘डिजाइ तयार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘चापागाउँको कोत घरको पुनर्निर्माण पनि निरन्तर बजेटमा परेको छ ।’




Previous
Next Post »