पहिले चुनाव, त्यसपछि संविधान संशोधन: एमाले

पहिले चुनाव, त्यसपछि संविधान संशोधन: एमाले

उपाध्यक्ष ज्ञवाली भन्छन्, ‘यो संविधान संशोधन गर्ने बेला होइन’
-
आश्विन २७, २०७३- एमालेले चुनावअघि संविधान संशोधन गर्न नदिने संकेत गरिरहेको छ ।

सरकारले मधेसी मोर्चाका माग सम्बोधन गर्न संविधान संशोधनको प्रयास गरिरहेकाबेला एमालेले तत्काल त्यसविरुद्ध उभिने तयारी गरेको छ । ‘संविधान संशोधनका लागि आधार र औचित्य सरकारले देखाउनुपर्‍यो,’ एमाले महासचिव ईश्वर पोखरेलले कान्तिपुरसित भने, ‘अनि एमालेले जसले जे भन्यो त्यही मानिदिनुपर्ने ?’

पोखरेलले संविधान संशोधनका लागि सत्तारुढ माओवादी र कांग्रेसबीच समझदारी गरेर एमालेसँग आउन चुनौति दिए । ‘कुन कुन धारामा संशोधन गर्न चाहेको हो, माओवादी र कांग्रेसबीच समझदारी भएको छ त ?,’ उनी भन्छन्, ‘पहिले पुष्पकमल दाहालजी र शेरबहादुर देउवाजी मिलेर आउनुस् एमालेसँग कुरा गर्न ।’

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पनि संविधान कार्यान्वयनको लागि आफ्नो पार्टी गम्भीर रहेको उल्लेख गर्दै अहिले संविधान संशोधन गर्ने बेला नै नभएको जिकिर गरेका छन् । 

‘संविधानले नै हामीलाई समयसिमाभित्र बाँधेको छ, अहिले संविधान कार्यान्वयनको लागि समय निकै थोरै छ, कामहरु धेरै गर्न बाँकी छन्,’ काठमाडौंमा आयोजित कार्यक्रममा ज्ञवालीले भने, ‘हामी यतिवेला संविधान संशोधनमा होइन बरु कार्यान्वयनमा फोकस हुन जरुरी छ ।’ उनले तत्काल संविधान संशोधन प्रक्रिया अघि बढाइए मुलुकमा द्वन्द्व तथा अन्तरविरोध बढ्ने समेत गुनासो पोखे । 

उनले संविधान संशोधनको विषयमा अल्झिँदा संविधान कार्यान्वयन नै छायाामा पर्ने समेत चिन्ता व्यक्त गरे । उनले संविधान कार्यान्वयनको लागि तीन वटै निकायको चुनाव समयमै सम्पन्न गर्नुपर्ने अहिलेको आवश्यकत्तालाई बुझेर प्रमुख दलहरु अघि बढ्नुपर्ने सुझाव समेत दिए । उनले भने,‘अहिले स्थानीय तहको निर्वाचन भयो भने ठूलो सफलता हुन्छ, अहिले नै संशोधनको विषयमा अलमलिनु हुँदैन, पहिला चुनावमा जाऔं, जनमत लिएर आएर आफ्ना मुद्दा स्थापित गर्न पनि सकिन्छ नि ।’




Previous
Next Post »