गाविसभर छैनन् मावि उत्तीर्ण

गाविसभर छैनन् मावि उत्तीर्ण




कार्तिक १३, २०७३- तिब्बतसँग जोडिएको हिमालपारिको लिमी गाविसमा माध्यमिक शिक्षा उत्तीर्ण एक जना पनि छैनन् । गाविसमा प्राथमिक तहका विद्यालय मात्र छन् । तीन वटा बस्ती भएको गाविसमा तीन वटा प्रावि छन् । शिक्षक नबस्ने भएकाले पढाइ नियमित हुँदैन । 

मावि नभएको र भएका विद्यालयमा समेत पढाइ नियमित नहुने भएकाले सिंगो गाविस मावि उत्तीर्णविहीन भएको हो । स्थानीय विद्यालयमा पाँच कक्षा उत्तीर्ण गरेपछि पहुँच भएकाले काठमाडांै लैजाने र अन्यले आफूसँगै खेतीपाती र मजदुरीलगायत काममा लगाउने गरेका छन् । ‘मेरा दुई भाइ र तीन बालबालिका काठमाडौंमै छन्,’ लिमी जाङ गाउँका गाविस पूर्वअध्यक्ष सुनाम पाल्देन लामाले भने, ‘एक भाइले १२ कक्षा उत्तीर्ण गरेपछि भारतको देरादुनमा रेडिमेट कपडाको पसल खोलेर व्यवसाय सुरु गरेको छ । अरू सबै काठमाडौंमा पढदै छन् ।’ गाउँमा साक्षर व्यक्ति पाउनसमेत मुस्किल छ । रोजगारीका अवसर र न्यूनतम सुविधासमेत नभएकाले शिक्षित युवा गाउँ पर्कंदैनन् । गाविसमा लिमीमातिल, हल्जी र जाङ गरी तीन वटा बस्ती छन् । 



सदरमुकामबाट गाउँ आवतजावत गर्न झन्डै पाँच हजार मिटर उचाइको लेक पार गर्नुपर्छ । स्थानीय सरकारबाट पाउने सेवासुविधाबाट वञ्चित हुँदै आएका छन् । लिमीका कुनै पनि व्यक्ति सरकारी सेवामा छैनन् । लिमीका तीनवटै विद्यालयमा सरकारी शिक्षकको दरबन्दी छ । विद्यालय भवन पनि छन् तर सरकारी दरबन्दीका शिक्षक विरलै पुग्ने स्थानीयको गुनासो छ । दरबन्दीका शिक्षक कहिलेकाहीं आउने र छोटो समयमै फर्कने भएकाले अभिभावकबाट रकम उठाएर निजी स्रोतबाट राखिएका शिक्षकमार्फत पठनपाठन व्यवस्था मिलाइएको गाविस पूर्वअध्यक्ष लामाले बताए । ‘छिमेकी मुचु गाविसको यालबाङ गाउँमा माध्यमिक विद्यालय छ, टाढा भएकाले बालबालिका त्यहाँ जान सक्दैनन्,’ उनले भने । 

आर्थिक अवस्था कमजोर भएका स्थानीयले बालबालिकालाई पाँच कक्षापछि नि:शुल्क धार्मिक शिक्षा दिने नेपाल र भारतका बौद्ध गुम्बामा पठाउने गरेको लिमीहल्जीका कोलोप्साङ तामाङले बताए । जिल्ला शिक्षा कार्यालयले बस्तीका तीन वटै विद्यालयलाई एकीकृत गरी एउटै आवासीय विद्यालय बनाउने योजना अघि बढाएको छ । एकीकृत आवासीय विद्यालयका लागि लिमी १ हल्जीगाउँका उइटुप तामाङले जग्गा दान गरेका छन् । कार्यालयका अनुसार त्यसका लागि सुनखानी प्राथमिक विद्यालयका नाममा ३ दशमलव ३० रोपनी जग्गा रजिस्ट्रेसन पास भइसकेको छ ।

भवन बनाउन कार्यालयले रकम निकासाको पहल गर्ने र निर्माण भएपछि एकीकृत विद्यालयमा आठ कक्षासम्म अध्यापन गराउने जनाइएको छ । स्थानीयले एकीकृत विद्यालयको विरोधमा रहेको निमित्त जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर शाहीले बताए । ‘तिल गाउँका बासिन्दाले नमाने दुइटा विद्यालय मिलाएर एउटा बनाउने प्रयासमा छौं,’ उनले भने, ‘विद्यालयले जग्गा प्राप्त गरेपछि सदरमुकाममा बसेको सर्वदलीय बैठकले आवासीय विद्यालय बनाउने निर्णय गरिसकेको छ ।’ कांग्रेस जिल्ला सभापति जयपति रोकायाले एकीकृत विद्यालय स्थापनापछि गाविसवासीले गुणस्तरीय शिक्षा पाउने जनाए ।


प्रकाशित: कार्तिक १३, २०७३


Previous
Next Post »