मुसलमान गाउँको दसैं

जुन पिङ अहिले लगभग लोप नै भैसक्यो । समुहमा मिलेर आवश्यक काठपातको जोहो गरेपछि फुलपातीको दिनमा पिङ राख्न सुरु गरिन्थ्यो । त्यही मुसलमान वस्तीमा राखिएको पिङ खेल्न हिन्दु र इस्लाम धर्मावलम्बी मुसलमानको भींड लाग्थ्यो । अष्टमीका दिन नेवारवस्तीमा राँगोको मार हानिन्छ । बडेमानको राँगो मार हानेको हेर्न मुसलमान युवाहरु पनि नेवार वस्तीको देउताको थानमा जान्थे । मुसलमान युवाहरुले एकै पटकमा खुँडाले राँगो छिनाएको खुब चाख मानेर हेर्छन्/हेर्थे । मार हानेको कथा मुसलमान युवाले घरमै गएर पनि बखान गर्छन् । मुसलमानहरुले मासु नखाने होइनन् । तर, मुसलमानले मन्त्रोच्चारण गरि हलाल गरिएको जनावरको मासु खाने परम्परा रहँदै आएको छ । त्यही भएर दसैंकै आसपासमा मुसलमानले पनि हलाल गरिएको मासु खान्छन् । रांगो, खसी, बोकाको मासु काटेर समूहमा खाने गरिन्छ । वर्षौदेखि संगै जोडिएर बसेका मुसलमानले हिन्दु दाजुभाईवीच शुभकामना साँटासाट गर्छन् । दसैंभरी पिङ खेल्छन् । मुसलमान गाउँमा राखिएका पिङमा हिन्दु रमाएका हुन्छन् । हिन्दुवस्तीमा राखिएका पिङमा मुसलमान युवा रमाएका हुन्छन् । हिन्दु मुसलमान संगसंगै मिलेर बस्दाको मिठासपन नै यही हो । हिन्दुको पर्वमा हिन्दु मात्र होइन मुसलमान पनि रमाउने । मुसलमाननको पर्वमा हिन्दु पनि रमाउने । पिङ राखिएको एक दुई दिनसम्म निकै भीडभाड हुन्छ । वर्षमा एक पटक पिङ राखिने भएकाले पनि पिङ खेल्ने सबैको धोको हुन्छ । तर, टीका (विजया दशमी) का दिन हिन्दु र मुसलमान वस्तीका पिङमा जहिल्यै होलो हुन्छ/हुन्थ्यो । त्यसैले टीका नलगाइन्जेलसम्म अधिकांश पिङमा मुसलमानको मात्र घुईँचो हुन्छ/हुन्थ्यो । मुसलमानले टीका लगाउँदैनन् । तर, दसैंका बेलामा टीकाबाहेक रमाईलो गर्न मुसलमानले केही पनि बाँकी राख्दैनन् । त्यसले दसैं सबैको पर्व हो भन्ने भाव झल्काउँछ । ‘दसैंमा टीका मात्र लगाइन्थेन, हिन्दु साथीहरुसंग खुब रमाईलो गरिन्थ्यो,’ लमजुङ बेसिसहर घर भई काठमाडौं बस्ने जनमत मियाँ भन्छन्, ‘दसैं सबैको पर्व हो भन्ने फिलिङ हुन्थ्यो ।’ समय अलिक फेरिएको छ । गाउँका यूवा जति वैदेसिक रोजगारीमा होमिएपछि केही वर्ष यता पिङको रौनक घट्दो छ । मुसलमान बस्तीमा मात्र होइन हिन्दु वस्तीमै पनि पिङ घट्न थालेको मियाँ बताउँछन् । ‘यूवापुस्ता विदेसिएका कारण टोलटोलमा पिङ राख्ने प्रचलन विस्तारै ओझेलमा पर्न थालेको छ,’ मियाँ भन्छन् । विगतमा जस्तो पिङको प्रचलन खस्किँदै गए पनि हिन्दु मुसलमानबीचको भावनात्मक सम्वद्ध भने उत्तिकै झाँङ्गिएको देख्छन् गोरखा ताप्लेका शिक्षक रज्मदिन मियाँ । ‘सबै जातजातीका संस्कृतीको आफ्नै महत्व छ,’ मियाँ भन्छन्, ‘त्यसैले हिन्दु–मुसलमान एकापसमा संगसंगै रमाइरहेका छन् ।’
ConversionConversion EmoticonEmoticon