बाबुराम हङकङमा अध्यागमनको जेलमा परें

.जब अध्यागमनको जेलमा परें


मलाई एउटा कोठामा केहीबेर राखिएपछि बुझ्दा त्यो त ‘पिपुल इन कस्टडी एन्ड पिपुल अन्डर इन्भेस्टिगेसन’ भन्ने रुम पो रहेछ
कार्तिक १४, २०७३- हङकङमा नेपाली राहदानी वाहकलाई निकै हेप्ने गरेको सुनेको थिएँ । त्यो मैले प्रत्यक्ष भोगें । यसलाई कुनै व्यक्तिगत पूर्वाग्रह नभई नेपाली राहदानीलाई गरिने अपमानका रूपमा मैले लिएँ । राहदानीलाई यो ढंगको अपमानले कुनै मुलुकप्रति त्यो मुलुकको दृष्टिकोणमै असर गर्छ । 

गोन्जाओको एक कार्यक्रममा सहभागी हुन चिनियाँ सरकारी थिंक ट्यांकको निमन्त्रणामा त्यहाँ पुगेर फर्कने क्रममा म, पत्नी हिसिला र विश्वदीप हवाई टिकट छाडेर रेलमा हङकङ आउँदै थियौं । यहाँ आइपुगेपछि सोधपुछका लागि भन्दै छुट्टै स्थानमा उनीहरूले राखे । सिल्करोडसम्बन्धी एक कार्यशालामा सहभागी भएर आएको हुनाले सबै बुझ्दै आउन मैले रेल यात्रा रोजेर आएको थिएँ ।



चीनको गोन्जाओबाट हङकङ छिर्ने क्रममा शनिबार बिहान हङकङ अध्यागमनले हामीलाई यस्तो गरेको हो । उनीहरूले कोठामा लगे तर किन लगे भन्ने जानकारी थिएन । इमिग्रेसन प्रक्रिया होला भनेर त्यहाँ गएँ । तर विशेष निगरानीमा लिएर सोधपुछ गर्नका लागि लगेको आफूले पाएँ । रेलमा सेन्झेन हुँदै हङकङ आएको थिएँ । मैले आफ्नो कुनै परिचय नखुलाई साधारण पासपोर्ट मात्र दिएको थिएँ । त्यो पासपोर्टमा भिसा पहिले नै लिइसकेको थिएँ ।

भिसा लिन पनि त्यति सहजता छैन । यसरी लिएको उक्त भिसालाई यति धेरै केरकारको प्रक्रियाले मलाई नेपालीप्रतिको सोच बुझ्ने इच्छा भयो । नेपाली हरियो पासपोर्ट हङकङमा अपहेलित हुने गरेको सुन्दै आएको तर अहिले आफैं परें ।

मैले यो विषय एउटा कार्यक्रमको क्लोज समूहमा सेयर गरें । यसलाई समाधान गर्न महावाणिज्य दूत कमल भट्टराईलाई आग्रह गरें । यो अवस्था आउनु दु:खद हो । हङकङको अध्यागमनले मलाई होइन, नेपाली राहदानी वाहकलाई अपमानपूर्ण व्यवहार गरेको छ । यो राम्रो होइन । यो विषयमा सरकार गम्भीर हुन जरुरी छ । कूटनीतिक च्यानलमार्फत यसमा कुराकानी गर्न आवश्यक छ ।

पासपोर्ट हेरेलगत्तै छुट्टै कोठामा लगिएको थियो । त्यो कोठामा केहीबेर राखिएपछि बुझ्दा त्यो त ‘पिपुल इन कस्टडी एन्ड पिपुल अन्डर इन्भेस्टिगेसन’ भन्ने रुम पो रहेछ । यस्तो देखेपछि मैले नेपाली महावाणिज्य दूत भट्टराईलाई जानकारी गराएँ । ४५ मिनेटभन्दा बढी उक्त कोठामा रहें । कमलजीले पनि कुरा गर्नुभयो होला, मैले पनि भने किन यसो गरेको भन्दा पछि थाहा भएछ कि क्या हो, गल्ती भयो भन्दै माफी मागेर हामीलाई छाडिदिए । 

नेपालीहरू अनधिकृत रूपमा प्रवेश गरेर शरणार्थी दाबी गर्दै बस्ने गरेका कारण पनि यस्तो गरेको होला । भिसा दिंदैमा कडाइ गरेपछि भिसा दिइसकेको व्यक्तिलाई यसरी केरकार गर्नु राम्रो होइन । त्यो मैले उनीहरूलाई स्पष्ट भनेको छु । कुनै कार्यक्रममा नेपाली जानुपर्दा समेत काठमाडौंबाट भिसा पाउन सकिने अवस्था नरहेको तर पनि गएका नेपालीलाई यसरी अपमानित गर्नु आफैंमा दु:खद हो । म यसलाई गम्भीर ढंगले उठाउनेछु । हरियो पासपोर्ट देख्ने बित्तिकै विधिवत् ढंगले आएको व्यक्तिलाई अपमानित गर्ने अधिकार कुनै मुलुकलाई नि छैन ।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङस्थित नेपाली महावाणिज्य दूतावासमा नेपालीसमक्ष पनि यो विषय राखेको छु । मैले पूर्वप्रधानमन्त्रीको हैसियतमा कूटनीतिक राहदानी लिन पाउने भए पनि आफ्नो मुलुकको वास्तविक परिचयका लागि हरियो (साधारण) पासपोर्ट बोक्ने गरेको छु । पासपोर्ट भनेको मुलुक हो । कूटनीतिक सम्बन्ध भएको मुलुकले यसलाई अपमान गर्न पाउँदैन । हो अध्यागमनमा सुरक्षाका लागि छानबिन हुन्छ तर त्यसको पनि छु्ट्टै तरिका हुन्छ । जुन तरिकाले उनीहरूले गरे त्यो हरियो पासपोर्ट अर्थात् नेपालीमाथि गरिएको अपमान थियो । यसमा सरकारको माथिल्लो निकायभन्दा पनि तल्लो स्तरको कर्मचारीले नेपालीप्रति बनाएको धारणा प्रतिविम्बित भएको पनि पाएँ ।
(पूर्वप्रधानमन्त्री भट्टराईसँग चन्द्रशेखर अधिकारीले टेलिफोनमा गरेको कुराकानीमा आधारित)


Previous
Next Post »