कसले पढाइदेला नातिनी ?’

कसले पढाइदेला नातिनी ?’






कार्तिक ३, २०७३- मिर्गौलाले काम नगरेपछि २६ वर्षको उमेरमा कविता थामीको ज्यान गयो ।

पैसा नभएकाले उपचार नपाई कविताको मृत्युपछि उनका दुई छोरी भूकम्पपीडित शिविरमा दु:खद दैनिकी काट्दै छन् । डेढ वर्षे संगीता ओछ्यान परिन् । त्यो बेला पनि ९ वर्षीया संगीता र ७ वर्षीया गौरीको स्याहारसुसार भएन । ज्यामी काम गरेर गुजारा गर्ने हीरा थामीले भएको सबै सम्पत्ति सकेर कवितालाई बचाउने कोसिस गरे । ‘पैसा पनि सकियो र कवितालाई पनि बचाउन सकिएन,’ हीराले भने ।



दुख्ने, पोल्नेजस्ता पीडाकै बीच कविता बितेपछि हीराको मन पनि अस्थिर छ । संगीता र गौरी अहिले हजुरआमा लालकुमारीसँग बस्छन् । दु:खी परिवार भएकाले दुई जना टुहुरा बालिका शिविरमा जसले जे दियो त्यही खाएर पेट भर्छन् । ‘किड्नीले आमा लगेको’ बताउने संगीता बाबु धनी भएको भए आमा बच्न सक्ने बताउँछिन् ।

भूकम्पपछि बस्ती खतरामा परेपछि बोसिम्पा र बुमाका ८४ परिवार जंगलछेउको टहरामा बस्छन् । बस्तीमा सबैको बिल्लीबाठ छ । दुई जना टुहुराको झनै दु:ख देखिन्छ । हजुरआमाको सहारा पाएका उनीहरूलाई खानकै समस्या छ । लाउने लुगा राम्रा छैनन् । पढ्नका लागि सामग्रीसमेत छैनन् । लालकुमारी भन्छिन्, ‘यिनीहरूलाई न राम्रो खान दिन सकिएको छ न कपडा किनिदिन सकिएको छ । स्कुल जान्छन् तर त्यसका लागि खर्चपर्च छैन । बिरामी हुँदा उपचार गर्ने पैसा हुँदैन् ।’

हजुरआमाको काखमा हुर्कंदै गरेका दुई बालिकाको भविष्य अन्योलग्रस्त छ । हुर्कंदै गएका उनीहरूका इच्छा शिविरमा रहेका अन्य बालबालिकाको जस्तै छ । उनीहरू पनि मीठो खाने, राम्रो लाउने, राम्रा किताब, कापी र कलम माग गर्छन् । आफ्नै बेहाल भएकाले नातिनीहरूको इच्छा पूरा गर्न नसकिएको हजुरआमा बताउँछिन् । 

अहिले हजुरआमा ६० वर्षकी भइन् । उनका पति काम गर्न सक्दैनन् । छोरा हीरा पत्नी बितेपछि बेकामेजस्तै छन् । मन लाग्दा ज्यामी काम गर्ने उनी सन्तान पाल्न सक्ने हैसियत राख्दैनन् । लालकुमारी भन्छिन्, ‘यी नानीहरूको माया लाग्छ, छाड्न मन लाग्दैन तर पालनपोषण गर्ने खर्च पनि छैन ।’

भूकम्पपछि बसाइएका बस्तीका सबै जना समस्यामा छन् । ८४ घरधुरीका मानिस बस्ने अस्थायी आवास भत्कने अवस्थामा छन्, जमिन टुङ्गो नलागेकाले उनीहरू पुनर्निर्माणअन्तर्गत घर बनाइहाल्ने अवस्थामा पनि छैनन् ।  

अहिले संगीता ३ कक्षा र गौरी २ कक्षामा पढ्छन् । भूकम्पपीडितका लागि बनाइएका अस्थायी कक्षामा पढ्ने उनीहरूलाई माथिल्लो कक्षा पढाउन अप्ठेरो पर्ने हजुरआमा लालकुमारीले बताइन् । पालनपोषण र पढाइमा सहयोगको अपेक्षा राख्ने लालकुमारी भन्छिन्, ‘लालाबालालाई आफ्नो काखबाट छुटाउन भने सकिँदैन ।’




Previous
Next Post »