धमाधम पार्टी परित्याग, नयाँ शक्ति विघटनको दिशामा

धमाधम पार्टी परित्याग, नयाँ शक्ति विघटनको दिशामा

बाबुरामलाई तनाव
काठमाडौं, २२ असोज । निकै ठुलो तामझाम र तयारीका साथ नयाँ पार्टी गठन गरेर नयाँ शक्ति बनाएका पूर्वप्रधानमन्त्री तथा पूर्व माओवादी नेता बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति विघटनको दिशामा गएको छ ।
पार्टी गठनको प्रचारमा करोडौं खर्च गरेको र अपारदर्शी भएको भन्ने आरोप खेपिरहेका बाबुराम भट्टराईलाई उनका नजिकका सहकर्मी मुमाराम खनालले साथ नदिने घोषणा गर्दै नयाँ शक्ति परित्याग गरेका छन् भने कास्की पोखराका बौद्धिक एंव साहित्यीक व्यक्तित्व तथा नयाँ शक्तिका केन्द्रीय सदस्य गनेश पौडेलले समेत सामाजिक संजालबाट नयाँ शक्ति छोडेको घोषणा शुक्रबार नै गरेका छन् ।
खनाल नयाँ शक्तिभित्रका मुख्य नेता मानिन्थे भने पौडेल पोखराका स्थापित व्यक्तित्व हुन् । भक्तपुरका अर्का केन्द्रिय सदस्य निर्मल भट्टराईले खनालको पार्टी परित्याग र बाबुरामको स्टालिनवादी शैलीको विरोध गर्दै शनिबार एक वक्तय जारी गरेका छन् । उनले भनेका छन् –‘भर्खरै निर्माण हुदै गरेको पार्टीमा नेतृत्व व्यवस्थापन वैज्ञानिक तरिकाले गर्नु पर्नेमा नेतृत्वले पुर्वाग्रह, आवेश र निषेधको कार्यशैली अपनाउनु तथा स्वयं मुमाराम खनालले हठात् पार्टी परित्याग गर्नु अशोभनीय छ ।’
साथै उनले बाबुरामको कार्यशैलीको विरोध समेत गरेका छन् । भट्टराईले विज्ञप्तीमा भनेका छन्, –‘ पार्टीभित्र उठ्ने आलोचनालाई सहनै नसक्ने र आलोचकलाई कुनै विधि, विधान, प्रक्रिया र बहुमतविना निषेध गर्ने डां भट्टराईको कदम अविलम्व फिर्ता लिन र मुमाराम खनाललाई आफूले मेहनत गरी बनाएको पार्टी परित्यागको निर्णय फिर्ता लिन जोडदार माग गर्दछु ।’
बाहिर बाबुरामले अन्तरपार्टी जनवादको सबभन्दा ठुला कुरा गर्ने तर आफुले अधिकार पाएको अवस्थामा सबैभन्दा बढी निरकुंश हुने आरोप बाबुराममाथि हिजो माओवादीमा छँदा समेत लाग्दै आएको थियो ।
नयाँ शक्ति बनाउन भनेर राजनीतिमा प्रवेश गरेका समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु नयाँ शक्तिमा हिजोका पुराना जनयुद्धकर्मी हावी भएको आरोप लगाईरहेका छन् भने हिजो जनयुद्ध लडेर आएकाहरुले नयाँहरुले आफ्नो अपमान गरेको आरोप लगाईरहेका छन् ।
आरोपप्रत्यारोपबिच नयाँ शक्तिमा अहिले कोही सन्तुष्ट नभएको एक केन्द्रिय सदस्य बताउँछन् । यसले नयाँ शक्तिलाई विघटनको दिशामा धकेलिरहेको छ । उसो त पछिल्लो समय नयाँ शक्तिमा संगठनात्मक काम कारवाही सुन्य जस्तै छ ।
Previous
Next Post »