कुलेखानी जलाशय भरिएन, आगामी हिउँदमा विद्युत उत्पादनमा समस्या हुने

कुलेखानी जलाशय भरिएन, आगामी हिउँदमा विद्युत उत्पादनमा समस्या हुने



आश्विन २१, २०७३- सञ्चित शक्तिको रुपमा रहेको मुलुकको एकमात्र जलाशय कुलेखानी यसपटक पनि पूर्णरुपमा नभरिँदा आगामी हिउँदमा पूर्ण रुपमा विद्युत् उत्पादनमा समस्या हुनेभएको छ । 

मनसुन सकिन लाग्दा देशको एकमात्र जलाशय कुलेखानी भरिन अझै १० मिटरको हाराहारीमा बाँकी छ । मुलुकको एकमात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट कुल ९२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । 



ऊर्जाको ‘ब्याक अप’को रूपमा रहेको कुलेखानीको जलाशय एक हजार ५२० मिटर मात्र भरिएको छ । नेपाल विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठकाअनुसार करिब दश मिटरको हाराहारीमा पानी भरिन बाँकी छ । 'ठूलो वर्षा भएन भने यस वर्ष जलाशय भरिने सम्भावना कम छ,' उनले भने, 'वर्षा जारी रहेका कारण सो क्षेत्रमा अझै पनि जलाशय भरिनसक्ने सम्भावना छ ।' 

यस वर्ष एक हजार ५२५ मिटर मात्र भरिने र त्यसले आगामी हिउँदमा साँझको समयमा विद्युत् उत्पादन गर्न सहयोगी हुने उनको भनाइ छ । गत हिउँदमा कुलेखानीको जलाशय घटेर एक हजार ५०३ मिटरमा झरेको थियो । अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी विद्युत् माग भएका कारण पनि जलाशय पूर्ण रुपमा सञ्चालन गर्दा पानीको तह केही कम हुन पुगेको थियो । 

'अघिल्ला वर्षमा पनि दसैं तिहारसम्म जलाशय भरिने गरेको थियो तर गत वर्ष भने पूर्णरुपमा भरिएन,' प्रमुख श्रेष्ठले भने । विद्युत्भार कटौतीलाई नियन्त्रणमा राख्नका लागि कुलेखानीको महत्वपूर्ण भूमिका रहने गरेको छ । जलायश भरिँदा प्राधिकरणलाई समेत हिउँदमा विद्युत् माग व्यवस्थापन गर्न सहज हुने गर्दछ । विद्युत्को अत्याधिक माग भएको समयमा मात्रै कुलेखानीलाई विशेष गरी साँझको समयमा मात्र चलाउने गरिएको छ । 

कुलेखानीको जडित क्षमता ९२ मेगावाट छ । त्यसमा पहिलो आयोजनाबाट ६० मेगावाट र दोस्रो आयोजनाबाट ३२ मेगावाट विद्युत् उत्पादन गरिन्छ । कुलेखानी तेस्रो आयोजना निर्माणको चरणमा रहेको छ । सो आयोजना आगामी पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्न सकिए थप १४ मेगावाट विद्युत् उत्पादन हुनेछ । 

इलेक्ट्रोमेकानिकल ठेकेदारले समयमा काम नगरेको कारण आयोजनामा समस्या भएको भन्दै पछिल्लो पटक उर्जा मन्त्रालयले तोकिएको अवधिमा काम सम्पन्न नभए कारबाही गर्ने चेतावनी दिएपछि परियोजना सुरु भएको छ । केही दिनअघि उर्जामन्त्री जनार्दन शर्माले आयोजनाको स्थलगत निरीक्षण गर्दै शिघ्र परियोजना सम्पन्न गर्न निर्देशन दिएका थिए । रासस





Previous
Next Post »