प्रधानमन्त्रीद्वारा 'लाप्राक एकीकृत वस्ती'को शिलन्यास

प्रधानमन्त्रीद्वारा 'लाप्राक एकीकृत वस्ती'को शिलन्यास


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना वस्तीको शिलन्यास गरेका छन्। शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट लाप्राक पुगेका प्रधानमन्त्रीले नमूना वस्ती शिलन्यास कार्यक्रममा यो एकीकृत वस्ती मात्रै नभएर नमूना वस्ती पनि भएको बताए।
उनले भने, ‘यसले देशलाई नै नयाँ सन्देश र सम्पूर्ण नेपालीमा आशा जगाउन सक्छ। शेष घलेलगायत एनआरएन साथीहरुको देशप्रतिको ममता सम्मानयोग्य छ। अनआरएनको ६०० घर बनाउने चाहनाको सरकार सम्मान गर्छ। ४४४ घर यहाँ बन्नेछन्। बाँकी १५० घरका लागि नयाँ ठाउँ खोज्नुछ, त्यसका लागि सरकारले आवश्यक निर्णय गर्नेछ।’
प्रधानमन्त्रीले एनआरएनको कामको प्रशंसा गर्दै भने, ‘एनआरएनले खतरा र जोखिम मोलेको छ। शेष घलेजीको परिचय त्यसै बनेको होइन। उहाँले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। एनआरएनका साथीभित्र देखिएको राष्ट्रिय भावना हामी सबैका लागि प्रेरणादायी छ।’
कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीले एकीकृत वस्ती निर्माणको गुरुयोजना स्वागतयोग्य रहेको बताउँदै आउने समस्यामा सरकार साझेदारी गर्न तयार रहेको बताए। कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीको सम्बोधनले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा इन्जिनियर स्वरुप कोनेले नमूना वस्तीको सर्भे र तयारीको काम सम्पन्न भएको जानकारी दिए। नेपाल सरकारबाट जग्गा उपलब्ध गराउने निर्णय भएपछि एनआरएनले निर्माण कार्य प्रारम्भ गरेको हो।
लाप्राकको एकीकृत बस्ती प्राकृतिक र भौगोलिक संरचना, वातावरण नबिग्रने गरी स्थानीय सामाग्रीको प्रयोगद्वारा निर्माण गरिने एनआएनका अध्यक्ष शेष घलेले जानकारी दिए। नमूना बस्तीमा संघले ४४४ घर आधुनिक घर निर्माण गर्नेछ। वस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइनेछ।
एकीकृत बस्तीमा निर्माण हुने संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन्। एकीकृत बस्तीमा सोलार इनर्जी, अपांगमैत्री संरचना हुने इन्जिनियर कोनेले जानकारी दिए। वस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइने संघका अध्यक्ष घलेले बताए।
Previous
Next Post »