एउटै बगैंचामा ३ करोडको स्याउ

एउटै बगैंचामा ३ करोडको स्याउ





•४ सय १५ रोपनी जग्गामा गाला, गोल्डेन र फुजी जातका ६० हजार स्याउका बिरुवा •माथिल्लो मनाङका ७ वटा गाविसको संगोलमा रहेको जग्गा भाडामा लिएर स्याउ खेती
कार्तिक २, २०७३- यहाँका किसानले एउटै बगैंचाबाट तीन करोड रुपैयाँ बराबरको स्याउ फलाएका छन् । गत वर्ष ६० हजार किलो स्याउ फलेको बगैंचामा अहिले १ लाख ५० हजार किलोभन्दा बढी फलेको सम्बद्ध सञ्चालकले बताएका छन् । 

मनाङको पिसाङ १ भ्राताङमा एग्रो मनाङ प्रालिले तीनवटा वर्णसंकर (हाइब्रिड) जातका स्याउ खेती गरेका छ । एग्रो मनाङले इटली र सर्भियाबाट गाला, गोल्डेन र फुजी जातका स्याउका विरुवा ल्याएर खेती गरेका हो । उत्पादनको दोस्रो वर्ष यसपटक कम्तीमा २ करोड ८० लाख रुपैयाँ बढीको स्याउ फलेको एग्रो मनाङका अध्यक्ष समराज गुरुङले बताए । उनका अनुसार अहिले ४ सय १५ रोपनी जग्गामा ६० हजार स्याउका बिरुवा लगाइएका छन् । वर्णसंकर भएकाले बगैंचामा लगाइएको बिरुवा अरू स्याउको जस्तो अग्ला र मोटा नरहेको उनले बताए । यी बिरुवा मनाङसम्म ल्याउँदा प्रतिगोटा १ हजार ५ सय रुपैयाँ परेको थियो । ‘प्रत्येक बोटमा सात किलोसम्म स्याउ फलेका छन्,’ उनले भने, ‘अबको ३/४ बर्षमा प्रत्येक बोटबाट ३५ किलो सम्म स्याउ फल्न सक्छ ।’ उनका अनुसार प्रतिदाना २ सयदेखि २ सय ५० ग्रामसम्म तौलका छन् । बगैंचाबाट गाला प्रतिकिलो १ सय ७५ र गोल्डेन १ सय ६५ मा बिक्री भइरहेको छ । फुजी जातका स्याउ केही सातापछि मात्रै टिप्ने उनले बताए । यसको खुद्रा मूल्य प्रतिकिलो १ सय ९५ रुपैयाँ तोकिएको छ । ‘अहिले काठमाडौं र पोखराका ठूला मार्केटमा गइरहेको स्याउ यहीँको हो,’ उनले भने ।




Previous
Next Post »