नेपाललाई संसारभर चिनाउने महायज्ञ : चैतन्यले विश्वलाई नेपाल चिनाउँदै

नेपाललाई संसारभर चिनाउने महायज्ञ : चैतन्यले विश्वलाई नेपाल चिनाउँदै



स्याङ्जा, पाल्पाको सिमानामा रहेको मालुङ्गामा यति बेला नेपाललाई संसारभर चिनाउने गरी नेपाल महिमाको महायज्ञ भइरहेको छ । ती दुई जिल्लाको साँधमा पर्ने उत्तरबाहिनी कालीगण्डकीको तीरमा चलिरहेको उक्त ‘नेपाल महिमा एवं कालीगण्डकी ज्ञानविज्ञान गीता ज्ञानमहायज्ञ’को प्रत्यक्ष प्रसारण सुप्रसिद्ध भारतीय मिडिया आस्था टेलिभिजनबाट भइरहेको पनि छ ।

१४५ देशमा बसेर आस्था च्यानल हेरिहेका तमाम दर्शक÷स्रोताहरुले नेपालको महिमा र गीताको दार्शनिक व्याख्या एवं प्रवचन धर्मदर्शनका क्षेत्रका युवा प्रवक्ता श्री चैतन्यकृष्णको मुखारवृन्दबाट सुन्न तथा देख्न पाइरहेका छन् ।

काली गण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त महोत्सवमा स्याङ्जा र पाल्पाका भक्तजनहरु मात्रै नभएर देशभरका धार्मिक आम-सर्व साधारणहरु सहभागिता रहेको छ । तपोमय जीवन बिताइरहनुभएका पूर्व सांसद् श्री शङ्करप्रसाद पाण्डेको संयोजकत्त्वमा सो यज्ञ संपादन भइरहको बुझिएको छ । 


नेपाल महिमा गीता ज्ञानप्रवचनको साथमा वैदिक बटुकहरुबाट महारुद्राभिषेक, करोड दीपप्रज्वलन लगायतका अनुष्ठानहरु भइरहको छ । महायज्ञ देवघाटधाम तनहूँ परमानन्द गुरुकुलका गुरु ज्ञानानन्द सरस्वती महाराजबाट समुद्घाटन भइ सञ्चालन भएको बताइएको छ । समुद्घाटन गाईलाई गोग्रास खुवाएर गरिएको थियो ।

१०६ वर्षका विद्वान यज्ञमुर्ति पाण्डेयको आचार्यकत्त्वमा अनुष्ठानका कार्यहरु सम्पादन भइरहको छ । विश्वको एक मात्र उत्तराभिमूख शालग्रामवाहिनी नदी कालीगण्डकी भएको ठाऊँमा सो महायज्ञ भएको हुनाले यसको महत्त्व अन्यको भन्दा पृथक रहेको बताइन्छ । देश तथा विदेशबाट आएका सन्त एवं विद्वानजनहरुबाट धर्म अध्यात्म एवं वेदवेदान्तको बारेमा उद्बोधन भइरहको छ । 


आश्विन २७ गते शुरुभई कार्तिक ७ गतेसम्म चल्ने सो महायज्ञको यज्ञशेषबाट आधुनिक गुरुकुल, प्राकृतिक चिकित्सालय, गौशाला आदिको निर्माण गरिने महायज्ञ सञ्चालक समितिले जनाएको । समापनको दिन ७ कार्तिकमा २१ करोड दीप प्रज्वलन गर्ने पनि बताइएको छ । 
Previous
Next Post »