दसैंको मुखमा चीनबाट आयो दुःखद खबर, छाँगाबाट खसेजस्तै भए प्रचण्ड!

दसैंको मुखमा चीनबाट आयो दुःखद खबर, छाँगाबाट खसेजस्तै भए प्रचण्ड!


काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण निश्चित गराउने विषयमा सरकार आफैं अन्योलमा परेको छ । सीले भारतको गोवा जाँदा वा फर्कंदा नेपाल भ्रमण गर्ने अपेक्षा गरिए पनि अहिले टरेको छ । यसअघि भ्रमण स्थगित भएको समाचार आउँदा माओवादी केन्द्र र सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित नभएको भनेर दाबी गरेपनि अन्तत तत्काललाई भ्रमण स्थगित भएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएपनि प्रचण्ड सरकारले जोडबलका साथ भारतका राष्ट्रपतिको भ्रमण भने फिक्स गराएको छ । xi-jinping-11नेपाल नआउने भन्दा पनि बंगलादेश जाने तर नेपाल नआउने चिनियाँ निर्णयले आफूहरूलाई दु:खी बनाएको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । ‘यसले नेपालको आन्तरिक राजनीति नै अन्योलमा पारेको छ,’ उनले भने, ‘यही विषयका कारण दलहरूबीच दोहोरी चलिरहेको छ । हामी प्रयास गरिरहेका छौं । अहिले नभए पनि पुसको अन्त्यसम्म ल्याउने प्रयासमा सरकार लागेको छ ।’ चिनियाँ राष्ट्रपति सी असोज २८ मा बंगलादेशमा पुग्ने र भोलिपल्ट गोवा जाने भएका छन् ।

गोवा भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयका लागि सबै खाले प्रयास गर्ने उनी निकटस्थहरूले बताए । उनीहरूका अनुसार प्रधानमन्त्री भएपछि भारत भ्रमण गरेका र त्यही समयमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण तय समेत गराएका दाहालले मुलुकका राजनीतिक सन्तुलनका लागि पनि चिनियाँ राष्ट्रपतिको भ्रमण गराउने चुनौती देखिएको छ ।

‘चिनियाँ राष्ट्रपति सजिलै नेपाल भ्रमणमा आउने सम्भावना छैन । तर पनि दाहाल राष्ट्रपति सीले दक्षिण एसियामा पत्याएका नेतामध्ये एक भएकै कारण भ्रमणको सम्भावना अझै टरेको छैन,’ प्रधानमन्त्री निकटस्थले सुनाए, ‘नेपालको कर्मचारीतन्त्र तथा कूटनीतिक निकायमा पनि चीन मोह वा तटस्थता नहुँदा समस्या देखिएको हो ।’ सीको भ्रमण हुने विषय अन्त्य नभएकाले केही महिनामै भ्रमण हुने गरी काम गरिने अधिकारीहरूले बताएका छन् ।

यसअघिको केपी ओली सरकारले यसै महिना चिनियाँ राष्ट्रपतिको भ्रमण गराउन द्रुत गतिमा तयारी थालेको थियो । नेपाल आउने करिब करिब निश्चित पनि भइसकेको थियो । तर, भारतको ‘इन्ट्रेस्ट’ अनुसार आएको अहिलेको सरकारले भ्रमण गराउन कुटनीतिक रुपमा पहल नगरेको परराष्ट्रका अधिकारी नै बताउँछन् । जसकारण भ्रमण हुन सकेन् ।
नयाँ संविधान कार्यान्वयनका लागि नेपालमा प्रभाव राख्ने छिमेकीको सहयोग लिनुपर्ने बाध्यता भए पनि चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने र एक चीन नीतिको पालना गर्दै दुवै मुलुकसँगको सम्बन्धलाई ध्यान दिएर अघि बढ्ने सन्देश प्रधानमन्त्री दाहालले दिइसकेका छन् ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह (ब्रिक्स) को आठौं शिखर सम्मेलनमा सहभागी हुन गोवामा पुगेकै दिन अर्थात् २९ मा दाहालले चिनियाँ राष्ट्रपति सीसँग दुईपक्षीय भेट गर्नेछन् । पर्यवेक्षक राष्ट्रको प्रतिनिधिका रूपमा प्रधानमन्त्री दाहाल ब्रिक्स सम्मेलनमा सहभागी हुने भएपछि भेट मिलाइएको हो । भेटमा सी र दाहालको मात्र पनि कुराकानी हुने अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणबारे पनि छलफल हुनेछ । ‘दाहाल र सीको साइडलाइन वार्तामा समग्र दुईपक्षीय विषयमा छलफल हुनेछ,’ परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने । दाहालले प्रधानमन्त्री भएको एक महिनामै भारत भ्रमण गरेका थिए । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलगत्तै उनी चीन जाने गरी तयारी भइरहेको छ । उनको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन कोसिस गर्ने अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री दाहालले वान बेल्ट वान रोडमा नेपालको सभागिता निश्चित गर्दै चीनले उठाउँदै आएको त्रिपक्षीय सहकार्यमा आफ्नो तर्फबाट औपचारिक कुरा राख्नेसम्मको तयारीका साथ सीसँग कुरा गर्ने भएका छन् । त्रिपक्षीय सहकार्य र नेपालको विकासका लागि भारतीय नेतृत्व र चिनियाँ नेतृत्वबीच पनि कुराकानी हुने भएकाले दाहाललाई यो विषय राख्न सहजसमेत हुनेछ ।

त्रिपक्षीय सहकार्यमा भारतले त्यति चासो नदेखाएको बुझाइ चीनको छ । गत वर्षको महाभूकम्पपछि चीनले दिने घोषणा गरेको सहयोगको विषयमा पनि समेत छलफल हुनेछ । त्यसमा सम्झौता नै हुने गरी नेपालले तयारी गरेको परराष्ट्र अधिकारीले बताए । कान्तिपुर राष्ट्रिय दैनिकमा समाचार छ ।

Previous
Next Post »