साउदीबाट उद्धार याचना

साउदीबाट उद्धार याचना



बाँके बागेश्वरीका तुलबहादुर बिसीले सामाजिक सञ्जालमा राखेको अरबमा आफूसँगै १५ जना नेपाली अलपत्र परेको फोटो ।
कार्तिक १२, २०७३- रोजगारदाता कम्पनीले चार महिनादेखि पारिश्रमिक नदिई राहदानीलगायत कागजात खोसेको भन्दै साउदी अरबमा कार्यरत नेपालीले उद्धारका लागि परिवारसाग आग्रह गरेका छन् ।

जिल्लाको बागेश्वरीका तुलबहादुर बिसीले भाइ उज्ज्वललाई सम्पर्क गरी कम्पनीले राहदानीलगायत कागजात खोसेको, एक महिनायता खानाखर्चसमेत दिन छाडेको गुनासो गरेका हुन् ।

उक्त कम्पनीमा आफू मात्र नभई, १५ जना नेपाली चार महिनादेखि अलपत्र रहेको बिसीले जनाए । ‘अरब कन्ट्रयाक्टिङ इस्ट साउदी कम्पनीमा काम गर्दै आएका १५ नेपालीले चार महिनादेखि तलब पाएका छैनौ । एक महिनादेखि कम्पनीले खानाका लागि पैसा पनि दिन छोडेपछि अलपत्र परेका छौँ,’ तुलबहादुरले मोबाइल सम्पर्क गरी पठाएको खबर सुनाउँदै भाइ उज्ज्वलले भने, ‘सबै कागजात साहूले राखिदिएपछि दाइहरू अरु ठाउँमा जान सक्नुभएको छैन । पैसा नभएर एक महिनादेखि अलपत्र पर्नुभएको रहेछ ।’

मासिक ९ सय रियाल तलबमा तुलबहादुर काठमाडौंस्थित सामाखुसी चोकस्थित अली ओभरसीज प्राइभेट लिमिटेडबाट उक्त कम्पनी पुगेका हुन् । उनीसँगै गोरखबहादुर थापामगर, सुरजबहादुर बस्नेत र प्रेमकुमार कार्की पनि त्यही कम्पनीबाट गएका हुन ।

त्यस्तै, काठमाडौं सानेपास्थित युनाइटेड इन्टरनेसनल प्रालिमार्फत गएका अर्जुन विक, बिर्खराज लिम्बु, श्यामकुमार लिम्बु, भिम लिम्बु, सुशीलकुमार कार्की, प्रवेश गुरुङ, आशिष सुजी, तेजबहादुर भण्डारी, सोमनाग खडा, कमल लिम्बु र दिलकुमार कटवाल पनि अलपत्र परेको तुलबहादुरले बताएका छन् ।

उनका अनुसार ती म्यानपावर कम्पनीले सुरुमा मासिक १३ सय र ओभरटाइम ३ सय थप कमाइ हुने भन्दै अरब पठाएका हुन् । तर, त्यहाँ पुगेपछि ९ सय दिने भनियो ।

‘घरबाट आइसकेपछि ९ सयमा पनि काम गर्न राजी भयौँ तर त्यो पनि नदिएपछि अलपत्र पर्‍यौ ।’ पासपोर्ट साहूले कब्जा गर्दा लुकेर बस्नुपरेको जनाउँदै उनले उद्धारका लागि सरकारसँग पहल गरिदिन परिवारलाई आग्रह गरेका छन् ।

युनाइटेड इन्टरनेसनल प्रालिले पनि आफूले पठाएका कामदारले पारिश्रमिक नपाएको गुनासो आएको जनाएको छ । ‘तलब नपाएको गुनासो हामीसम्म आइपुगेको छ । समाधानका लागि सम्बन्धित कम्पनीसँग सम्पर्क प्रयास भइरहेको छ,’ कान्तिपुरसागको टेलिफोन सम्पर्कमा परिचय खुलाउन नचाहने व्यक्तिले भने ।




Previous
Next Post »