ज्ञानेन्द्रको प्रश्नमा केपी ओलीको जवाफ- म दशैंका बेला भल छोप्न चाहन्न !

ज्ञानेन्द्रको प्रश्नमा केपी ओलीको जवाफ- म दशैंका बेला भल छोप्न चाहन्न !

इतिहास सबैलाई थाहा छ, नेपाल अगाडि बढ्छ
 असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा सानातिना समस्याहरु टुंग्याएर अघि बढ्नुपर्ने बताएका छन् । साथै ओलीले पूर्वराजा ज्ञानेन्द्रले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा दशैंका बेलामा आफूले कुनै ‘भल छोप्न नचाहने’ जवाफ दिएका छन् ।

भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा शनिबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै एमाले अध्यक्ष ओलीको दशैंको अवसरमा आफूले कसैको विरोध वा समर्थनमा नबोल्ने बताए । उनले देशभित्र र बाहिर रहेका दशैं मान्ने सबै नेपालीहरुलाई शुभकामना व्यक्त ।

पूर्वराजा ज्ञानेन्द्रलाई जवाफ

शुक्रबार साँझ पूर्वराजा ज्ञानेन्द्रले दशैंको अवसरमा लिखित शुभकामना व्यक्त गर्दै विज्ञप्ति जारी गरेका थिए । सो विज्ञप्तिमा राजनीतिक दलहरुलाई प्रश्न गर्दै विगतका दशकमा जनताको पक्षमा के के काम भए ? भन्ने प्रश्न उठाइएको थियो ।

Close ad X

बालकोटमा शनिबार बिहान भएको जमघटमा एकजना पत्रकारले पूर्वप्रधानमन्त्री ओलीलाई प्रश्न गरे- ‘ज्ञानेन्द्रले उठाएका प्रश्नहरुबारे के भन्नुहुन्छ ?’

जवाफमा ओलीले भने- ‘म अहिले दशैंको शुभकामना व्यक्त गरिरहेका बेलामा, यस दशैंका बेलामा कुनै भल छोप्न चाहन्न । र, म कुनै कसैको विरोध वा समर्थन, कसैको पक्ष वा विपक्षको कुरा गर्न चाहन्न ।’
ओलीले पूर्वराजाको प्रश्नप्रति लक्षित गर्दै थपे- ‘नेपालको इतिहास हामी सबैलाई थाहा छ । हामी अगाडि बढ्छौं । नेपाल अगाडि बढ्छ ।’

‘तपाईले दशैंअघिको कुरो गर्नु भो’

पत्रकारसँग पूर्वप्रधानमन्त्री ओली करिब १० मिनेट प्रस्तुत भएका थिए । सुरुमा ६ मिनेट उनले दशैंको महत्वबारे प्रकाश पार्दै देश विदेशमा रहेका नेपालीलाई शुभकामना दिए । त्यसपछि थोरै राजनीतिक छनकयुक्त वाक्य बोल्दै उनले आफ्नो मन्तव्यको बिट मारे । त्यसपछि ४ मिनेटजति पत्रकारसँग सवाल-जवाफ भयो ।

मन्तव्यकै क्रममा पूर्वप्रधानमन्त्री अोलीले यसो भनिसकेका थिए- ‘हामीले अहिले समय सीमाभित्र गर्नुपर्ने केही कामहरु छन् । ती कामहरु समय सीमाभित्र हामी गर्न सकौं । संविधानको कार्यान्वयनमार्फत सानातिना समस्या छन् भने तिनलाई टुंग्याएर, संक्रमणकाललाई टुंग्याएर अब हामी ढीलो गर्न सक्दैनौं । तीव्रताका साथ आर्थिक उन्नतिको दिशामा, सम्वृद्धिको दिशामा अगाडि बढौं । हामी सबैलाई यस महान चाडले प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।’

प्रश्नोत्तरका क्रममा एकजना पत्रकारले ओलीलाई सोधे- ‘स्थानीय निकायको चुनाव संकटमा परेको हो ?’ ओलीबाट प्रश्नभन्दा छोटो जवाफ आयो- ‘हाम्रा समय सीमाभित्र गर्नुपर्ने कामहरु छन्, ती काम हामीले गम्भीरतापूर्वक टुंग्याउनुपर्छ ।’

फेरि अर्का सञ्चारकर्मीले सोधे- ‘स्थानीय तहको सीमांकनमा तीन दलवीच सहमति भएको छ, तर मधेसवादी दलहरुले त्यो सहमति मान्दिँन भनेर हिँडिराखेका छन् नि ? स्थानीय निकायको निवार्चन सम्भव देख्नुहुन्छ तपाई ?’

पूर्वप्रधानमन्त्रीले झन छोटो जवाफ दिए- ‘त्यो तपाईले भनेको दशैं अगाडिको कुरा हो ।’

तत्कालै अर्को प्रश्नको वाण बर्सियो- ‘दशैंको वीचमा के हुँदैछ ?’

ओलीले भने- ‘दशैंमा मैले कामना गरेको छु, सबै पार्टी एकठाउँमा…..’

टुंगिन्छ, टुंग्याउन सकिन्छ, टुंग्याउनुपर्छ !

एमाले अध्यक्ष ओलीले दशैंकै आसपास राजनीतिक समस्या समाधान हुने विश्वास व्यक्त गरे । संविधान संशोधन, स्थानीय तहको सीमांकन तथा संविधान कार्यान्वयन लगायउतका राजनीतिक समस्याबारे दलहरु विभाजित भइरहेका बेला ओलीको अभिव्यक्ति निकै नरम देखिएको थियो ।

ओलीलाई पत्रकारले प्रश्न गरे- तपाईले समय सीमाभित्र टुंग्याउने कामहरु टुंग्याउनुपर्छ भन्नुभयो, ती काम के हुन् र कसरी टुंगिएलान् ?

ओलीले भने- ‘टुंग्याउन खोज्दा केही पनि अप्ठ्यारो हुँदैन । टुंगिन्छ । टुंग्याउन सकिन्छ । टुंग्उयाउनुपर्छ ।’

बडादशैंबारे दुई शब्द 

पूर्वप्रधानमन्त्री ओलीले समाजमा चाडबाड र संस्कृतिको महत्वबारे यसरी संक्षिप्तरुपमा शुभकामना मन्तव्य दिए-

‘नेपालभित्र रहनुभएका र विभिन्न कारणले नेपाल बाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु र बडादशैं पर्वलाई मनाउने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु सबैमा बडादशैं २०७३ को अवसरमा म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । सबैको स्वास्थ्य राम्रो रहोस् र सबैमा सफलता प्राप्त होस् ।

हाम्रा चाडहरु यत्तिकै बनेका छैनन् । हाम्रो समाजको निर्माण, हाम्रो समाजको विकास सँगसँगै हाम्रो समाजको सुसम्बन्ध, सुव्यवस्थापन यी प्रयोजनहरुसँग, यस्ता उद्देश्यहरुसँग पनि हाम्रा चाडहरु जोडिएका छन् ।

विभिन्न चाडहरुका विभिन्न अर्थहरु छन् । महत्वहरु छन् । र, हाम्रा चाडहरुले सामाजिक सुसम्बन्ध एवं पारिवारिकदेखि लिएर नातासम्बन्धहरु र अरु कुराहरुलाई पनि अत्यन्तै सकारात्मक योगदान गरी आएको छ । यो चाड, खासगरी बडादशैं आफूभन्दा ठूलाहरुबाट आशिर्वाद लिने, ठूलाहरुलाई सम्मान गर्ने र सानाहरुलाई आशिर्वाद दिने कुरासँग सबभन्दा बढी घनिष्ट ढंगले जोडिएको छ ।

टाढा टाढादेखि आशिर्वाद लिन मान्यजनकहाँ जाने हाम्रो प्रचलन हो । यसले पुरानो पुस्ता, नयाँ पुस्ता, मान्यजन र नयाँ पिँढीका स्नेह गर्नुपर्नेहरुका वीचको आत्मीयतालाई  प्रवल बनाएको छ । अरु चाडहरुले पनि यस्तै योगदान गरेका छन् । यी चाडहरु अर्थहीन छैनन् । र, यी चाड मनाउने प्रचलन हाम्रा सामाजिक सुमधुर सम्बन्ध, सुव्यवस्थापन जस्ता कुराहरुसँग घनिष्टरुपले गाँसिएर अर्थपूर्ण ढंगले बनेका छन् । म यस घडीमा सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु ।

हामी यतिबेला एउटा संक्रमणकालीन अवस्थामा छौं । यस बडादशैंंबाट हामी सबैले हाम्रो विविधतायुक्त देश, विविधताले भरिएको देश बहुजाति, बहुभाषा र बहुसंस्कृतियुक्त देश र राष्ट्रिय एकता असाधारण  ढंगले भएको देश, विविधताका वीचमा सुदृढ एकता सबल हुँदै जाओस् । र, हामी राष्ट्र निर्माणको महाअभियानमा तीब्रताका साथ अगाडि बढ्न सकौं ।

हामीले अहिले केही समय सीमाभित्र गर्नुपर्ने केही कामहरु छन् । ती कामहरु समय सीमाभित्र हामी गर्न सकौं । संविधानको कार्यान्वयनमार्फत सानातिना समस्या छन् भने तिनलाई टुंग्याएर, संक्रमणकाललाई टुंग्याएर अब हामी ढीलो गर्न सक्दैनौं । तीव्रताका साथ आर्थिक उन्नतिको दिशामा, सम्वृद्धिको दिशामा अगाडि बढौं । हामी सबैलाई यस महान चाडले प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
Previous
Next Post »