अब घर बनाइसकेका भूकम्पप्रभावित र घर मर्मत गर्नेले पनि अनुदान पाउने

अब घर बनाइसकेका भूकम्पप्रभावित र घर मर्मत गर्नेले पनि अनुदान पाउने

सरकारले भूकम्प प्रभावितलाई घर बनाउन दिने राहत प्रक्रियामा संसोधन सहित केही नयाँ व्यवस्था थपघट गर्ने भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले नयाँ बिधि प्रक्रियाबाट राहत बितरणको गृहकार्य थाल्ने निर्णय गरेको हो ।

प्राधिकरणले कार्यकारी समितका बिज्ञ समूहलाई कार्यविधि संसोधनका लागि विषयगत जिम्मेवारी समेत तोकेको छ । उनीहरुले राहत वितरणको नयाँ मापदण्डबारे मस्यौदा कार्यविधी तयार पार्ने जिम्मा समेत पाएका छन् ।

कस्तो बन्दै छ नयाँ कार्यविधि

प्राधिकरणको शुक्रबार बसेको निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई ३ बर्गमा विभाजन गरी राहत बितरण गर्ने योजना बनाएको छ । गत असोज १० गते विभिन्न राजनीतिक दलहरु सहितको बैठकमा सहमति जुटे अनुसार नयाँ प्रक्रिया शुरु गरिन लागेको हो ।

नयाँ बन्न लागेको मापदण्ड अनुसार भूकम्प प्रभावीतले घर बनाउन ३ किस्तामा ३ लाख रुपैयाँ पाउने छन् । यसअघि कै निर्णय अनुसार पहिलो किस्तामा ५० हजार र बन्दै गरेको कार्यविधी अनुसार दोश्रो किस्तामा १ लाख ५० हजार र तेश्रो किस्तामा १ लाख रुपैयाँ पाउने व्यवस्था गरिन लागेको हो ।

१) आफैले घर बनाएकालाई पनि ३ लाख अनुदान :

सरकारले संसोधन गर्न लागेको नयाँ कार्यविधी अनुसार आफैले खर्च गरेर घर बनाउने भूकम्प प्रभावितलाई पनि अनुदान दिनेबारे सहमति जुटेको छ ।
गाविस वा नगरपालिकाबाट नक्सा पास गरेको, भूकम्पप्रतिरोधी घर निर्माण गरेको हुनुपर्ने जस्ता मापदण्ड पूरा गर्ने प्रभावितलाई ३ लाख अनुदान दिने कार्यबिधीको मस्यौदा बन्न लागेको हो ।

reconstruction earthquake२) घर मर्मत गर्न चाहनेलाई १ लाख अनुदान :

यसअघि कार्यविधीमा उल्लेख नभएको बिषय घर मर्मत गर्न चाहनेहरुका लागि पनि प्राधिकरणले संबोधन गर्न खोजेको छ । बन्दै गरेको नयाँ कार्यविधीमा आंशिक क्षति भएका तर मर्मत गर्न सकिने अवस्थाका घरका लागि पनि अनुदान दिईने बारे बिधि प्रक्रिया बनाईदै गरेको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाको भनाई छ ।

कुनै भूकम्प प्रभावितले घर मर्मतका लागि निवेदन दिएमा घरको अवस्था हेरी १ लाख रुपैयाँ सम्म मर्मतका लागि अनुदान दिने सक्ने व्यवस्था सहितको कार्यविधी निमार्णमा राजनीतिक सहमति जुटेको हो ।

३) ३ किस्तामा ३ लाख अनुदान :

प्राधिकरणले यसअघि ३ किस्तामा घर निमार्णका लागि २ लाख रुपैयाँ राहत दिने व्यवस्था गरेको कार्यबिधिमा परिमार्जन गर्ने भएको छ । बन्दै गरेको कार्यबिधीमा पहिलो किस्तामा ५० हजार, दोश्रोमा १ लाख ५० हजार र तेश्रो किस्तामा १ लाख दिने राजनीतिक सहमति जुटेको हो । सोही अनुसार प्राधिकरणका बिज्ञ समूहले दशैका बेला बिदा नबसी कार्यबिधीको मस्यौदा निमार्ण गर्दैछन् ।

दोश्रो किस्ताको अनुदान पाउनका लागि पहिलो किस्ताको रकमबाट प्रभावितहरुले घरको जग भने हालेर घर बनाउने प्रक्रिया भने शूरु गरेको हुनुपर्नेछ ।

२५ हजारको ३ विकल्प : सोलार, ट्वाइलेट वा बायोग्याँस

नयाँ कार्यबिधी अनुसार भूकम्पप्रभावितले ३ लाख अनुदान भित्रबाट २५ हजार रुपैयाँ भने घरसँग सम्बन्धित अन्य क्षेत्रमा खर्च गर्नुपर्नेछ । २५ हजार रुपैयाँबाट सोलार बक्ति वा ट्वाईलेट वा बायोग्याँस (गोबरग्याँस)का लागि खर्च गर्नुपर्नेछ ।

punarniman-spokesperson-ram-prasad-thapaliya
प्रवक्ता थपलियाले भने–“नयाँ बन्दै गरेको कार्यविधी अनुसार अव भूकम्प प्रभावितले २ लाख ७५ हजार घर निमार्णका लागि राहत पाउनेछन् भने २५ हजार ट्वाइलेट, सोलार र बायोग्याँस मध्ये कुन आवश्यकता छ, एउटा विकल्प रोजेर त्यसका लागि खर्च गर्नुपर्नेछ । ”

मस्यौदा कार्यविधी निर्माणका लागि विज्ञ समुहलाई जिम्मा

– प्राधिकरणले कार्यकारी समितिमा रहेका विज्ञ टोलीलाई मस्यौदा निमार्णको जिम्मेवारी समेत तोकेको छ ।

– प्राधिकरणले ३ लाख अनुदान दिने व्यवस्थाको कार्यबिधि निमार्णका लागि चन्द्र बहादुर श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

– घर मर्मत संभार र रेट्रोफिटिङ्का लागि अनुदान दिने व्यवस्थाको कार्यविधी निमार्णका लागि हरिराम पराजुलीलाई जिम्मा दिएको छ ।

– यस्तै विष्णुबहादुर भण्डारीलाई भूकम्पप्रभावितको जिविकोपार्जनमा सुधार ल्याउन दिइने तालिम तथा अन्य सहयोगबारेको बिधि प्रक्रिया निमार्णको जिम्मा दिएको छ ।

– यस्तै आर्थिक स्रोतको व्यवस्थापन बारेको कार्यविधीको मस्यौदा निमार्णको जिम्मेवारी ध्रुवप्रसाद शर्मालाई दिइएको छ ।

राजधानीका भूकम्पप्रभावितलाई दशैलगतै ५० हजार

सरकारले राजधानीका भूकम्प प्रभावितलाई दशै सकिए लगतैबाट घर निमार्ण अनुदानका लागि पहिलो किस्ताको ५० हजार रुपैंया दिने तयारी थालेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका भूकम्प प्रभावितको सर्वेक्षण सकेर लाभग्राहीको सूचि समेत प्रकाशन गर्न सम्बन्धित गाबिस तथा नगरपालिकामा पठाइएको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
प्राधिकरणको शुक्रबार बसेको बैठकले राजधानीका भूकम्प प्रभावित लाभग्राहीको नामावली प्रकाशनको लागि गाबिस तथा नगरपालिकालाई निर्देशन दिएको छ ।

राजधानीमा ५४ हजार घरधनीको नाम स्वीकृत गरी सम्बन्धित नगरपालिका तथा वडा कार्यालयमा नामावली विवरण पठाइएको हो ।
Previous
Next Post »