बेरोजगार युवालाई सरकारले उपलब्ध गराएको काम फसेको ठाउमा गाडी तान्ने

बेरोजगार युवालाई सरकारले उपलब्ध गराएको काम फसेको ठाउमा गाडी तान्ने 

२९ किमि पार गर्न ६ घण्टा





कार्तिक ३, २०७३- मर्मत सुधार अभावमा मन्थली–सालु हुँदै साँघुटार पुग्ने सडक जीर्ण भएको छ । हिलाम्मे, खाल्डैखाल्डा र साँघुरो सडकमा सकिनसकी यातायात सञ्चालन गरिँदा यात्रु जोखिममा छन् । त्यसमाथि छतभरि खचाखच यात्रु राखिन्छन् । सडकको दुरवस्थाकै कारण छोटो दूरी पार गर्न पनि घन्टौं लाग्ने गरेको छ । 

‘कतै डोरीले बस तान्दै त कतै कोदालाले सडक खन्दै दिनभरिमा बल्लतल्ल २९ किलोमिटर यात्रा पार गरियो,’ चालक रामजी खड्काले भने । उनका अनुसार सालुको च्याउकेठाँटी पूर्व साँघुटारसम्मको सडक उच्च जोखिममा छ । ‘पहिलोपटक आउने चालकले गाडी सम्हाल्न सक्ने अवस्थै छैन,’ खड्काले भने । 



पहाडी बाटो घस्रँदै चल्ने बसमा यात्रु सकुशल साँघुटार पुग्न पाउनुलाई धन्य ठान्छन् । सडकका विभिन्न भागमा थुप्रै सवारी साधन फसेका उदाहरण थुप्रै छन् । ‘हम्मेसी सालु निस्कनै गाह्रो हुन्छ, सालु कटिहाले देउरालीको बाटो अझ धेरै डरलाग्दो छ,’ साँघुटारका राजबाबु भौकाजीले भने, ‘यस वर्षजस्तो जीर्ण यसअघि कहिल्यै भएको थिएन ।’ 

मन्थलीदेखि साँघुटारसम्म सडक खनेको एक दशकभन्दा बढी भइसक्यो । जिविसले हरेक वर्षायामपछि सडक मर्मत गर्दै आएकोमा यसपालि चासो देखाएको छैन । सालुसम्म मन्थली नगरपालिकाले सामान्य माटो मिलाउनेसम्म काम गरेको थियो तर त्यसपछि वर्षाले झन बिगारिदियो । भौकाजी भन्छन्, ‘देउरालीतिर हिँडिसक्नुछैन ।’ 

कच्ची नै भए पनि सडक राम्रै छँदा झन्डै दुई घण्टामा साँघुटारबाट मन्थली पुगिन्थ्यो । अहिले ६ घण्टामा पार गर्नु पनि ठूलो कुरा भएको छ । ‘बिहान ६ बजे साँघुटारदेखि बस चलाएको, बेलुका ४ बजे मन्थली पुगियो,’ अरनिको यातायात समितिका चालक खड्काले भने, ‘ठाउँठाउँ यात्रु ओरालेर डोरीले गाडी तान्न लगाउँदै बल्लतल्ल आइपुगियो ।’ देउराली, हुलाकचौर नजिकको सडक सबैभन्दा जोखिमपूर्ण छ । 

बल्लतल्ल बस छिर्न सक्ने सडक तत्काल मर्मत नगरे कुनै पनि बेला ठूलो दुर्घटना हुने भय स्थानीयमा छ । स्थानीय विनोद कार्कीका अनुसार हरेक साधन त्यहाँबाट पार हुनुलाई भाग्य ठान्छन् । ‘पहिरोमाथि कोल्टिँदै यातायातका साधन गुडदा यात्रुको कोकोहोलो मच्चिन्छ,’ उनले भने । 

जिल्लाका अन्य ग्रामीण सडक पनि यसरी नै क्षतविक्षत छन्, तिनमा यातायात साधन सञ्चालन गर्न सकिएको छैन । दोरम्बा, टोकरपुर, सिरिसे, सैपु, प्रिती, कुभु, वाम्ती, गुम्देल, भुजी र गुप्तेश्वर सडकमा महिनौंयता गाडी चलेका छैनन् । यसपटक दसैंसम्मै वर्षा भएकाले सडक मर्मत अघि बढाउन नसकिएको जिल्ला विकास समितिले जनाएको छ ।




Previous
Next Post »