एमालेले भन्यो, ‘ओली सरकारले भारतसँग गरेका सम्झौता कार्यान्वयन गर’


राष्ट्रहितविपरीतका सम्झौता नगर्न आग्रह •प्रधानमन्त्रीसँग उच्चस्तरीय छलफल गरिने


भाद्र २५, २०७३- एमालेले प्रधानमन्त्रीको आसन्न भ्रमणमा केपी ओली सरकारले भारतसँग गरेका सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी कमिटी बैठकले ओली सरकारले गरेका सम्झौता कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराएको हो । ‘ओली सरकारले बिशाखापटनम बन्दरगाह प्रयोग गर्नेसहितका व्यापारिक सम्झौता गरेको थियो,’ एमाले सचिव योगेश भट्टराईले कान्तिपुरसित भने, ‘तिनलाई अबको भ्रमणमा कार्यान्वयन गर्नतिर लाग्नुपर्छ ।’

अघिल्लो वर्षको फागुन दोस्रो साता भएको भ्रमणमा तत्कालिन प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माण, तराईमा सडक विस्तार, त्रिदेशीय रेलमार्ग, विद्युतीय प्रशारणलगायतका सम्झौता भएको थियो ।

बैठकले राष्ट्रिय हितविपरीतका कुनै पनि सन्धी/सम्झौता नगर्न ध्यानाकर्षण गराएको सचिव भट्टराईले जानकारी दिए । ‘नेपाल–भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनुपर्छ,’ उनले भने, ‘तर सम्झौताहरु गर्दा राष्ट्रिय हितलाई प्राथमिकता दिन हाम्रो सुझाव छ ।’

एमालेले भारतीय लगानीमा बन्ने माथिल्लो कर्णाली, अरुण, पञ्चेश्वरलगायतका आयोजनाको निर्माण सुरु हुनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्री दाहाल भदौ ३० गते भारत भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा एमालेले प्रधानमन्त्रीसँग उच्चस्तरीय छलफल गर्ने भएका छन् । ‘भ्रमणका बेला नेपालको राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखी नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउँदै नेपालका तर्फबाट उठाउनुपर्ने विषयवस्तुहरुका बारेमा पार्टीको उच्चस्तरीय प्रतिनिधमण्डलले प्रधानमन्त्रीसँग भेटी छलफल गरी ध्यानाकर्षण गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ।

बैठकमा आगामी असोज ५ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेन्डाका विषयमा छलफल भएको छ । बैठकमा अध्यक्ष केपी ओलीले विकसित राजनीतिक परिस्थिति र पार्टीका कार्यभार सम्बन्धमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय भएको छ । यस्तै पार्टीका आगामी कार्ययोजनाहरु तय गरिने, केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजनको पुनर्संयोजन, प्रदेश संगठन कमिटीको नामावलीलाई अन्तिम टुंगो लगाउने, पार्टी प्रवेश र त्यसको व्यवस्थापन, सल्लाहकार परिषद्मा सदस्यहरुको मनोनयन तथा जेष्ठ कम्युनिस्ट मञ्च गठन, स्थानीय तहको पुन:संरचनालगायतका विषयमा छलफल गर्ने एमाले तयारी छ ।

दाहाल–नेपाल भेट
आसन्न भारत भ्रमणमा राष्ट्रिय स्वार्थविपरीत कुनै पनि सम्झौता, सन्धि गर्दिनँ : पुष्पकमल दाहाल
स्थानीय चुनावका सबै तयारी अगाडि बढाउनुस्, हाम्रो सहयोग हुन्छ : माधवकुमार नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालबीच दुई पार्टीबीच सम्बन्ध सुधार्ने समझदारी भएको छ । सभामुख निवासमा शनिबार बिहान दुई नेताबीच दुई पार्टीबीचको सम्बन्ध सुधारलगायतका विषयमा एक घण्टा कुराकानी भएको हो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा दिएयता दुई पार्टीबीचको सम्बन्ध तिक्ततापूर्ण भएको थियो ।

‘राम्रा थालनी गर्नुस्, सहयोग गर्छौं भनेको छु, सम्बन्ध तिक्त बनाएर कसैलाई केही फाइदा छैन,’ नेता नेपालले भेटबारे कान्तिपुरसँग भने, ‘भारत भ्रमण, चीनका राष्ट्रपतिको नेपाल भ्रमणलगायत विषयमा मैले केही सल्लाह दिएँ, उहाँले त्यसैअनुसार अघि बढ्छु भन्नुभएको छ ।’ चीनका राष्ट्रपतिको भ्रमणबारे बाहिर आएका कुरा के हुन् भनी नेता नेपालले राखेको जिज्ञासा मेटदै दाहालले आशंका नगर्न आग्रह गरेको बैठक स्रोतले बतायो ।

नेता नेपालले तीन वर्षभित्र फास्ट ट्रयाक र सात वर्षभित्र निजगढ विमानस्थल निर्माण सक्ने लक्ष्यसहित काम थाल्न दाहाललाई आग्रह गरेका थिए । सुरुवात प्रस्ट भए त्यसपछिका सरकारले त्यसैलाई निरन्तरता दिने भन्दै नेपालले पूर्वप्रधानमन्त्रीको क्लबलाई सक्रिय बनाएर सरकारलाई सहयोग गर्ने दाहाललाई बताए । दाहालले आसन्न भारत भ्रमणमा राष्ट्रिय स्वार्थविपरीत कुनै पनि सम्झौता, सन्धि नगर्ने भन्दै नेपाललाई आश्वस्त तुल्याएका थिए । ‘पूर्वप्रधानमन्त्रीका तर्फबाट सरकारलाई विकास निर्माणलगायत काममा रचनात्मक सुझाव चाहिएको छ, त्यसमा तपाईंको पहल रहोस्,’ नेपाललाई दाहालले आग्रह गरे । माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष केपी ओलीसँग भने उनको भेट भएको छैन ।

नेता नेपालले प्रधानमन्त्रीलाई स्थानीय चुनावका सबै तयारी अगाडि बढाउन आग्रह गरे । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले संविधानसभा चुनाव घोषणा गर्दा एमालेले तत्काल नजाने अडान लिए पनि कोइराला एक्लै अघि बढेको प्रसंग कोट्याउँदै उनले दाहाललाई भने, ‘एमाले आए आओस्, नआए नआओस्, अब म चुनावबाट पछि हटदिनँ भन्ने हुँदा कोइरालासँग लत्रेर भए पनि हामी चुनावमा गएकै हौं । त्यसैले तपाईं पनि को आउँछन्, को बहिष्कार गर्छन् भन्नेमा नलाग्नुस् । हाम्रो सहयोग हुन्छ ।’ दाहालले चुनावबाट पछि नहट्ने बताएको नेपालले कान्तिपुरसँग सुनाए ।




Previous
Next Post »