बाल यौन दुराचार प्रकरण : क्यामरामा फेला पर्‍यो बालकको नग्न तस्बिर

बाल यौन दुराचार प्रकरण : क्यामरामा फेला पर्‍यो बालकको नग्न तस्बिर
अमेरिकी नागरिक केनिथ ‘पटके बाल यौनदुराचारी’
इन्टरपोलमार्फत आपराधिक विवरण खोज्दै प्रहरी
केनिथ २ वर्षदेखि लगातार नेपालमा


भाद्र २८, २०७३- पाँच बालबालिका सहित ठमेलको होटलमा पक्राउ परेका अमेरिकी नागरिक केनिथ जोसेफ कोम्बस ‘वारेन्टेड’ बालयौन दुराचारी रहेको सूचनापछि प्रहरीले इन्टरपोलसंग विवरण मागेको छ ।

बालयौन दुराचारसम्बन्धी अपराधको रेकर्डमा उनको नाम र विवरण फेला परेपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले नेपालमा रहेको इन्टरपोल शाखामार्फत अमेरिकी इन्टरपोलसँग उनको आपराधिक विवरण माग गरेको हो ।

कोम्बस शुक्रबार याम्बु होटलको एक कोठामा पाँच जना बालबालिका सहित फेला परेपछि ब्यूरोले बाल यौन दुराचारीको अभियोगमा उनलाई नेपाली सहयोगी बुद्ध पुतवारलाई समेत पक्राउ गरेको छ ।

कोम्बसको पक्राउपछि उनको आपराधिक विवरण खोजी गर्दा ब्यूरोले एसओआरअर्काइभडटकममा उनी यौन अपराधबारे उजुरी परेको विवरण फेला पारेको छ । 

‘उनी अमेरिकामा समेत यौन दुराचारको अपराधमा वारेन्टेड छन् भन्ने जानकारी आएकाले इन्टरपोलमार्फत थप जानकारी संकलनको प्रयास भइरहेको छ’, ब्यूरोका डीआइजी नवराज सिलावलले कान्तिपुरसँग भने ।

२ वर्षदेखि लगातार नेपालमा 
टेरोट कार्ड सम्बन्धी २ वटा पुस्तकसमेत लेखेका र एप डेभलपरको रुपमा कार्यरत कोम्बस २ वर्षदेखि लगातार नेपाल आइरहेको खुलेको छ । ब्युरोको अनुसन्धानमा उनी पर्यटक भिषामा सन् २०१४ देखि निरन्तर नेपाल आइरहेको खुलेको हो ।

‘अध्यागमन विभागको रेकर्डमा उनी सन् २०१४ बाट लगातार ६ पटक नेपाल आएर ५ सय ४० दिन नेपालमा बसेको देखियो,’ अनुसन्धानमा संलग्न ब्यूरोका एक अधिकारीले भने ‘उनी पर्यटन भिषामा ९० दिनको म्याद लिएर नेपाल आउने र फर्केर पुन नेपाल आउने गरेको देखिन्छ ।’

उनीसँगै पक्राउ परेका पुतवारले ठमेलमा २ वर्षअघि घुम्नेक्रममा कोम्बससँग भेट भएको बयान दिएको र उनले सामाजिक सञ्जालमा राखेको नेपालमा खिचेको तस्बिरले समेत उनी लगातार नेपाल आउने गरेको देखियो । उनी पछिल्लो समय भदौं ७ मा पर्यटक भिषामा नेपाल आएका थिए । 

क्यामरामा भेटियो नग्न तस्बिर
केनिथसँग फेला परेको मोबाइल, डिजिटल क्यामरा र ल्यापटपमा प्रारम्भमा प्रहरीले कुनै तस्विर फेला पारेन । बालबालिकाको बयानमा उसले डिजिटल क्यामराबाट तस्बिर खिचेको खुलेपछि क्यामराका डिलिट गरिएका तस्बिर प्रहरीले रिकभर गरेको थियो । रिकभर गर्दा बालबालिकाको नग्न तस्बिर फेला परेको प्रहरीले जनाएको छ । 

उनले अधिकांश तस्बिर आफ्नो र बालबालिकाको अनुहार नदेखिने गरी खिचेका छन् । केही सामूहिक र केही ब्यक्तिगत तस्विर रिकभर भएको प्रहरीले जनाएको छ । 
‘बालबालिकाको बयानमा उसले भिडियो समेत खिचेको भन्ने खुलेको छ तर फेला परेको छैन,’ अनुसन्धानमा संलग्न ब्यूरोका डीएसपी ज्ञानेन्द्र फुयाँलले भने, ‘अधिकांश सामाग्री मेटाएकाले रिकभरको प्रयास भइरहेको छ ।’

पीडितको संख्या बढ्दै
होटलको कोठामा पाँच जना बालबालिकासँगै फेला परेका कोम्बसले आठ जना बालबालिकालाई यौन दुराचार गरेको खुलिसकेको ब्यूरोको दाबी छ । ब्यूरोले पीडित आठै बालबालिकाको बयान अदालतमा प्रमाणित गरिसकेको छ ।

ब्यूरो अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धान र उनको सहयोगीको अभियोगमा पक्राउ परेका पुतवारले खुलाए अनुसार पीडित बालबालिकाको संख्या ५० बढी देखिन्छ । कोम्बस पक्राउ परेको सार्वजनिक भएपछि उनीबारे थप जानकारी आउनेक्रम बढेको ब्यूरोले जानकारी दिएको छ ।

कोम्बसले बालबालिकालाई ठमेलको होटलसँगै थानकोटको केही रिसोर्ट, पोखरा र नगरकोटमा समेत लैजाने गरेको खुलेकाले ती क्षेत्रमा समेत अनुसन्धान केन्द्रित गरिएको ब्यूरोका डीआइजी सिलवालले जानकारी दिए ।
‘कोम्बससँगै बाल यौनदुराचारमा संलग्न सञ्जालनै सक्रिय देखिएकाले अनुसन्धानमा अन्तराष्ट्रिय सहयोग समेत खोजिरहेका छौ,’ डीआइजी सिलवालले भने, ‘नेपालमै पनि पीडित बालबालिकाको संख्या बढ्ने देखिन्छ ।’

अनुसन्धानमा होटल
आफ्नो होटलमा बस्ने ग्राहकको गतिविधीबारे प्रहरी जानकारी नदिएको आरोपमा ब्यूरोले याम्बु होटलका सञ्चालकमाथि समेत अनुसन्धान गर्ने भएको छ । होटलमा बसेका विदेशी नागरिकले व्यक्तिगत कोठामा बालबालिकाको समूहनै लैजादासमेत होटलले जानकारी नदिइ सघाएको भन्दै ब्यूरोले उनीहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउँदा होटलका कर्मचारीलाई ब्यूरोले बयानका लागि बोलाएको छ ।

‘ग्राहकको गतिविधी शंका लागे प्रहरीलाई जानकारी गराउने होटलको समेत दायित्व हो,’सिलवालले भने,  ‘बालबालिकाको हुलनै कोठामा लैजादासमेत चासो नराखेको देखिएपछि होटलका कर्मचारीलाई बयानमा बोलाएका छौं ।’

नेपालमा धर्मछोरा र धर्म बहिनी
कोम्बसको पक्राउपछि प्रहरीले सामाजिक सञ्जालको आधारमा उनको नेपालमा सक्रियताबारे अध्ययन गरेको थियो । उनको फेसबुक पेजमा बालबालिकासँग बसेका तस्विरले भरिएका छन् ।

उनी भूकम्पको समयमा समेत नेपालमा आएर बालबालिकालाई कम्बल बाँडेको, नेपालमै धर्मछोरा र बहिनी बनाएर तिहारमा टीकासमेत लगाएको तस्बिरहरु फेला परेका छन् । 

उनको सामाजिक सञ्जालको विवरण अनुसार उनी काठमाडौं, पोखरा, टीकापुर, बर्दिया, भारतको गोवा, दार्जलिङ, मुम्बई, जयपुर, थाइल्यान्डको बैंकक जाने गरेको देखिन्छ । उनी घुमेका अधिकांश स्थानमा उनी बालबालीकासँग रहेको देखिन्छ । 


प्रकाशित: भाद्र २८, २०७३


Previous
Next Post »