दिनभर बैंकमा भिड, साँझपख होटल र पसलमा भिड धादिङका भूकम्पपीडितलाई अनुदान वितरण

दिनभर बैंकमा भिड, साँझपख होटल र पसलमा भिड
धादिङका भूकम्पपीडितलाई अनुदान वितरण

​ भूकम्पपीडितहरुले पहिलो किस्ता रकम लिन बैंक खाता खोल्दा भर्न झुम्मिएका सेम्जोङ गाविसका बासिन्दाहरु । खाता खोल्न बुझाउनु पर्ने विवरण फाराम बैंक कर्मचारीले भर्नुको साटो ग्राहकलाई नै जिम्मा लगाई दिए पछि फाराम भरेकै ५० रुपैयाा तिर्न बाध्य पारिएको छ । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

भाद्र २८, २०७३- धादिङ सदरमुकामको बीच बजारमा रहेका आधा दर्जन बैंक वरपरका पसले र होटलहरुलाई यतिखेर भ्याइनभ्याई छ । मुख्य चोक र मिलनटोलमा रहेका एकदर्जन सस्ता होटल र नाश्ता पसल, मदिरा पसल र मोबाइल पसलहरुमा यतिखेर पाइला टेक्ने ठाउँ छैन । विभिन्न काममा सदरमुकाममै डेरा लिएर बसेका वा बसाई सराई गरी घर निर्माण गरेका व्यक्तिहरुकोमा पनि टन्नै आफन्तजनहरु पाहुना लागेका छन् । 

बजार चोकमा रहेका राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंक, प्रभु बैंक, यती बैंक, हिमालयन बैंक, मेगा बैंकमा एकाबिहानैदेखि भूकम्पपीडितहरुको पहिलो किस्ता लिन लागेको ताँती साँझपख मात्रै सकिन्छ । 

दिनभर बैंकमा रकम बुझ्न लागेका ग्राहक साँझपख होटल, मोबाइल पसल, फेन्सी पसल, भाडाकुँडा पसलहरुमा देखिन्छन् । सरकारले ४५ दिन भित्र भूकम्पपीडितहरुलाई भत्केका घर पूनर्निर्माण गर्न पहिलो किस्ताको रकम दिने निर्णय गरे पछि रकम बुझेकाहरु निर्माण सामाग्री खरिदको साटो अन्य किनमेलमै व्यस्त छन् । 

भूकम्प पहिल्यै र भूकम्पपछि सदरमुकाममा संचालनमा सिमेन्ट, जस्तापाता, फलामे छड लगायतका निर्माण सामाग्री बेच्ने पसलहरुमा ग्राहक मुस्किलले फेला पर्छन् । 

‘पहिलो किस्ता बुझेर निर्माण सामाग्री खरिद गर्न कोही भूकम्पपीडित आएका छैनन्,’ पुछार बजार स्थित हार्डवेयर व्यापारी ध्रुव थापाले भने ।

‘घर पूनर्निर्माणकालागि सरकारले दिएको रकम लिनेहरुको लाइन त देखिन्छ, तर निर्माण सामाग्री खरिद गर्ने ग्राहक भने निकै कम छन्,’ पुछार बजारकै वसन्त ट्रेडर्सका संचालक वसन्त आचार्यले भने ।  

‘अहिले निर्माण सामाग्री किनेर के गर्नु ? लैजाने बाटो छैन । सडक अवरुद्ध छ । बरु नजिकै आएको दशैंलाई सहयोग भयो,’ यती बैंकबाट ५० हजार रकम बुझेका झार्लांग–३ का ४६ वर्षीय यसु तामाङले भने, ‘२८ हजारको लत्ता कपडा किनें । २ दिनको होटल बसाईं, आउन जानमा १४ हजार खर्च भयो । ८ हजारले दशैंमा मासु किनिन्छ ।’ 

बैंकको सेवामा ढिलाई
भूकम्पपीडितलाई अनुदान वितरण गर्ने जिम्मेवारी र सेवा शुल्क पाएका बैंकहरुले कार्यालयमा ग्राहक राख्ने स्थान र कर्मचारीको अभाव देखाउादै सास्ती दिन थालेका छन् । सेवाग्राहीले खाता खोल्दा भर्नुपर्ने फाराम कर्मचारीले नभरेर अनुदान लिनेहरुलाई नै जिम्मा लगाएपछि सर्वसाधारण अलमलमा परेका छन् । उक्त बैंक खाता खोल्ने फारम भर्न भूकम्पपीडितहरुले ५० रुपैंया अतिरिक्त शल्क तिर्न बाध्य भएका छन् । 

‘कर्मचारी र सेवा दिने काउन्टर थप्न बैंकहरुले रकम समेत लिएका देखिएको छ । कर्मचारीको अभाव भनेर सेवाग्राहीलाई सास्ती दिन पाइन्न,’ स्थानीय विकास अधिकारी भगवान अर्यालले भने । 

अनुदान सम्झौताको काम नै सुरु भएन
सरकारले ४५ दिनभित्र पहिलो किस्ताको रकम भूकम्प प्रभावितलाई दिने घोषणा गरे पनि धादिङको एक गाविसमा अनुदान सम्झौताको काम पनि भएको छैन । धादिङको त्रिपुरेश्वर गाविसमा अनुदान सम्झौताको काम सुरु हुन नसक्दा ८ सय लाभग्राही मर्कामा परेका छन् । बूढीगण्डकी ले डुबानमा पार्ने त्रिपुरेश्वर गाविसका सचिवले अर्को गाविसको काम पनि गर्नुपर्ने भएकाले गर्दा काममा ढिलाई भएको हो । 

सबैले पहिलो किस्ताको रकम पाउने भनेपनि ४५ दिन बितिसक्दा जिल्लाका आधा लाभग्राहीले पनि नगद बुझ्न सकेका छैनन् । जिल्ला विकास समितिले कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत ३६ हजार ५ सय ४६ परिवारको खातामा पहिलो किस्ताको रकम पठाइएको छ । 

जिल्लामा ७० हजार ५ सय ८१ परिवार लाभग्राहीको सूचीमा छन् । अहिलेसम्म चैनपुर, थाक्रे र मैदी गाविसमा पनि अनुदानको रकम निकासा भएको छैन ।  



प्रकाशित: भाद्र २८, २०७३


Previous
Next Post »