भूपू गोर्खाहरुको पेन्सन मुद्दा युरोपियन कोर्टमा सुरु

भूपू गोर्खाहरुको पेन्सन मुद्दा युरोपियन कोर्टमा सुरु

युरोपियन कोर्ट अफ ह्यूमन राइट्स ।
भाद्र २८, २०७३- लामो समयदेखि प्रतिक्षा गरिएको भूपू गोर्खाहरुको समान पेन्सन मुद्दा उपर फ्रान्सको स्ट्रासबर्गस्थित युरोपियन कोर्ट अफ ह्यूमन राइट्समा मंगलबारदेखि सुनुवाइ सुरु भएको छ । ग्रयान्ड च्याम्बरमा सुनुवाइ सुरु भएको उक्त मुद्दाको अन्तिम टुंगो बिहीबार बिहानसम्म लाग्ने अपेक्षा छ ।

भूपू गोर्खाहरुको एउटा अग्रणी संस्था ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस), ०९७ साल अघि अवकास लिएका (प्रि ९७) को तर्फबाट सुवर्ण क्षेत्री र पोष्ट ९७ टेस्ट केसमा बिजिडब्लुएस अध्यक्ष मेजर (रिटायर्ड) टिकेन्द्रदल देवानले फरक तीन तवरबाट उक्त मुद्दा सन् २०११ मा दायर गरेका थिए ।

बिजिडब्लुएसले समान पेन्सन मागसहित तीन सय ३० जनाको हस्ताक्षर गरेर मुद्दा दायर गरेको थियो ।

बेलायती अदालतले न्याय नदिएको भन्दै बिजिडब्लुएस युरोपेली अदालत पुगेको हो । बेलायतमा गेसोको र अर्को व्यक्तिगत गरि दुईवटा मुद्दा हारिसकेपछि बिजिडब्लुएसले पनि यहाँ मुद्दा हारेको थियो । उक्त संगठनले उच्च अदालतमा अपिल गर्न खोज्दा स्वीकृत नभएपछि संस्था युरोपेली अदालत पुग्नु परेको थियो । ‘हामीलाई कानुनी आधार भन्दा पनि मानवअधिकार ग्राउण्डमा सफलता मिल्ने आशा छ,' बिजिडब्लुएस अध्यक्ष देवानले कान्तिपुरसंग भने ।

यस मुद्दामा बिजिडब्लुएस र तिनका सदस्यहरुबाट संकलित चन्दाबाट हजारौं पाउण्ड खर्च भइसकेको छ । ब्रिटिश अभिनेत्री जोआना लुम्लीको विशेष पहलमा चार वर्ष ब्रिटिस सेनामा सेवा गरेका भूपू गोर्खाहरुले बेलायतको आवासीय अधिकार पाएपनि गोरा सरह समान पेन्सनका लागि उनीहरु लामो समयदेखि लडिरहेका छन् ।

अर्को घटक गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले भने कानुनी होइन, कुटनीतिक पहलबाट समान पेन्सन पाउने आशामा बेलायत र नेपालमा आन्दोलन गरिरहेको छ । बेलायत सरकारले वार्तामा बस्न आग्रह गरिरहेको र नेपाल सरकारले पनि चासो राखेपछि समितिले आफ्नो आमरण अनसन बस्ने पूर्ववत कार्यक्रम केही समयका लागि स्थगन गरेको छ ।




प्रकाशित: भाद्र २८, २०७३





Previous
Next Post »