भूकम्प पीडितको शिविरमा समस्यै समस्या

भूकम्प पीडितको शिविरमा समस्यै समस्या


भाद्र २८, २०७३- पखाला रोकिदैन । रुघाखोकीले सताइरहन्छ । सुत्केरीहरु चिसोले सुन्निएका छन् । नवजात शिशुहरुलाई चिसो लागेर निमोनिया भइरहन्छ । प्राय:लाई जरो आइरहन्छ ।

भूकम्पपीडितहरुको अस्थायी शिविर सुस्पाक्षेमावती स्थित पानीपोखरीका महिलाहरु कहिल्यै ज्यानमा सन्चो नहुँने बताउँछन् । स्वास्थ्यको दृष्टिले सुरक्षित घरहरु नभएका कारण बढिजसो महिला र बालबच्चाहरु विरामी भइरहने उनीहरुले बताए ।

थातथलो सुस्पा- १ स्थित वोसिम्पा र बुमालाई भूकम्पले जोखिममा पारेपछि ८४ परिवार सिमपोखरीमा अस्थायी आवास बनाएर सरेका हुन् । नजिकैको सार्वजनिक प्रति जग्गामा सरेका उनीहरु बर्षा लागेपछि झन बढी विरामी परेका छन् ।  अस्थायी आवासमा वस्ने भीमबहादुर थामी भन्छन, ‘बस्ने बास राम्रो नभएका कारण बर्षा सुरु भएपछि विरामी बढेको बढ्यै छन् ।’

करिब तीनसय जनसंख्या रहेको बस्तीका अस्थायी आवासहरुमा पानी चुहन्छ । टार परेका बारहरुबाट हावा छिर्छ । त्रिपालका छानाहरुबाट पानी चुहँदा ओछ्यान भिज्छ । भूइहरु हिलाम्मे छन् । खाना पकाउने ठाउँमा समेत पानीको आहल छन् । यस्तो घरमा बस्दा खासगरी महिला, सुत्केरी र केटाकेटी सधै झै विरामी हुने ५४ बर्षिया मनमाया थामी बताउँछिन् । उनी भन्छिन, ‘कतिन्जेल यस्तोमा बस्नुपर्ने हो थहा छैन् ।’

बोसिम्पा र बुमा वस्तीका घरहरु भूकम्पले भत्काएकाले मात्र उनीहरु यहाँ सरेका हैनन् । पटकपटकको पराकम्पनले वस्ती माथिबाट पहिरो गैरहदाँ उनीहरु थातथलो त्याग्न बाध्य भए । एउटा विशाल ढुङ्गा बस्तीमाथिबाट पल्टने तयारी गर्दै गरेको देख्दा उनीहरु दिउँसो पनि थातथलो जान डराउँछन् । भीम थामीका अनुसार बस्तीका बीचमा करिब डेढ मिटर चिरा परेकाले बोसिम्पा र बुमा थप खतरामा छ ।

‘त्यही ठाउँमा बस्नु भनेको मर्न जानु जस्तै हो,’ मन थामीले थपिन, ‘अहिले वसिरहेको पानीपोखरी पनि खतरा छ, तर थातथलो नजिक भएकोले अस्थायी शरण लिइरहेका छौ ।’ उनीहरु दिनको समयमा भने खेतीपातीका लागि थातथलो नै जाने गर्छन् । ‘उक्त बस्तीबाट नफर्कन्जेल मरिन्छकी भन्ने लाग्छ,’ मनले भनिन् ।

हल अस्थायी शिविर रहेको पानपोखरी पनि सधै बस्न मिल्ने हो या होइन भन्ने दुविधा छ । पानीपोखरीलाई कतिपयले सामुदायिक वनको भन्ने गर्छन् ।  कतिपयले सार्वजनिक भन्ने पनि गर्छन् । उक्त बहस सुनेका उनीहरुले हाल बसेका ठाउँ पनि छाड्नु परे कहाँ जाने भन्ने चिन्तामा परेका हुन् । कतिपयले पानीपोखरी छाड्नुपर्छ भनेर दवाव दिदाँ उनीहरु दु:ख व्यक्त गर्छन् ।

पानीपाखेरीमा अस्थायी शिविर बनाउने निर्णय सरकारी निकाय जिल्ला दैवि प्रकोप उद्धार समितिले गरेको हो । वस्ती बसाईएपछि संस्थाहरुको सहयोगमा खानेपानी, शौचालयको बन्दोवस्त गरिदिएका थिए । अस्थायी विद्यालयका निम्ती त्रिपाल दिएका थिए । अहिले त्रिपाल च्यातिएर पानी छिर्ने भएपछि नजिकैको एउटा पाटीमा कठिनपूर्वक बालिबालिको लागि स्कुल चलाइएको छ । चर्पीहरु विग्रिसकेकाले उक्त वस्तीमा फोहर फैलिएको छ ।

पिउने पानीको स्रोत अभावले खोलाबाट ल्याएको पानी खान उनीहरु बाध्य छन् । स्वच्छ पानी अभावले उक्त वस्तीमा थप विरामी परेको अनुमान गर्न सकिन्छ । तर, एउटा संस्थाले पानी सुद्धिकरण उपकरण राखिदिएको भने देखिन्छ । भूकम्पपछि वस्तीमा केही मानसिक समस्यका मानिसहरु देखिन थालेका छन् । कोही ढाड र घुडा दु:ख्ने रोगले थलिएका छन् । स्वास्थ समस्या समाधान गर्न उनीहरुले नजिकको स्वास्थ्य केन्द्र धाउछन् । पैसा हुनेहरु सदरमुकाम चरिकोट पनि जाने गर्छन् । बालबच्चा र बृद्धमा देखिएको मानसिक समस्या समाधान गर्न केही संस्थाहरुले मनोसामाजिक अभियान चलाएका छन् । तर, विरामीको अवस्था ज्युँकातिहुँ रहेको मिठ्ठु थामीले बताइन् । उनका अनुसार बाच्चाहरुमा निमोनिया, लहरे खोकी, आखाँ पाक्ने र महिनाको दुईतीन पटक सम्म ज्वरो आइरने समस्याले हैरानी दिएको छ ।

जेनतेन नजिक स्कुल चलाइएकाले बालबच्चाहरु पढाइबाट भने बञ्चित छैनन् । ‘अब सरकारले अस्थायी स्वास्थ क्लिनिकको पनि व्यवस्था गरिदिए असाध्यै राम्रो हुन्थ्यो,’ मिठ्ठुले भनिन, ‘अस्पताल धाउँदाधउदै हैरान भइसक्यो ।’

नमूना बस्तीको तयारी
सुस्पा- १ स्थित पानीपोखरीलाई विस्थापितहरु नमूना वस्ती बनाउने तयारी सरकारले बनाएको छ ।

बोसिम्पा र बुमामा मानिसहरु राख्नु खतरा भएपछि सरकारले उक्त तयारी गरेको हो । वस्तीभरी एउटै खालको घर बनाउन अभिप्रेरित गर्ने र आवश्यकीय सुविधाहरुको व्यवस्था गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । ‘सरकारी जमिन भएकाले उनीहरुलाई त्यहीँ स्थापित गर्छौ,’ उनले भने । वस्तीलाई घेराबार गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानीको व्यवस्था गर्ने तयारी भैरहेको उनले बताए । हाल उक्त वस्तीमा सामुदायिक भवन निर्माण भैरहेको छ ।

नमूनावस्तीमा घर भने सरकारले दिएको २ लाख नै उपयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । घर बनाउँदा नक्सा पनि सरकारले दिएको प्रयोग गर्नुपर्ने निर्णय छ । विस्थापितहरुको मागअनुसार सरकारले तोकेको नक्साअनुसार घर बनाउने हो भने २ लाखले पुग्दैन् । अतिरिक्त थप सहुलियत दिनुपर्ने भीम थामी बताउँछन् । वस्तीमा घडेरी खार्न र कस्तो घर बनाउने हो त्यहीँअनुसार सामाग्री दिएमा नमूना बस्ती बनाउन जनताको सहयोग रहने उनले बताए ।


प्रकाशित: भाद्र २८, २०७३





Previous
Next Post »